सङ्घीय संसद् भवन बनाउन १७ कम्पनीले दिए आवेदन

  २०७६ भदौ ४ गते १०:३६     विकासन्युज


काठमाडौँ । सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । हालसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् । तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइने मन्त्रालयका प्रवक्ता (सहसचिव) कृष्णप्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार सो योजना अघि बढाउन मन्त्रालयले कति पनि ढिलाइ गरेको छैन ।

सार्वजनिक खरीद ऐनअनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने उनले बताए । उनले भने, “प्रचलित ऐनअनुसार काम अघि बढाउँदै गर्दा ढिलार्इ देखिएको हो, तर मन्त्रालयले कतै पनि ढिलार्इ गरेको छैन ।”

हाल सो स्थानमा नेपाली सेना बस्दै आएको छ । सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको प्रवक्ता दवाडीले बताए । उनले भने, “सेनाका कारण ढिलाइ हुँदैन, प्रक्रिया अघि बढिसक्यो अब काम हुन्छ ।” यहाँ निर्माण हुने भवनहरु परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सबै भवन वास्तुकला तथा डिजाइन काठमाडौँको स्थानीय वास्तुकला झल्कने खालको हुने विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर प्रकिर्ण तुलाधरले बताए । आधुनिक प्रविधिबाट निर्माण हुने भए पनि भवनमा नेपालको आफ्नो मौलिकता झल्कने उनको भनाइ छ ।

सो भवनलाई अन्तरराष्ट्रियस्तरमा समेत नेपालको इञ्जिनीयरिङ र आर्किटेक्चरल उपलब्धिका रुपमा परिचित गराउने लक्ष्य लिइएको उनको भनाइ छ । उनले भने, “हाम्रो आफ्नै कलाको प्रयोग गर्दै आधुनिक भवनहरु निर्माण गर्न लागिएको हो ।” सङ्घीय संसद् भवन परिसर निर्माण आयोजनाको कूल लागत रु सात अर्ब रहनेछ । १७३ रोपनी क्षेत्रफलमा फैलने परिसरको निर्माण आव २०७८÷७९ सम्ममा सम्पन्न हुने विभागले जनाएको छ ।

परिसरमा गुरुयोजनालाई भवन क्षेत्र, खुल्ला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर तुलाधरले बताए । ४५ प्रतिशत क्षेत्रफलमा खुल्ला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने उनले जानकारी दिए ।

हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुल्ला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने उनले बताए । उनले भने, “यहाँको कूल क्षेत्रफलको २७ प्रतिशत क्षेत्रफल भवनले ओगट्नेछ ।” नयाँ बन्ने संसद् भवनमा अत्याधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकिने बताइएको छ । यस परिसरको गुरुयोजनामा सुरक्षालाई विशेष ध्यान दिइएको छ ।

परीसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने सांसदको प्रवेशका लागि उत्तरतर्फ नयाँ द्वार रहने तुलाधरले बताए । दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि ढोका रहने गरी ‘डिजाइन’ तयार गरिएको उनले बताए ।

संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ । ती बाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने तुलाधरले जानकारी दिए । भवनमा आवश्यकताअनुसार भूमिगत वा अर्धभूमिगत कक्ष पनि निर्माण हुनसक्ने उनले बताए । भवनहरु भूकम्प, आगलागी लगायतका विशेष अवस्थालाई ध्यानमा राखी निर्माण गरिने उनले बताए ।

मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रियसभाको बैठक बस्ने हल बन्ने बताइएको छ । प्रतिनिधिसभा भवनमा ४०० अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने वरिष्ठ डिभिजनल इञ्जिनीयर ताम्राकारले जानकारी दिनुभयो । सो भवनमा ३०० जना पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २०० अट्ने अर्को हल हुनेछ ।

राष्ट्रियसभा भवनमा झण्डै १०० जना अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ । साथै सो भवनमा २०० अट्ने बाल्कोनी र ३०० जना अट्ने अर्को हल रहने बताइएको छ । राष्ट्रियसभा भवनको उत्तरतर्फ अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन निर्माणका लागि नमुना तयार गरिएको छ । सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रियसभाको अध्यक्ष, उपाध्यक्ष लगायतको कार्यकक्ष रहने उनले बताए ।

प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, ई–पुस्तकालय, सङ्ग्रहालय, प्रशासनिक कक्षसहितको चारतले पुस्तकालयको भवन निर्माण हुने उनले जानकारी दिए । मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ । मुख्य भवनको उत्तरतर्फ पाँचतले पार्टी कार्यालय भवन हुनेछ । सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्ष लगायतका लागि छुट्टाछुट्टै कक्ष रहने उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.