टेलिकमद्वारा दुर्गम क्षेत्रमा बिटीएस प्रणालीमार्फत सेवा सञ्चालन

  २०७६ भदौ ४ गते १२:२३     विकासन्युज

खाँदबारी । सङ्खुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले चार बिटीएस टावर जडान गरेको छ । मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका चार स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिकरूपमा विकट र विद्युत् सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो ।

दुर्गमको समस्यालाई मध्यनजर गर्दै चार स्थानमा सेवा विस्तार गरिएको टेलिकमका प्रमुख राधारमण भट्टराईले बताएका छन् । टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको जनाएको हो ।

पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएका मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए । मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जनाएको छ ।

खाँदबारीमा रहेको टेलिकम शाखाले सङ्खुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराई बताउँछन् । अहिले उक्त स्थानहरुमा सौर्य उपकरणका भरमा बिटीएस प्रणालीमार्फतसेवा सञ्चालन गरिएको हो ।

भोटखोलाको किमाथाङ्कामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बिटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । उनका अनुसार जिएसएम आठ, सिडीएमए पाँच र ल्याण्डलाइन सेवा पाँच स्थानबाट सञ्चालन भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.