एक सन्यासीको दर्जन बढी व्यवसाय: ह्याचरी, ग्यासदेखि हाउजिङसम्म

  २०७६ भदौ ८ गते १६:१६     मेनुका कार्की

काठमाडौं । झ्याप्प दारी, लामो कपाल झट्ट हेर्दा सन्यासी जस्तो देखिने । जोरुवादी बुद्धत्वलाई अगाल्ने आफूलाई नव सन्यासी हुँ भनेर दावी गर्ने उम्दा व्यवसायी । जसले कहिले पनि जागिर खाएन, सरकारले व्यवसाय नै नमानेको व्यवसाय शुरु गरेर देशमै स्थापित व्यवसाय बनायो । उनकै मेहनतले राजनीतिज्ञले खर्च चलाउन घरको बुइगलमा पाल्ने गरेको कुखुरा आज देशकै नामी व्यवसाय बन्यो ।  त्यतिमात्र होइन अण्डा र मासुमा देशलाई आत्मनिर्भर बनाउन समर्पित भएर एक पछि अर्को व्यवसाय विस्तार गर्दै गयो ।

जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बसे पनि सामाजिक कर्मलाई जोरुवादी बुद्धत्वको मार्गअनुरुप कर्म  गर्दै आजको पूर्ण मानव भएर बाच्न सिक्ने प्रयासरत चिन्तक ।  सरकारले अण्डा र मासुमा आत्मनिर्भर बनाउने अभियान चलाइ रह्दा १५ वर्ष अघि नै देश आत्मनिर्भर भएको दावी गर्ने आध्यात्मिक व्यक्तित्व हुन् ‘गुणचन्द्र विष्ट’ । यो नाम उनलाई बाबु आमाले दिएको नाम हो । उनी नव अध्यात्मवादी भएकाले समाजले उनलाई अर्कै नामले चिन्छ ‘स्वामी कृष्णानन्द भारती’ ।

१५ वर्षको उमेरमै खाद्यान्न व्यवसाय संचालन गरेर अनुभव बटुलेका विष्टले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड १२ वर्ष ध्यानमा व्यथित गरे । अहिले विष्ट पोल्ट्री क्षेत्रका सफल, कुशल व्यवसायीका साथै अध्यात्मिक चिन्तक पनि हुन् । दैनिक दुई घण्टा ध्यानमा वित्छ उनको  । सायद सही व्यवस्थापनले होला उनले व्यवसाय संचालन गर्दा कुनै तनाव लिनु परेन, आफै एक रफ्तारमा चलिरह्यो । व्यवसाय संचालन गरेको केही वर्षमा नै एक पछि अर्को व्यवसाय थपिदै गए । आध्यात्म र व्यवसायलाईसँगै हिडाउने ऊर्जा पाएर होला सायद व्यवसाय शुरु गरेको ३ वर्षमा नै सफलता पनि मिल्यो उनलाई । कहिले पछि फर्केर हेर्नु परेन ।

अहिले उनीसँग ह्याचरी, ग्यास, अर्गानिक मल, एग्रोभेट, हाउजिङ, मेटल गरी १४ वटा व्यवसाय छन् । यी सबै व्यवसायलाई अविनाश समूहले ह्याण्डिल गरिरहेको छ । सम्भवतः उनलाई आफ्नो व्यवसायमा भएको लगानी समेत थाहा छैन । तर, बैंकको ऋण करिब ८ अर्ब रुपैयाँ भएको भने उनलाई हेक्का छ ।

१५ वर्षको उमेरमा शुरु गरेको खाद्यान्न व्यवसायमा विष्टले ५ वर्ष बिताए । ‘पछि वाक्क लाग्यो, छाडी दिएँ,’ उनले भने । त्यसपछि अध्ययनमा लागेका उनले लामो कालखण्ड ओशोको ध्यानमा बिताए र जोरुवादी बुद्धत्वको मार्ग अपनाए ।

सानैमा व्यवसाय गर्दा ढाट्नु पर्छ, उपभोक्तालाई ठग्नु पर्छ भन्ने उनको बुझाइ थियो । पछि व्यवसाय भनेको त्यो होइन रहेछ भन्ने बुझे । व्यवसाय गर्न चोर्न, ढाट्न केही पनि गर्न पर्दैन, उपभोक्ता प्रति इमान्दार भए पुग्छ, उत्सुकता देखाउँदै भने । उनका अनुसार उपभोक्ताले तिरेको पैसाको पूर्ण सन्तुष्टि दिलाउन सक्नु नै कुशल व्यवसायीको पहिचान हो ।

