गलत काम गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्दा हामी त्यसको विरोध गर्दैनौँ: रवि सिंह

  २०७६ भदौ ३ गते १६:११     विकासन्युज


रवि सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन् । उनी अध्यक्ष भइरहँदा सार्वजनिक खरिद नियमावलीलाई लिएर नेपाल सरकार र निर्माण व्यवसायीहरुको विवाद उत्पन्न भयो । सरकारले सार्वजनिक खरिद नियमावली तीन पटक संशोधन पनि गरिसकेको छ, तर पनि निर्माण व्यवसायीहरु त्यसको विरोधमा लागिरहेका छन् । यो अवस्था किन सिर्जना भयो ? निर्माण व्यवसायीहरुका समस्या के के हुन् ? महासंघका अध्यक्ष सिँहसँग विकासन्युजका लागि सन्तोष रोकायाले गरेको विकास बहसः

सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनका केही बुँदाप्रति निर्माण व्यवसायीहरु सन्तुष्ट छन् भन्ने कुरा छ । तपाईँहरु कुन–कुन कुरामा चाँही सन्तुष्ट हुनुभयो ?
म्याद थपका विषयमा पनि ५० प्रतिशत भन्दा बढी नाघि सकेका प्रोजेक्टहरुलाई के गर्ने भन्ने अन्यौल थियो । यो आठौं संशोधनले त्यसलाई खुल्ला गरिदिएको छ । तिनीहरुलाई एक वर्षसम्म म्याद थप दिने भन्ने आठौं संशोधनले भनेको छ । त्यति हुँदाहुँदै पनि कहाँनेर त्रुटि भएछ भने छैटौं संशोधन आउँदा त्यसमा दफा १२० को उपदफा १०५ मा निर्माण कार्यहरु समयावधि मै सकाउनु पर्ने उल्लेख रहेछ । त्यो प्रावधानले गर्दा अहिले आठौं संशोधन भएपनि पुराना कामहरुलाई म्याद थप गर्न केही समस्या रहेको भन्ने कुराहरु विकासे मन्त्रालयका सचिवहरुले गर्नु भएको छ । तथापी अब हिजोको जस्तो समस्याहरु नरहेपनि त्यो समस्याहरु जीवितै छन् । जुन आशयका साथ एक वर्ष थप गरिदिने, त्यसमा सरकारलाई पनि आर्थिक भार नपर्ने र सार्वजनिक काम गर्ने निर्माण व्यवसायीलाई पनि जरिवाना नलाउने जुन नेपाल सरकारको विकासे अड्डाहरुको भनाई छ । यति सबै कुरा सरकारले सद्भाव देखाएर एक पटक निर्माण कम्पनीलाई आधार प्रदान गर्ने र एक वर्ष भित्र पेन्डिङ रहेका कामहरु प्राविधिक दृष्टिकोणले एक वर्ष भित्र सम्पन्न हुने सम्भावना रहन्छ । त्यो कामलाई निकास दिएपनि अहिले कर्मचारीहरु सँगको समन्वयको अभावले म्याद थप चाँही भईराखेको अवस्था छैन ।

तपाईँहरुको मुख्य विमति कालोसूचीमा थियो । त्यसलाई कसरी समाधान गरियो ?
हाम्रो भनाई भनेको एउटै अपराधका लागि विभिन्न हिसावको कानून बनाएर विभिन्न हिसावको सजायको भागेदार हुनुहुन्न भन्ने हो । हामीले खरिद ऐनमै जुन प्रावधानहरु राख्ने हो, त्यसअन्तर्गत नै हामीलाई कार्वाही हुनु पर्छ भन्ने हो । कुनै मुलुकी ऐन अपराध संहिता लाग्ने, कुनै निर्माण व्यवसायी ऐन लाग्ने, कुनै खरिद ऐन लाग्ने यी विविध किसिमको भए भने दुविधा पनि हुन्छ र त्यसले गर्दा अधिकार क्षेत्रहरु पनि विभिन्न ठाउँमा रहने हुँदा, समन्वय गर्न नसक्दा कामलाई गति दिने भन्दा पनि काममा व्यवधान हुने कुराहरु बढी हुन्छन् । त्यहि भएर पनि निर्माण उद्योगलाई खरिद ऐन अन्तर्गत वा निर्माण उद्योग ऐन अन्तर्गत हेर्ने के गर्ने हो एउटै ऐन मार्फत गर्नु पर्छ भन्ने हाम्रो कुरा हो ।

