बिऊ पूँजी ५ लाख, प्रतिफल दुई बैंकको सञ्चालक र बीमा कम्पनीको अध्यक्ष

  २०७६ भदौ १२ गते १०:१५     विकासन्युज

काठमाडौं । चार वर्षअघि रमेशकुमार निरौला नेको इन्स्योरेन्सको अध्यक्ष हुँदा कम्पनीको प्रिमियम वार्षिक ३५ करोड रुपैयाँ थियो । बीमा समितिको निर्देशन अनुसार २५ करोड चुक्ता पुँजी पुर्याउन कठिन भएर प्रिमियर इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा थियो । सेयर मूल्य प्रतिकित्ता १५० को हाराहारीमा थियो ।

अहिले सेयरको मूल्य प्रतिकित्ता ३९० भन्दा माथि छ । गत वर्ष १९१ करोड प्रिमियम आर्जन गरेको छ । ३४ करोड खुद नाफा गरेको छ । चार वर्षमा कम्पनीले सेयरधनीलाई १२१ प्रतिशत बोनस सेयर दिएको छ । प्रस्तावित १२ प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १३१ करोड बन्दैछ । कम्पनी बलियो भएको छ ।

‘खुद नाफाको आधारमा हामी दोस्रो स्थानमा छौं । प्रिमियमको आधारमा शिखर पहिलो, सगरमाथा दोस्रो, नेको तेस्रो स्थानमा छ । नाफाको हिसावले शिखर पहिलो, हामी दोस्रो स्थानमा छौं । कुल प्रिमियम र खुद नाफाको अनुपातका आधारमा हामी पहिलो स्थानमा छौं’- अध्यक्ष निरौला व्याख्या गरे-‘हामीले  १९१ करोड प्रिमियम संकलन गरेर ३४ करोड नाफा गर्यौ । शिखरले ३२५ करोडको कारोबार गरेर ४७ करोड मात्र खुद नाफा गरेको छ ।’

हाल नेकोको चुक्ता पुुँजी १ अर्ब १७ करोड रुपैयाँ छ । फेरी कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । के लगानीकर्तालाई नगद लाभांश चाहिँदैन ?

अध्यक्ष निरौलाका लागि यो गम्भीर प्रश्न भयो । उनले भने-‘बीमा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दवाव दिएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब बनाउने आभास हामीले पाएका छौं । त्यसैले हामीले फेरी बोनस दिने निर्णय गरेका छौं ।’

पाँच वर्षको सबै परिसूचकमा पहिलो हुने योजनासहित काम गरिरहेको उनले सुनाए । ‘रिटेल विजनेशमा हामी अहिले पनि नम्बर वान छौ । एभिएशन विजनेश हामीसँग नभएकोले केही समय मिहेनत गर्नुपर्छ । केही वर्षमा अर्थतन्त्र बुम हुन्छ, हुन्छ । अर्थतन्त्र बुम हुँदा बीमा कम्पनीहरुले लाभ लिन सक्छन् । त्यो बेला हामी पहिलो कम्पनी बन्छौं’- उनले आत्मविश्वास व्यक्त गरे ।

उपेन्द्र महत्तो, रमेशकुमार निरौला, इन्द्रबहादुर थापा र रामेश्वर सिंह सिजापति संलग्न विनायक कम्पनीले नेकोमा लगानी गरेपछि निरौलाले अध्यक्षको जिम्मेवारी पाए । उनी कार्यकारी पदमा छैनन् । तर, प्रायजसो कार्यालय जान्छन् । कम्पनीलाई शुक्ष्म रुपमा नियाल्छन्, सुधारका योजना बनाउँछन् । व्यवस्थापन समितिबाट नै कम्पनीका सबै काम गराउँछन् ।

