राष्ट्र बैंकको तथ्यांक : मुल्यवृद्धि निकै कम, मौद्रिक क्षेत्र नियन्त्रणमा

  २०७६ भदौ १६ गते ८:३०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् लिएका मौद्रिक लक्ष्यहरुलाई भेट्टाउन सफल भएको जनाएको छ । बैंकले प्रकाशन गरेको गत आर्थिक वर्षको मौद्रिक स्थितिसम्बन्धी तथ्यांकमा त्यस्तो अवस्था देखिएको हो । मुद्रास्फीति, आन्तरिक कर्जा तथा निक्षेपको वृद्धि, विस्तृत मुद्राप्रदाय, र विदेशी मुद्रा सिञ्चितिका लागि बैंकले तय गरेको लक्ष्यनजिक नै तथथ्यांकहरु देखिएका छन् ।

६.५ प्रतिशतको सीमामा मुद्रास्फीतिलाई कायम गर्ने सरकारी लक्ष्य कि सहज तरिकाले पूरा भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक आर्थिक तथा वित्तीय स्थितिमा सो वर्ष उपभोक्ता मुद्रास्फीति दर ४.६ प्रतिशतमा सीमित रहेको देखिएको हो । सो मुद्रास्फीति दरमध्ये पनि खाद्य तथा पेय पदार्थमा भएको मूल्यवृद्धिको दर २.७४ प्रतिशत र गैरखाद्य वस्तुहरुको मुद्रास्फीति दर ५.२६ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकले सो वर्ष मौद्रिक स्थिति समेत सन्तुलित भएको तथ्यांक निकालेको छ । जेठ मसान्तसम्म २०.६ प्रतिशत रहेको आन्तरिक कर्जाको विस्तार असार मसान्तमा आइपुग्दा २०.१ प्रतिशतको वार्षिक विन्दुगत दरमा झरेको छ, जुन राष्ट्र बैंकले लिएको २० प्रतिशतको लक्ष्यभन्दा ०.१ प्रतिशतले मात्रै बढी हो । त्यस्तै, २१ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिइएको निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १९.१ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । १८ प्रतिशतको विस्तृत मुद्राप्रदाय वृद्धिको सीमा १५.४ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार देशको निर्यात वृद्धिदर बढ्दो क्रममा र आयात वृद्धिदर घट्दो क्रममा छ, यद्यपि ठूलो आयात र निर्यातको ठूलो अन्तरले गर्दा व्यापारघाटा आयातभन्दा नगन्यमात्रैले कम देखिएको छ । असार मसान्तसम्मको तथ्यांकमा आयात निर्यात अनुपात १४.६१ः१ छ अर्थात् १ रुपैंया बराबरको निर्यात गर्दा १४.६१ रुपैंया बराबरको आयात हुने गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा देशसँग कुल ७.८ महिनालाको वस्तु तथा सेवा आयात धान्न विदेशी मुद्र सिञ्चिति रहेको जनाएको छ जुन ८ महिनाको भन्दा केही कम हो । यो वर्षमा यो लक्ष्य ७ महिनामा सीमित गरिएको छ ।

नेपाल राष्ट्र बैंकले देशभित्र भित्रने कुल रेमिट्यान्समा १६.५ प्रतिशतले वृद्धि भएर ६८९.२७ अर्ब पुगेको जनाएको छ । कुल शोधनान्तर घाटा भने ६७ अर्ब ४० करोडमा सीमित गरहेको समीक्षामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.