यसपटक सरकारले १५ दिनभित्र भुक्तानी बुझाई सक्ने भनेको छ । अब यो समस्या समाधान होला त ?
खरिद नियमावली छैटौं संशोधनको ३८ वटा बुँदाहरु मध्ये ३२ वटा बुँदाहरु अत्यन्तै राम्रा छन् । निर्माण उद्योगलाई उत्प्रेरित गर्न मद्दत गर्दछ । सबैलाई जिम्मेवार गर्न खोजिएको छ । त्यहाँ के उल्लेख गरिएको छ भने भुक्तानीको सुनिश्चितता नभई आयोजनाहरुलाई टेण्डर गर्नु हँुदैन भनेको छ । नेपाल सरकारले गर्नु पर्ने अथवा सार्वजनिक निकायले गर्नु पर्ने कामहरु पहिला सकाएर मात्र टेण्डर गर्नु पर्छ भन्ने छ । त्यो भनेको जग्गा खालि गराउने जिम्मवारी कुन निकायको हो ? वनजंगलको स्वीकृति लिने इत्यादी प्रावधानहरु सकाएर निर्माण शुरु गर्ने भन्ने प्रावधान छ । वातावरण प्रभाव मूल्याकङ्न नगरेर टेण्डर आब्हान गर्न पाइदैन भन्ने व्यवस्था गरेको छ । त्यो अत्यन्तै राम्रो छ ।

भुक्तानी समयमै नहुँदा यो भन्दा अगाडि के-के समस्याहरु झेल्नु परेको थियो ?
अगाडी होइन, अहिले पनि हामी त्यही समस्याहरु झेलिरहेका छौं । ऐन नियमावलीमा मात्र आएर समस्या समाधान हुँदैन । त्यसको कार्यान्वयन पक्ष कत्तिको तदारुकताका साथ जान्छ, त्यसले मात्र समस्याको समाधान हुन्छ । देशमा लगभग २२ सय वटा आयोजनाहरु म्याद थप नभएर बसेका छन् । ती आयोजनाहरुको भुक्तानी ४ सय अर्ब रुपैयाँ पर्छ । यो ४ सय अर्ब रुपैयाँ नेपाल सरकारले एक वर्षमा भुक्तानी गर्छ जस्तो मलाई लाग्दैन । त्यसको लागि सरकारले के पनि कदम चालेको छ भने हामीले दिएको क्रेडिट लाइनबाट नेपाल सरकारले चाहेको बेलामा बैंकले रकम दिनु पर्छ भन्ने बाध्यात्मक प्रावधान राख्न खोजेको छ । यो प्रावधान राख्दा एकातिरबाट भुक्तानीको सुनिश्चितता त रहन्छ, तर यही प्रावधानले गर्दा टेण्डरमा भाग लिने प्रक्रिया यति महङ्गो हुन गएको छ कि त्यो महङ्गीले गर्दा मान्छेहरुले स्वस्थ प्रतिस्पर्धा गर्न सक्छ जस्तो मलाई लाग्दैन ।