उपभोक्तालाई सही सन्तुष्टि दिन सकिएन भने उसले सही व्यवसाय गरिरहेको हुँदैन भन्ने उनको दूरगामी चिन्तन छ । ‘यदि व्यवसायीले त्यसो गर्न सकेन भने उसले व्यवसायीको नाममा ठगी गरिएको छ भनेर बुझ्नुपर्छ, उनी भन्छन्  ‘यो गेरु वस्त्रभित्रको चोडा कपडा हो ।’

‘मैले ३० वर्षअघि ह्याचरी व्यवसाय शुरु गरेको हुँ । त्यतिबेला व्यवसाय भन्ने नै थिएन । उत्पादकको तर्फबाट आम ग्राहकलाई पूर्ण सन्तुष्टि दिन खोजेको छु,’ उनले भने । मेरो उत्पादन उपभोग गर्ने उपभोक्तालाई उत्पादित वस्तुको सबै गुण थाहा हुन्छ भन्ने पनि हुँदैन । तर, उपभोक्तालाई मूल्य अनुसारको वस्तु दिन सक्नु नै मेरो धर्म हो । गुणस्तरीय उत्पादन दिइरहेको छु,’ उनी भन्छन् ।

त्यति बेला पोल्टी व्यवसाय अण्डामा मात्रै सीमित थियो । अण्डापछिको बूढो पोथी नै(लेयर्स) मासुको लागि प्रयोग हुने गर्थ्याे । बोइलर थिएन । पछि अण्डा र मासुका लागि छुट्टाछुट्टै व्यवसाय शुरु भयो । थुप्रै कम्पनी थपिए । नाम थपिए ।

व्यवसाय शुरु गरेको तेस्रो वर्षमा नै सफतला हासिल गरेका उनले व्यवसायको लागि त्यति मेहनत नगरेपनि सफलता भने एक पछि अर्को थपिदै गए । ‘व्यवसाय शुरु गरेपछि कहिले फर्केर हेर्न परेन, सधै सन्तुष्टी प्राप्त भइरह्यो ।’

३० वर्ष अघि पोल्ट्री व्यवसायलाई एकदमै साधारण व्यवसायको रुपमा लिने गरिन्थ्यो, सहयोगी व्यवसायको रुपमा । राजनीति गर्नेले खर्च जुटाउन घरको बुईगलमा कुखुरा पाल्ने गरेका थिए । व्यवसाय भन्ने नै थिएन । करिब ५० को दशको पूर्वार्द्धमा यो व्यवसायको रुपमा शुरु कुखुरापालन । यसअघि अण्डा र मासुका लागि उपभोक्ता आफैले कुखुरा पाल्ने प्रचलन थियो ।

‘सरकारले जे भने पनि नेपाल १५ वर्ष अघिनै अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । सरकारको तथ्यांकमा कुखुराको तथ्यांक कम छ’ उनले भने-‘सरकारले ३ वर्ष अघि एक वर्षमा अण्डामा आत्मनिर्भर बनाउने भनेको दोस्रो वर्ष अण्डाको उत्पादन ३० प्रतिशतभन्दा बढीले घट्यो ।’

अण्डाको गुणस्तर साधारण उपभोक्तालाई थाहा हुँदैन । यद्यपी अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन । पानी छुट्टिएको अण्डा खाँदा मानवलाई असर गर्ने सम्भावना बढी रहन्छ ।
विदेशमा लेवलिङ नगरी बजारमा लानै पाइदैन । कतिदिनसम्म खान मिल्छ त्यो सबै स्पष्ट हुुनपर्छ भन्दै उनले अण्डाको गुण चिनाए ।

अण्डा फोडेर राख्दा पहेँलो भाग डल्लो बस्नु पर्छ । अण्डाको पहेँलो भाग र्याल्ल भयो भने खान हुँदैन । अण्डाबाट पानी पनि छुटिन हुँदैन ।

नेपालमा अण्डामा लेभलिङ अविनाश ग्रुपले मात्रै गरेको छ । युरोप-अमेरिकाको कन्डिशनमा उत्पादन भएको मितिले एक महिनासम्म अण्डा खान हुन्छ । अण्डा खान हुने/नहुने अवस्थाको निर्धारण स्टोर गर्ने स्थानमा भर पर्छ । तातो स्थानमा अण्डालाई राख्नु हुँदैन । कन्टामिनेशन हुन सक्छ । कुखुरा रोगी छ, गर्मीमा केही दिन राख्नु पर्यो भयो भने यसमा सोच्नु पर्ने हुन्छ-उनले भने ।

