यतीको भरतपुर-पोखरा उडान आइतबारदेखि, भाडा दर सस्तो

  २०७६ भदौ १३ गते १०:०४     विकासन्युज


चितवन । यती एयरलायन्सले यही भदौ १५ गतेदेखि भरतपुरबाट पोखरा सस्तो भाडादरमा सिधा उडान शुरु गर्ने भएको छ । दैनिक पोखराबाट भरतपुर र सोही जहाज भरतपुरबाट पोखरा जाने गरी नयाँ उडान भर्ने भएको हो ।

एयरलायन्सका भरतपुर शाखा व्यवस्थापक अनुप ढकालका अनुसार बिहान ११ः३० बजे भरतपुरबाट पोखरा जहाज उड्ने छ । यती एयरलायन्सको ३० सिटको जेडस्टिम जहाज पोखरा-भरतपुर उडान गरिने उनले जानकारी दिए । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै दुई पर्यटकीय गन्तव्य जोड्ने गरी यतीले उडान शुरु गर्न लागेको हो । पोखरा देशकै दोस्रो र चितवन तेस्रो पर्यटकीय गन्तव्य हो ।

एकतर्फी उडानको रु दुई हजार ५०० मात्र भाडादर तय गरी उडान गर्न लागिएको ढकालले जानकारी दिए ।

भरतपुर-पोखरा हाल बुद्धएयरले उडान भर्दै आएको छ । सो एयरलायन्सले एकतर्फी भाडा रु तीन हजार ८०० लिने गरेको छ । यती एयरलायन्सले हाल भरतपुर-काठमाडौँ दैनिक चार वटा उडान भर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.