अहिले विद्यमान खरिद नियमावली आठौं संशोधन र छैठौं संशोधनमा अझ बिग क्यापासिटी लागु गरेको छ । यससँगै क्रेडिट लाइन पनि माग गरेको छ । हामीले हिजोका दिनमा पनि क्रेडिट लाइन पेस गथ्र्यौ । अबको क्रेडिट लाईन कस्तो छ भने जुन प्रोजेक्टमा निर्माण कम्पनीले भाग लिंदैछ त्यसलाई आवश्यक पर्ने क्रेडिटको प्रत्याभुति बैंकले गर्नुपर्छ भनेर बाध्यात्मक अवस्था राखेको छ । त्यो अवस्था राखेपछि अहिले त्यसको कस्ट चाहिँ लगभग प्रोजेक्टको एक प्रतिशत हुन जान्छ । ५० करोडको प्रोजेक्ट छ भने ५० लाखको क्रेडिट लाइनको कस्ट पर्छ । यसरी एउटा टेण्डरमा भाग लिनकै लागि त्यो क्रेडिट लाइन बनाउन कतिको उचित हुन्छ ? त्यसरी बनाएको क्रेडिट लाइनबाट कति जना कन्ट्याक्टरले भाग लिन्छन् ? कतिको प्रतिस्पर्धा हुन्छ भन्ने विषयमा गहन छलफल हुन जरुरी छ । हामी अहिले यसैमा बहस गरिरहेका छौं । यसमा जिम्मेवारी कसैले नलिने । एउटाले अर्कालाई देखाउने । सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्छ क्रेडिट लाइन भएपछि बैंकले बाध्य भएर दिनु पर्छ ।

सार्वजनिक खरिद नियमावली छोटै समयमा तीन पटक संशोधन भइसकेको छ । एकै पटकमा सबै कुरा संशोधन हुन नसक्नुको कारण के मान्नुहुन्छ ?
मुलुकको विकास बजेटको ६५-७० प्रतिशत निर्माण व्यवसायीले खर्च गर्छौं । हामीसँग सहकार्य नगरी ल्याइने ऐन नियमावली कस्तो होला ? यो चार महिनामा तीन वटा संशोधन भइसकेको छ । यो हास्यास्पद पनि भइरहेको छ । यो दुर्भाग्यपूर्ण पनि छ । अहिले आएर नेपाल सरकार कति परिपक्क छ भनेर बुझ्न सकिन्छ । एकातिर हामी असन्तुष्ट छौं । हाम्रो काम भइरहेको छैन । अर्कोतिर हामीले नै प्रभावमा दवावमा पारेर ऐन संशोधन भएको छ भनिएको छ । हामीसँग छलफल गरेर थोरै समयमा कामहरु टुङ्गिने कुरामा सरकारले आफु आफैँलाई बढी समय लाग्ने, बढी आलोचित हुने कामहरु गरिरहेको छ ।

नेपाल सरकारसँग विश्वासको पात्र उद्योगी मै नरहेछ । विश्वासे पात्र विकासे अडडका अधिकारीहरु पनि रहेन छन् । कुनैपनि विकासे अडडका प्रतिनिधिहरु पनि सरकारका विश्वासका पात्रहरु रहेन छन् । त्यसैको कारणले गर्दा जसले काम गर्ने हो उनीहरुसँग नै समन्वय नगरी, विश्वास नगरी पटक पटक परिमार्जन गर्नु परेको हो जस्तो मलाई लाग्छ ।

देश विकासको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय क्षेत्र पनि हो । यसलाई सरकारले कस्तो नजरले हेरेको छ ?
देशलाई सम्बृद्ध बनाउने हो भने पूर्वाधारको क्षेत्रमा कसरी खर्च कम गर्ने भन्ने कुरामा चिन्तन गर्नु पर्ने जरुरी छ । बंगलादेश यस्तो देश हो कि जहाँ नदीजन्य चिजहरु उपलब्ध हुँदैनन् । त्यहाँको उपभोक्ताले उपभोग गर्ने नदीजन्य पदार्थ र संसारकै जलस्रोतको धनी मानिने हाम्रो देशको जनताले उपभोग गर्ने नदीजन्य पदार्थको मूल्य हाराहारीमै छ । यहाँ पूर्वाधार विकासका लागि सबैभन्दा बढी कस्ट तिर्नु पर्ने मुलुकमा हामी पनि पर्छौं । पूर्वाधारहरुको कस्ट महंगो पर्ने बितिकै मुलुक सम्बृद्ध हुन सक्दैन ।