फ्रेस अण्डा हातमा पर्यो भने दुई महिनासम्म यसको गुणस्तर घट्दैन र फ्रिजमा अण्डा राख्दा यसको गुण घट्दैन । सामान्यतया उत्पादन भएको मितिले हामी एक साताभित्र अण्डा बिक्री गर्ने गरी बजारमा पठाउँछौं । चिसो मौसममा काठमाडौंमा दुई महिनासम्म फ्रिजमा नराखी पनि अण्डा खान मिल्छ, तर हामी उत्पादकले त्यसो भन्दैनौ, उनले भने ।

अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ । कलर र साइजअनुसार अण्डाको ग्रेडिङ हुन्छ । खानको लागि अण्डाको कलरले कुनै रुलिङ गर्दैन । साइजले पनि फरक पार्दैन । यद्यपी ब्राउन एग भयो भने खानको लागि अझ उपयोगी मानिन्छ ।

अण्डा सहित मासुको गुणस्तर पनि फार्म र मासु काटेर राख्ने ठाउँमा भर पर्छ । अण्डाभन्दा मासुमा समस्या छ, अण्डामा भन्दा मासुमा कन्टामिनेशन हुने सम्भावना बढी हुन्छ । तर, पनि नेपाली परिवेशमा अन्यको मासुभन्दा कुखुराको मासु सफा मानिन्छ । असर पनि परिवेश र परिस्थिति अनुसार फरक हुन्छ ।

आज पनि सरकारले पोल्ट्री व्यवसायका लागि सप्ठ्यारो केही पनि गरिदिएको छैन । बरु थुप्रै ठाउँमा अप्ठ्यारो पारिदिएकोे छ । अनावश्यक कर लगाएको छ । नीति नियममा सहजीकरण छैन ।

अविनाश ग्रुपले अहिले अण्डाको ६ प्रकारले ग्रेडिङ गर्दै आएका छ । अब आउने नयाँ मेशिनले १२-१३ प्रकारबाट अण्डाको ग्रेडिङ गर्न सक्छ ।

नयाँ नीति बनाउनु पर्नेमा अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन । बनेको नीतिको कार्यान्वयन अवस्था फितलो छ । क्यारेन्टाइन ऐन पुरानो भइसक्यो । धेरै संशोधन गर्नु पर्छ । ऐन आएको ३ वर्षमै संशोधन गर्नुपर्छ भनिएको थियो । समय सापेक्ष ऐन, नीति नियम बनाइनु पर्छ भन्ने हाम्रो आवाज हो । दण्ड सजायको राम्रो व्यवस्था हुनुपर्छ । कुखुरापालन, फार्मिङ, ओसार पसारलगायतका सबै व्यवसायिक इकाइको नीति बन्नुपर्छ । सरकारले व्यवसायको प्रोटेक्स गर्नु पर्दैन । प्रोटेक्सले व्यवसायको प्रगतिमा बाधा पुर्याउँछ, उनी भन्छन् ।

कुनै पनि चिज भित्र्याउनु अघि सरोकारवालासँग छलफल नगरी राणा शासनको बेलाको जस्तो रुलिङ गरेर ऐन, नीति नियम ल्याउने सरकारी रबैया उनलाई पच्दैन । एन्टिबाइटिक कुखुरालाई दिनु उपयुक्त हो कि होइन । अनि त्यो कुखुरालाई खुवाएको एन्टिबाइटिकले मानव जीवनलाई असर गर्छ कि गर्दैन, खोइ सरकारले यसमा ध्यान दिन सकेको ? उनले प्रतिप्रश्न गर्छन । खराब गरेको छ भने सरकारले गलत चिज उत्पादन गर्न दिनु भएन । । कुखुरापालनमा एन्टिबाइटिकको विषय हियूमरको रुपमा फैलाइएको छ । मासु खाएर भन्दा तरकारीलगायतका अन्य वस्तुको सेवनबाट बढी हानी पुगेको ठहर छ । माटोको अवस्था विषादीको प्रयोगले विगारी सकेको छ । तरकारीबाट आम उपभोक्ताले सिधै विषादी खाइरहेका छन् ।

पोल्ट्रीमा त्यस्तो छैन,’ उनले भने ‘बर्ड फ्लू ठूलो रोग होइन ।’ यो एक किसिमको रुघाखोकी हो । व्यवयासीलाई पनि आफ्नो जीवन त्यतिकै प्यारो हुन्छ, व्यवसाय प्यारो हुँदैन । ज्यान नै जोखिममा राखेर म किन व्यवसाय गर्छुु, उनी भन्छन्- ‘व्यवसायीले त अझै जिउँदै कुखुरा समात्नु पर्छ ।’

यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए ।

उनको पोल्ट्री व्यवसायमा मात्रै ३ सय जनाभन्दा आवद्ध छन् । उनीहरूको सुरक्षाका दायित्व मेरो हो । हुनेसम्म सुरक्षा दिनु  पर्नेमा उनी सहमत पनि छन् । उपभोक्ताको चूलोमा त मरेको वा मारिएको मासुमात्रै पुग्छ । उपभोक्ताले पनि आफ्नो सेन्स प्रयोग गर्नुपर्छ । यो नचाहिदो हियुमर फैलाएर उपभोक्तालाई अन्योलमा पार्ने काम भइरहेको छ । उपभोक्ताले अरुलाई दोष दिनुभन्दा आफै सचेत हुनुपर्ने उनको तर्क छ ।

सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग गर्दैन

सरकारले व्यवसायीलाई गाह्रो पर्दा सहयोग नगरेको उनको अनुभव छ । नेपालको उत्पादनले कुखुरालाई दाना बनाउन मकैले पुग्दैन । भारतमा मकै छैन । त्यहाँबाट ल्याउँदा ५ प्रतिशत भन्सार तिरे पुग्थ्यो । तेस्रो मुलुकबाट आयात गर्दा १० प्रतिशत भन्सार तिर्नुपर्छ । भटमास नेपालमा हुँदै हुँदैन । घरेलु उत्पादनलाई जोगाउने नाममा सरकारले नचाहिदो कर लगाएर व्यवसायलाई धरापमा पारेको छ, उत्पादन लागत बढाएको छ । प्रतिस्पर्धी क्षमता घटाएको छ । घरेलु उत्पादनलाई सुरक्षा गर्ने नाममा व्यवसायीलाई वास्तै नगरको उनको गुनासो छ ।

यस्तो अवस्थामा अण्डा र मासुमा आत्मनिर्भर भइरहन वार्षिक १० देखि १५ अर्ब लगानी थपिनु पर्ने उनले बताए । यो व्यवसायमा चुनौती छ । अण्डा र मासुको मूल्य तलमाथि हुनुको मुख्य कारण माग तथा आपूर्ति नै हो ।

व्यवसायीले अहिले हाई कष्टका अण्डा उत्पादन गरिरहेका छन् भने अर्को मार्केटमा तीन लेयर छ । उत्पादन लागत र मध्यस्तकर्ताको तीन लेयरलाई काटेर एक लेयरमा झार्न सके अहिलेकै अवस्थामा ११ रुपैयाँमा अण्डा र साढे दुई सय रुपैयाँमा उपभोक्तालाई मासु खुवाउन सकिन्छ । उपभोक्तालाई सस्तोमा अण्डा र मासु खुवाउन मध्यताको लेयर घटाउन व्यवसायी लागि परेका छन् । सरकारले करमा केही छुट दिए व्यवसायीले साढे ८ रुपैयाँमा अण्डा उत्पादन गर्न उनको हिसाव छ ।

व्यवसाय गर्दा धेरै नाफा हुनु उचित हुँदैन । बढी नाफा भयो भने उसले चाहिने नचाहिने ठाउँमा खर्च गर्छ र सधै त्यहि अनुसार नाफा खोज्छ, जुन हुदैन।  व्यवसायलाई दीर्घकालीन रुपमा स्थापित गराउन बढी नाफा हुनु राम्रो संकेत नभएको बताउँदै उनले भने-‘आफूले गरेको कामबाट रिर्टन मिल्छ कि मिल्दैन त्यो भने अवश्य हेर्नुपर्छ ।’

अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ ।

दैनिक डेढ करोडको दाना खाने नयाँ पोल्ट्री फर्म अबको दुई वर्षमा

अविनाश ग्रुपको तीन वटा पोल्ट्री फर्म छ । एउटा फार्ममा १.८ र अर्को दुई वटामा ०.५-०.५ मेगावाट विद्युत खपत हुन्छ । सातामा डेढ करोडको दाना उनी कुखुरालाई खुवाउँछन् । अब दुई वर्षमा दैनिक डेढ करोडको दाना खपत हुने ठूलोे फर्म खुल्दैछ,’ उनले भने ।

नेपालमा दुई सयभन्दा बढी ह्याचरी उद्योग छन् । एक सयभन्दा बढी दाना उद्योग छन् । दुई खर्बको हाराहारीमा लगानी छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब १५ लाखले रोजगारी पाइरहेका छन् । अहिले उनीसँग एक दर्जनभन्दा बढी व्यवसाय छन् । अर्बौको लगानी छ । १ हजार जनाले भन्दा बढीले रोजगारी पाएका छन् । जीडीपीमा पोल्ट्रीमा करिब चार प्रतिशत योगदान रहेको विष्टले बताए ।