‘मैले यो कम्पनीमा कुनै पनि कर्मचारीलाई हटाइन । प्रभावकारी रुपमा काम गराउने क्रममा कसैकसैले आफै छोडे । राम्रो काम गर्नेले मौका पाए । हामीले बैकिङ क्षेत्रबाट केही नयाँ मान्छे ल्यायौं । परिणाम राम्रो आयो’ उनले सुनाए ।

छोटो कर्पोरेट यात्रा

निरौलाको कर्पोरेट यात्रा लामो छैन । एनडीइपी डेभलपमेन्ट बैंकमा एक कार्यकाल र माछाुपुच्छ्रे बैंकमा एक कार्यकाल सञ्चालक भएर काम गरे । पब्लिक कम्पनीको सञ्चालक समितिमा रहेर काम गर्नु उहाँको लागि तेस्रो कम्पनी हो नेको ।

बिऊ राम्रो

पब्लिक कम्पनीमा सञ्चालक वा अध्यक्ष बन्न आवश्यक पहिलो सर्त हो लगानी । उनी कति ठूलो लगानीका मालिक हुन् ? हामीले जान्न प्रयास गर्यौँ । उनले अर्को पटकलाई भाका सारे ।

‘म सफल लगानीकर्ता हुँ’ उनले भने-‘सेयर लगानीबाट राम्रो प्रतिफल आउँछ । राम्रै जीवन बिताउनु पुग्छ ।’

निकै जोड गर्दा पनि उनले लगानीबारे खुलेर अंक बोलेनन् । ‘नेको इन्स्योरेन्समा २ प्रतिशत सेयर छ । युनिलिभर, नागरिक लगानी कोषमा राम्रो लगानी छ । केही नयाँ बीमा कम्पनीमा प्रमोटर सेयरमा लगानी गरेको छु ।’

सेयर बजारमा प्रवेश गर्दा उनले लगभग ५ लाख रुपैयाँ लगानी गरेका थिए । उनको पहिलो लगानी माछापुच्छ्रे बैंकको सेयरमा थियो । वि.स. २०६१ सालतिर उनले किन्दा कित्ताको १ सय ७० रुपैयाँ परेको थियो । त्यहि बैंकमा उनी सञ्चालक पनि बने ।

विगतमा सञ्चालक भएको माछापुच्छ्रे र हालको देवः विकास बैंक दुबैमा एक कित्ता पनि सेयर नभएको उनले खुलाए । कारण खुलाए-‘सेयर बजारको गेम जित्नु भनेको विज्ञान र कलाको राम्रो प्रयोग गर्नु हो ।’

बिऊ राम्रो भएमा फल राम्रो हुने विश्वास उनलाई छ । ‘बरको विऊ तोरीको गेडाभन्दा सानो हुन्छ । त्यो सानो बिऊबाट ठूलो बरको रुख बन्छ’–उनले भने-‘दुब्लो मान्छेको दिमाग पनि एटम बम भन्दा ५ लाख गुणा शक्तिशाली हुन्छ ।’

चाहाना डाक्टर, बने पूँजीपति

पारिवारिक पृष्ठभूमि, पढाई र जागिरे जीवन भन्दा अलग स्थानमा छन् रमेश निरौला यतिबेला । चाहाना डाक्टर बन्ने थियो, तर बने पूँजीपति ।

उनको पहाड घर ओखलढुंगा हो । उनको परिवार सो स्थानबाट सिरहाको सिमरामा बसाई सरेर आएको थियो । हाल सर्लाही जिल्लाको बाग्मतीमा वसोबास रहेको छ ।

गोल बजारको श्री जनता माध्यमिक विद्यालयबाट उनले स्कूले शिक्षा आर्जन गरे थिए । वि.स. २०३८ सालमा एसएलसी परीक्षा पाए गरे । उनले ८ कक्षादेखि बेच्चमा बसेर बढेका हुन् । ‘कक्षा ७ सातमा अध्ययन गर्ने बेलासम्म पनि घरबाट बोरा बोकेर विद्यालय जानु पथ्र्यो’ उनले सम्झिए ।

