ट्रेडमार्क दर्ता उत्साहजनक, पेटेन्ट र डिजाइनमा निराशा

  २०७६ भदौ ६ गते ११:४०     राजाराम न्यौपाने

काठमाडौं । व्यवसायमा बौद्धिक सम्पत्तिको रूपमा मानिने ट्रेडमार्कको दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा स्वदेशी १ हजार २५६ र विदेशी १ हजार १७५ वटा गरी २ हजार ४३१ वटा ट्रेडमार्क दर्ता भएको छ । आर्थिक वर्ष २०७४/७५ मा स्वदेशी र विदेशी गरी २ हजार मात्रै दर्ता भएका थिए ।

अहिलेसम्म ८३ हजार ट्रेडमार्क दर्ता आवेदन परेकोमा ४८ हजार ५ सय मात्रै दर्ता भएको छ । ट्रेडमार्क दर्ताको प्रक्रिया लामो हुने र अवेदन दिएकाहरुको छानबिन गर्नु पर्ने भएकाले पनि धेरै आवेदनकै रुपमा रहने उद्योग विभागका सूचना अधिकारी विनोद खड्काले बताए ।

पेटेन्ट र डिजाइनको दर्ता भने न्यून देखिएको छ । गत आर्थिक वर्षमा पेटेन्ट २ वटा र डिजाइन ४ वटा मात्रै दर्ता भएको थियो । पेटेन्ट दर्ताका लागि ७० वटा आवेदन परे पनि अहिलेसम्म ९ वटा मात्रै दर्ता भएको छ । डिजाइन अहिलेसम्म ९२ वटा दर्ता भएको उद्योग विभाको तथ्याङ्कमा उल्लेख छ ।

उद्योग विभागका ट्रेडमार्क शाखाकी निर्देशक सुप्रभा ढुङ्गेल भुसालले पेटेन्ट र डिजाइनमा निवेदन नै कम आउने गरेको बताइन् । अन्य मुलुकमा पेटेन्ट तथा डिजाइनलाई जति महत्व दिइन्छ हाम्रोमा त्यत्ति महत्व दिएको पाइँदैन । आफ्नो घर-जग्गाको हक अधिकार सुरक्षाका लागि जसरी लालपूर्जा बनाइन्छ, त्यसरी नै आफुले आविष्कार गरेको वस्तु, प्रविधि वा डिजाइन लगायतको हक अधिकार सुनिश्चित गर्नका लागि पेटेन्ट दर्ता गर्नुपर्ने उनले बताइन् ।

के हो ट्रेडमार्क, पेटेन्ट र डिजाइन
ट्रेडमार्क कुनै कम्पनी वा उद्योगको आफ्नो व्यापारिक चिन्ह वा लोगो हो । कुनै वस्तुको उत्पादन वा आविष्कार गर्दा राज्यले सो व्यक्ति वा संस्थालाई वस्तुको प्रयोग, उत्पादन र बिक्रीका लागि दिने अधिकार नै पेटेन्ट हो । डिजाइन भनेको कुनै वस्तु लक्षित आविष्कार वा उत्पादन झल्काउने आकार हो ।

विभागमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ताको प्रस्ताव धेरै आए पनि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा दर्ता कम हुने गरेको विभागका अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.