नेपाल बैंककाे प्रमुख कार्यकारी अधिकृत पदमा १४ जनाको आवेदन, सबै नयाँ अनुहार

  २०७६ भदौ ४ गते १७:१८     विकासन्युज

काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि १ महिला सहित १४ जनाको आवेदन परेको छ । नेपाल बैंकमा सीईओका लागि आवेदन दिनेहरूमा हाल बैकिङ बजारमा देखिएका भन्दा फरक अनुहार परेका छन् ।

नेपाल बैंकमा मंगलबारसम्म सीईओ पदका लागि आवेदन दिनेहरूमा रामदेव यादव, अरुणकुमार ढुंगाना, पूर्णप्रसाद आचार्य, मुरारीप्रसाद अर्याल, कृष्णवहादुर अधिकारी, सुन्दर पन्थी, शेषरमण आचार्य रहेका छन् । बैंकमा सीईओ बन्न पुष्पराज भण्डारी, राजुनाथ खनाल, गोविन्दप्रसाद दाहाल, दुर्गाकुमारी कँडेल, अशोक खड्गी, शंकरकुमार रायमाझी र दिल्लीराम शर्माले आवेदन दिएको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए । महिला आवेदक दुर्गाकुमारी कर्णेल हाल राष्ट्रिय वाणिज्य बैंकमा १० औं तहमा कार्यरत छिन् ।

‘उहाँहरूको मंगलबार बेलुकासम्म व्यक्तिगत विवरण र विजनेश प्लान शिलबन्दी खाममा बैंकको केन्द्रीय कार्यालयमा आएको छ,’ उनले भने ‘अब हामी यसलाई खोलेर हेर्छौ ।’ आवेदन गर्नेमा सबै नयाँ अनुहार रहेका छन् । यसअघि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतकाे अनुभव लिएका एक जनाकाे पनि निवेदन परेकाे छैन ।

बैंकले गत साउन १२ गते सिईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो । विज्ञापनमा व्यक्तिगत विवरण सहित व्यवसायिक योजना समेत माग गरेको थियो । नेपाल बैंकमा सीईओ बन्नेले मासिक ३ लाख पारिश्रमिक र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाउने छन् । नेपाल बैंक लिमिटेडमा विगत ५ महिनादेखि सिईओ पद रिक्त छ । २०७५ चैत ११ मा बैंकका सिईओ देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यावधि सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.