यती एअरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु

  २०७६ भदौ ९ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरेका हुन् ।

वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षामा यती एयरलाइन्सले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएको हो । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको छ ।

यती एअरलाइन्सले ‘’कार्बन क्रेडिट” खरिद गरेर आफ्नो “हरितगृह ग्याँस” उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले “हरियो सुदूर पश्चिम परियोजना” र “सगरमाथा सफाइ अभियान” जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु संचालन गर्दै आएको थियो ।

‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ,,’’ यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन् ।

त्यसैगरी, युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एअरलाइन्सको यस कार्यका लागि बधाई दिँदै भने, ‘आज यतीले कार्बन न्युट्रलिटी यात्रामा एक पाइला अघि बढाएको छ । हामी निकै खुसी छौं । दीर्घकालीन विकासमा अघि बढ्ने यो यात्रामा हामी तपाईंहरुको साथमा छौं । हामीलाई विश्वास छ, यो कार्यले प्रदुषण न्युनीकरण र पृथ्वीको संरक्षणमा सामुहिक कार्य गर्न अरु धेरैलाई पनि प्रेरणा दिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.