१६.५% सम्मले घट्यो म्युचुअल फण्डको एनएभी, लाभांश घोषणा र बजार गिरावटको असर

  २०७६ भदौ १६ गते १०:१५     विकासन्युज

काठमाडौं । लाभांश घोषणा र बजार गिरावटको कारणले म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्यमा उच्च गिरावट देखिएको छ । सोही कारणले साउन महिनामा अघिल्लो महिनाको तुलनामा एनएभीमा १६.५ प्रतिशतसम्मको गिरावट देखिएको हो ।

बजारमा सञ्चालित १६ म्युचुअल फण्डहरुमध्ये सो अवधिमा १५ ओटा म्युचुअल फण्डको एनएभीमा गिरावट देखिँदा सीआईबीएल क्यापिटलको सिटिजन म्युचुअल फण्ड १ को एनएभीमा मात्रै सुधार देखिएको हो ।

यद्यपि लाभांश घोषणा भएका एनएमबि क्यापिटलको एनएमबि सुलभ फण्ड १ र एनएमबि हाइब्रिड फण्ड १ को एनएभीमा घोषित लाभांशभन्दा कममात्रै गिरावट आएकोले समग्रमा साउन महिनामा यी दुई फण्डहरुको प्रगति समेत सकारात्मक देखिएको छ । लाभांश घोषणा भएका बाँकी ५ म्युचुअल फण्डहरुको भने घोषित लाभांशको दरभन्दा उच्च दरमा एनएभीमा गिरावट देखिएको छ ।

एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले म्युचुअल फण्डहरुको घोषित लाभांशलाई एनएभीमा समावेश नगरी छुट्टै रिजर्भमा राख्नुपर्ने भएकोले यसरी एनएभी घटेको देखिए पनि समग्रमा एनएमबिको सबै फण्डहरुको प्रगति सकारात्मक देखिएको बताए । लाभांश घोषणा नगरिएका फण्डहरुमध्ये सबैभन्दा बढी लक्ष्मी क्यापिटलको लक्ष्मी भ्यालु फण्डको एनएभी सर्वाधिक ३.१४ प्रतिशतले घटेको छ ।

साउन १ गते शेयर बजार परिसूचप्से १२५९.०२ अंकबाट कारोबार सुरु भएकोमा साउन मसान्तमा आइपुग्दा १२२४.०४ अंकमा बन्द भएको थियो । समग्र बजार घटेको परिदृष्यमा अधिकांश म्युचुअल फण्डहरुको मूल्यमा गिरावट देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.