उनका छोरा एमबीवीएस गर्दैछन् । छोरी विविए पढ्दैछिन् । छोराछोरीको स्कूले जीवन र आफ्नो स्कूले जीवन तुलाना गर्दै भने–‘हामी गुच्चा खेलेर हुक्र्यौ । हाम्रा छोरा छोरी प्रविधिसँग खेलेर हुर्किए । पहिलेको आईए पढेको विद्यार्थीले नपाएको ज्ञान अहिलेको ८ कक्षाको विद्यार्थीले लिइसकेको छ ।’ तर विकाससँगै प्रतिस्पर्धा बढेकोले नयाँ पुस्ताको जीवन सहज नभएको उनको बुझाई छ ।

बीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसबाट आइएसी र बीएससी अध्ययन गरे दिदीको घरमा बसेर । ‘साइन्स पढ्दा डाक्टर बन्छु भन्ने थियो । त्यो रहर वा कहर नभई फेसन थियो’ उनले भने–राम्रो पढाई भएको विद्यार्थीले साइन्स पढ्नुपर्छ भन्ने फेसनमा उनी फसे । ‘अग्रेजी कमजोर थियो । चार कक्षामा एवीसी पढेको मान्छे । पढेर जानेको कुरा पनि अंग्रेजीमा लेख्न नसकेर माक्स कम भयो’ उनले भने–‘केमेस्टीमा एमएसी गर्दै थिए । पहिलो वर्षको परीक्षा मुम्बई स्थीत एक कम्पनीमा काम गर्ने अवसर जुर्यो । पढाई छोडेर जागिर खान गएँ ।’

सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ ।

उनी एमआर (मेडिकल रेप्रिजेन्टिभ) बने । त्यतिबेला यो पेशा निकै राम्रो मानिन्थ्यो । परिवार र आफन्त सबै खुशी भए । उनको कार्यक्षेत्र बीरगञ्ज केन्द्रीत भयो । उनले पूर्वमा राजविराजदेखि पश्चिममा नारायणघाटसम्म हेर्थे ।

वि.स. २०५१ साल फागुन महिनामा उनको विवाह भयो । विवाहपश्चात घुमफिर गर्नु पर्ने काम सकसपूर्ण बन्दै गयो । श्रीमती, घर–परिवारलाई समय दिनै नपाइने बाध्यताले त्यो पेशा छाडिदिए ।

२०५३ सालमा उनी जागिर छोडेर काठमाडौ आए । सोही अवधिमा उनले सरकारी जागिरको लागि समेत प्रयास गरे । २०५५ र ५६ सालमा दुई पटक लोक सेवाको परीक्षा दिएपछि उमेरले नेटो काट्यो । अब सरकारी जागिर खान उनले नपाउने भए ।

त्यसपछि गोरखा आयुर्वेदमा म्यानेजर भएर ५ वर्ष काम गरे । वि.सं २०६१ सालमा सेयर बजारमा प्रवेश गरे । र, यहि क्षेत्रबाट उनी पब्लिक फिगर, पुग्ने पैसा पनि कमाए ।

सेयर बजार भनेकै त्यहि हो । सानो पूँजी लगानी गरेर पनि ठूलो पूँजीपति बन्न सकिन्छ । ‘बिऊ सहि ठाउँमा पर्यो भने बरको रुख बन्छ । गलत ठाउँमा पर्यो भने त्यो कुहिन सक्छ ।’

‘विजनेशमा कानुनी रुपमा फाइदा कमाउने नाफामा जान्छन्, तर सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन गर्नेहरु अगाडि हुन्छन् । सेयर बजारमा छिर्न तथा निस्कन सही समयको छनोट गर्नु पर्छ’–उनले भने ।

फेरी उनले वारेन वफेटको लगानी सुत्र सम्झिए । भने–‘सेयर बजार घटेको बेलामा किन्न पर्छ, तर बजार बढेको बेलामा पनि बेच्नु सक्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.