भदाै १२ देखि नेपाल एअरलाइन्सकाे जापान उडान, ७० हजारमा दुईतर्फी यात्रा

२०७६ भदौ ३ गते १६:१० विकासन्युज

काठमाडाैं । नेपाल वायुसेवा निगमले भदाै १२ देखि जापानको ओसाका उडान भर्ने भएको छ । निगमले मंगलबार पत्रकार सम्मेलन गर्दै जापानको ओसाकामा अगष्ट २९ अर्थात भदौ १२ गते उडान भर्ने जनाएको हो । यो भन्दा अगाडी उडान गर्ने भनिएपनि केहि अन्यौल रहेकोमा अब भने उडान भर्ने निश्चित भएकाे निगमले जनाएकाे छ ।

निगमका अध्यक्ष मदन खरेलले सबै तयारी पुरा भएको बताउँदै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज जापानको ओसाकामा जाने बताए । निगमले ओसाकामा हप्ताको तीन उडान गर्ने जनाएको छ । पहिलो उडानमा त्यति यात्रुहरु नभएपनि विस्तारै व्यापार प्रवद्र्धन गर्दै लैजाने उनले बताए । नेपाल नागरिक उडड्यन प्राधिकरणले रुट प्रमिटको अनुमति दिएसँगै जापान उड्ने बाटो खुल्ला भएको उनले बताए ।

पहिलो अगष्ट महिनामा त्यति यात्रुहरु नभएपनि पछिल्ला महिनाहरुमा यात्रुको संख्या राम्रै हुने निगमले जनाएको छ । निगमका कमरसियल म्यानेजर टंकनिधी दाहालले हाल सम्म १ सय ५० को हाराहारीमा टिकट बुकिङ भएको बताए । उनले  टुवेका लागि प्रति टिकटको ७० हजार रुपैयाँ पर्ने बताए ।