अझै खुलेन काठमाडौँ विश्वविद्यालयको ताला

  २०७६ भदौ ११ गते १०:५७     विकासन्युज

बनेपा । विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।

दुवै सङ्घले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो । काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताएका छन् ।

स्कूल अफ म्यानेजमेन्टका डिन प्रा. डा. विजय केसीको संयोजकत्वमा प्रा. डा. बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ । तर, सो समितिले औपचारिक रूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा कुराकानी भइरहेको बताएका छन् ।

आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ । आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपुर्याइएको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.