भ्रष्टाचारको आरोपमा भारतका पूर्वअर्थमन्त्री चिदम्बरम पक्राउ

  २०७६ भदौ ५ गते ९:४६     विकासन्युज


काठमाडौँ । भारतीय प्रहरीले पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई भ्रस्टाचारको आरोपमा दिल्लीस्थित उनको घरबाट पक्राउ गरेको छ । सम्पति शुद्धीकरणसँग समेत जोडिएको उनको पक्राउलाई केही भारतीय टेलिभिजन च्यानलमा प्रत्यक्ष देखाइएको थियो ।दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो ।

उनका छोरा समेत मुछिएको उक्त अभियोग भारतीय जनता पार्टीको राजनीतिक मनसायबाट प्रेरित रहेको उनका वकिलले अदालतमा बताएका थिए । दुईपटक भारतको अर्थमन्त्री भइसकेका उनी विपक्षी कङ्ग्रेस पार्टीका एकजना वरिष्ठ नेता हुन् । सन् १९८४ यता भारतीय सांसदका रूपमा रहेका उनी गृहमन्त्री समेत भएका थिए।

अनुसन्धानकर्ताहरूले उनी एक मलेसियाली कम्पनीले गरेको दूरसञ्चार संस्था एयरसेलको गैरकानुनी अधिग्रहणमा संलग्न रहेको आरोप लगाएका छन् । उनीमाथि सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप समेत छ । चिदम्बरमले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ ।आइएनएक्स ग्रुपसँगको उक्त प्रकरणमा सीबीआई र आर्थिक अपराधको अनुसन्धान गर्ने भारतीय निकायले उनी र उनका छोरा कार्ती चिदम्बरमको अनुसन्धान गरिरहेको छ।

कार्ती चिदम्बरम तमिल नाडु राज्यबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद हुन् । पक्राउ गर्नुभन्दा अघिल्लो रात अधिकारीहरू सोधपुछका लागि चिदम्बरमको घर पुगेका थिए । तर उनले आफू त्यहाँ नभएको बताए । सीबीआईले कार्ती चिदम्बरमलाई सन् २०१८ मा पक्राउ गरे पनि पछि उनलाई जमानतमा छाडिएको थियो । (बीबीसीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.