छिटो पुँजी पुर्याउन बीमा समितिको विकल्पः संस्थापकबाट अग्रिम रकम उठाउनू

  २०७६ भदौ १७ गते ११:५३     विकासन्युज

काठमाडौ । बीमा समितिले संस्थापक शेयरधनीहरुबाट अग्रिम रुपमा पैसा उठाएर भए पनि तत्कालै चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । असार मसान्तसम्म समय दिएर चुक्तापुँजी पुर्याउन समितिले समयावधि दिएकोमा ७ ओटा बीमा कम्पनीहरुले पुँजी पुर्याउन नसकेपछि समितिले त्यस्तो निर्देशन दिएको हो ।

साउनको पहिलो हप्ता समितिले ती कम्पनीहरुलाई समयमा चुक्तापुँजी पुर्याउन नसक्नुको कारण माग गरेको थियो, यसको जवाफ दिएका कम्पनीका प्रतिनिधिहरुलाई समितिले छुट्टाछुट्टै रुपमा बोलाएर निर्देशन दिन थालेको समिति स्रोतले जनाएको छ ।

केही दिनअघिमात्रै गुराँस लाइफ इन्स्योरेन्सका सञ्चालकहरुसँग समितिले ०.५ प्रतिशतभन्दा बढी शेयर होल्डिङ गर्ने शेयरधनीहरुसँग त्यस्तो रकम उठाउन निर्देशन दिएको थियो । अरु कम्पनीका सञ्चालकहरुलाई पनि क्रमशः निर्देशन दिने तयारी समितिको छ ।

चुक्ता पुँजी नपुगेका सबैजसो कम्पनीहरुले थप हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएका छन् तर त्यसका लागि लामो समय लाग्ने भएपछि समितिले यस्तो विकल्पसहित संस्थापकहरुलाई निर्देशन दिएको हो ।

हाल जीवन बीमातर्फ सूर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानको चुक्तापुँजी पुग्न बाँकी छ । त्यस्तै निर्जीवनतर्फ यूनाइटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी पुग्न बाँकी छ । राष्ट्रिय बीमा संस्थान ऐनअन्तर्गत् राष्ट्रिय बीमा संस्थानको चुक्तापुँजी पुर्याउन अहिले कानूनी र व्यवहारिक समस्या देखिएकोले यसलाई छाडेर अन्य ७ कम्पनीलाई भने चुक्ता पुँजी छिटो पुर्याउने ‘कल इन एड्भान्स’को विकल्पमा जान समितिले निर्देशन दिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.