मेलम्चीको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई, दशैँ अघिबाटै काम शुरु गर्ने

  २०७६ भदौ ३ गते १८:३२     विकासन्युज


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । बाँध (हेडवर्क्स) र सुरुङ (टनेल) निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने निश्चित भएको हो । आयोजना प्रमुख सूर्यराज कँडेलका अनुसार आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई १ अर्ब ६५ करोड रुपैयाँमा ठेक्का दिने तय भएको छ ।

सुरुङ बनाउन करिब ७५ करोड रुपैयाँ र बाँध बनाउन ९० करोड रुपैयाँमा सिनो हाइड्रोले ठेक्का पाउनेछ-आयोजना प्रमुख कँडेलले भने । सिनो हाईड्रो जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । नेपालका विभिन्न जलविद्युत आयोजना निर्माणमा सिनो हाइड्रो संलग्न रहेको छ ।

इटालियन ठेकेदार सिएमसी डि रेभेन्ना काम अधुरै छाडेर गएपछि बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आव्हान गरिएको थियो । सिनो हाइड्रोले अनुमानित भन्दा बाँध २९ प्रतिशत कम र सुरुङ १५ प्रतिशत कम लागतमा निर्माण सम्पन्न गर्ने गरी कबोल गरेको आयोजना प्रमुख कँडेलले विकासन्यूजसँग बताए ।

बोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने हुन्छ । तर, आयोजनाले भने जतिसक्दो छिटो प्रकृया सकेर आउन आग्रह गरेको बुझिएको छ । आयोजना प्रमुख कँडेलले दशैं अघिनै काम सुरु गराउने तयारी गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.