नक्कली बीमा लेख जारी गरेर ६ लाख गोजीमा, दोषीलाई उन्मुक्ति दिन चोरी काम गुपचुप

  २०७६ भदौ १७ गते १३:१९     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका कर्मचारीले नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क गोजीमा हाल्ने गरेको भेटिएको छ । कम्पनीमा जागिर खाने, तलव खाने र नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क खल्तीमा राख्ने आपराधिक कार्यमा दोषी कर्मचारीलाई कम्पनीले संरक्षण दिएको पाइएको छ ।

कमला नदी नियन्त्रण आयोजनाको बीमा गर्दा सो कम्पनीमा कार्यरत कर्मचारीहरुले नक्कली बीमा लेख जारी गरी बीमा शुल्क कम्पनीमा नबुझाई आफै लिएको पाइएको हाे ।

तीन वटा नक्कली बीमा पोलिसी जारी गरी ६ लाख १९ हजार ५९५ रुपैयाँ १५ पैसा आफ्नै गोजीमा हालेको देखिएको छ । यूनाईटेड इन्स्योरेन्स कम्पनीका सञ्चालक रविन्द्र राज पन्त र कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले खटाएकाे अनुसन्धान टाेलीका अनुसार कम्पनीका  कर्मचारीहरुले २ लाख ३३ हजार ३५० रुपैयाँ ६५ पैसा बीमा शुल्क लिएर पहिलो नक्कली बीमा लेख जारी गरेका छन् भने दोस्रो नक्कली बीमा लेख जारी गर्दा २ लाख ४६ हजार ४०२ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् । त्यस्तै, तेस्रो नक्कली बीमा लेख जारी गर्दा १ लाख ३९ हजार ८४३ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् ।

उनीहरुले ०१/०५/११/१०/११/१००४७ नम्बरको ‘कन्ट्याक्टर अल रिस्क’ बीमा लेख तीन पटकसम्म जारी गरेको पाइएको छ ।

यसरी नक्कली बीमा लेख जारी गर्नेमा तत्कालीन अण्डरराईटिङ शाखामा काम गर्ने शिबशंकर शाह, बरिष्ठ प्रबन्धक विवेक पाठक र एजेन्ट गौरी पाठक दोषी देखिएका छन् । त्यस्तै, शाखा प्रमुख मुकेश कुमार र अण्डरराईटिङका दिपा हलवाईको भूमिका पनि शंकास्पद देखिएको अनुसन्धानमा खटिएका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमल्सेना र दावी विभाग प्रमुख प्रशान्तराज न्याैपानेले तयार गरेकाे अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

जलस्रोत तथा सिंचाई विभागले ‘बीमाको म्याद थप गरी पेश गर्न’ गत मंसिर १६ गते कमलानदी नियन्त्रण आयोजनालाई पत्र लेखेको र बीमा लेख धारकको तर्फबाट लट्टु यादवले २०७५ साल मंसिरमा बीमा लेख नवीकरण गर्न युनाईटेड इन्स्योरेन्सले अनुरोध गरेपछि मात्र विगतमा गरिएको बीमा लेख नक्कली भएको कम्पनीले जानकारी पाएको स्रोतले बतायो ।

‘परियोजनामा क्षति भई बीमा दाबी परेको भए कम्पनी डुब्ने रहेछ तर दाबी नपरेकोले सबै जोगिए’ स्रोतले भन्यो ।

कोही जेलमा, कोही कार्यालयमा

यसअघि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा नक्कली बीमा लेख जारी गर्ने प्रकाश रेग्मीसहित केही व्यक्ति अहिले जेलमा छन् । तर युनाईटेड इन्स्योरेन्समा यसरी नक्कली बीमा लेख जारी गरेर बदमासी गर्नेलाई कम्पनीले जोगाई राखेको भेटिएको छ । यस विषयमा युनाइटेड इन्स्याेरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइसँग सम्पर्क गर्न प्रयास गर्दा सफल भएन ।

युनाइटेडमा दोषी देखिएको विवेक पाठक युनाईटेड इन्स्योरेन्स कम्पनीको बजार प्रमुखमा कार्यरत छन् । शिवशंकर शाह हाल जनरल इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् । त्यस्तै, एजेन्ट गौरी पाठक विवेक पाठकको आफन्त भएको स्रोतले जनायो ।

कमला नदी परियोजनाको बीमा गर्दा नक्कली पोलिसी जारी भएको विषय बीमा समितिको जानकारीमा नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बदमासी भएको छ भने दोषीलाई कारवाही हुन्छ’ उनले भने । यस्तो किसिमको कार्यलाई बीमा क्षेत्रमा आपराधिक कार्य मानिने र यसको अनुसन्धान नेपाल प्रहरीले गर्ने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.