अविनाश अर्गानिक मल दुई महिनाभित्र बजारमा
अविनाश ग्रुपले नेपालमा पहिलो पटक अर्गानिक मल उत्पादन गर्दै छ । अबको दुई-तीन महिनामा अविनाश प्रडक्टको रुपमा बजारमा आउँछ । चितवनमा यसको कारखाना छ । शुरुमा दैनिक करिब २० टन उत्पादन गर्ने कार्यकारी अध्यक्ष विष्टले बताए । २ वर्षभित्र प्रतिदिन दुई सय टन उत्पादन गर्ने गरी प्लान्ट जोड्न लागेको उनले जानकारी दिए । करिव २० करोडमा यो उत्पादन शुरु गर्न लागिएको हो ।

‘जोरुवादी बुद्धत्वको सिद्धान्तलाई पछ्याउने सन्यासी हुँ’

म ओशोका शिष्य हुँ । जीवनको कुनै कालखण्डमा ध्यान मात्रै गरेर बस्थे । मेरो समाधि वा सन्यासी भनेको जोरुवादी बुद्धत्व हो । आँट र साहसका साथ शान्त र सिर्जनशील भएर कर्म गर्न जोरुवादी बुद्धले मार्ग प्रशस्त गर्छ । जोरुवादी बुद्धत्वले समाजमा बसेर भौतिक सिर्जना गर्दै आजको पूर्ण मानव भएर बाच्न सिकाउँछ, उनी भन्छन्।

उनले ४३ वर्ष पहिला सन्यास लिएका हुन् । उनी त्यसकै नव सन्यास हुन् । सन्यास लिएपछि अन्यले कमन्डलु बोकेर हिड्छन्, तर विष्ट भने कर्ममा लागिरहे । उनलाई आज कर्मको फल पूर्ण रुपमा मिलेको छ ।

उनी भन्छन्-‘हामी मानव हुने क्षमता लिएर आएका छौ । म पूर्ण मानव बन्ने प्रयत्न गरिरहेको छु । एउटा जीविका र एउटा सोचका साथ अघि बढ्न खोजिरहेको छु ।’ समाजमा पद, पैसा र प्रतिष्ठा भएमा मानव सफल भएको मानिन्छ । तर, उनी त्यो सोच्दैनन् ।

म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा ठूलो दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन ।

दुई खुट्टे हामी र चार खुट्टेमा के फरक छ । सोच्न, सुखानुभूति दुबैले आ-आफ्नो तरिकाबाट गर्छन् । चार खुट्टे जे खोजिरहेको छ त्यो भन्दा फरक दुई खुट्टे खोज्छ । म को हुँ र के हुँ भन्ने पहिचान गर्न सिकाउने क्षमता मानवमात्रै छ ।

मान्छेको धर्म हुन्छ । देशको धर्म हुनुहुँदैन भनेर राष्ट्रलाई निरपेक्ष बनाइएको हो । धर्मको अर्थ नबुझेर ठूलो झगडा हुन्छ । माटो, पानी, आगोको आ-आफ्नै स्वभाव अनुसार धर्म छ ।

म असन्तुष्ट नै छैन । सन्तुष्ट बन्न खोजेकै होइन । सबैभन्दा दुःखको कारण अपेक्षा हो । अपेक्षा गरिएन भने दुःखी हुनु नै पर्दैन । दुःखको कारण अपेक्षा हो । हामीले सुख र दुःखको परिभाषा गर्न सकेका छैनौ । सबै पुगेपछि हुनेखानी भन्छौं ।

मैले करिब करिब सबै प्रकारका फिजिकल काम गरेको छु । मैले जिन्दगीमा जागिर खाइन । सोच नै गरिन । म जागिरमा अटाउनै सकिन । जागिर खानै पनि परेन । केटाकेटीमा व्यापार गरे । त्यसपछि पढ्न लागे । अनि सन्यासी भए ।

१२ वर्ष आश्रममा बसे । ओशोमा बसेर समय यो अवधि विताएको हुँ । ४ वर्ष काठमाडौंमा बसे । पोखरामा ७ वर्ष बसे । साढे नौ महिनामा पुनामा बसे । म दैनिक बिहान १ र बेलुका १ घण्टा अहिले पनि ध्यान गर्छु । म साधारण व्यवसायी हुँ । मैले कुनै व्यवसाय गर्ने रणनीति बनाएर अघि बढेकै होइन, त्यतिकै बने-उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.