यो अवस्था किन आयो ?
राज्यको हरेक क्षेत्रमा चुहावट छ । सबै क्षेत्रमा अनैतिकता छ । नदीजन्य पदार्थको एक घनमिटरको कस्ट आठ सय हुनु पर्नेमा त्यसको कस्ट तीन हजार पर्न जान्छ । आठ सयको चिज तीन हजार भयो भने त्यसमा कति अनियमितता भयो । एउटा गाडी मेलम्चीबाट यहाँ आउँदाखेरि आठ नौ हजार खर्च गर्नु पर्छ । त्यो त उपभोक्ताले अनावश्यक खर्च गरिहेका छन् । त्यसले गर्दा पूर्वाधार विकासमा बाधा पर्यो । यसलाई नियन्त्रण गर्नु पर्छ । यस्ता कुराहरुमा सरकारको नियमन निकायको कमि कमजोरीका कारणले यो कार्टेलिङ भइरहेको छ । जसरी पनि सम्पत्ति कमाउने मान्छेहरु नै माथि जाने प्रवृति छ । राम्रो विचार भएका मानिसले नेतृत्व पाएको छैन । यी सबै कुरामा परिवर्तन आउनु पर्छ । सही विकास दिने मान्छेलाई हामीले नेतृत्व दिनु पर्छ । त्यस्तो वातावरण हामीले सिर्जना गर्नु पर्छ । अब प्रधानमन्त्रीले आफ्नो सिट नै सुरक्षित गर्न समय खर्च गर्नु परिरहेको छ । मन्त्री मण्डलमा पनि कागजी घोडा मात्र दौडिरहेको छ ।

धेरै आयोजनाहरु म्याद सकिएर पनि रुग्ण भएर बसेका छन् । यस्ता आयोजनाहरु सम्पन्न गर्न सरकारले एक वर्षको समय पनि दिएको छ । अब यी आयोजनाहरु सम्पन्न हुन्छन् त ?
सरकारले त्यही आशयले चाँही खरिद नियमावली संशोधन गर्यो । म्याद थप नहुने अवस्था हुँदाहुँदै पनि सरकार किन गम्भीर नदेखिएको ? अझ पनि आफ्नो अधिनस्त कर्मचारीहरुलाई किन काम लगाउन नसकेको ? यहाँ मन्त्री परिषद र काम गर्ने कर्मचारीहरुबीच ग्याप देखिन्छ । एकातिर सरकार रुग्ण आयोजनालाई निकास दिनलाई एक वर्ष म्याद थप दियौं भनिरहेको छ भने अर्कोतर्फ काम गर्ने कर्मचारीहरुको बुझाइमा समस्या देखिन्छ । जुन आयोजनाको म्याद छ तिनीहरुलाई त म्याद थपको आवश्यकता नै पर्दैन ।

निर्माण उद्योग भित्रै हिजोका दिनमा अनेक बिकृति थियो । आज त्यस्ता गलत गर्नेलाई दुरुत्साहित गरेका छौं ।

निर्माण व्यवसायको क्षेत्रमा तपाईँले लामो समय काम पनि गरी सक्नु भएको छ । तपाईसँग धेरै अनुभव पनि छ । निर्माण व्यवसायी महासंघको नेतृत्व सम्हाली सकेपछि के के काम गर्नु भयो ? के कस्ता सुधारहरु भए ?
म निर्माण व्यवसायी महासंघको अध्यक्ष भएको लगभग एघार महिना भयो । यो एघार महिनाको दौरानमा अहिलेसम्म जति निर्माण व्यवसायीहरुले काम गरेका आयोजनाहरु छन्, तिनीहरुमा सबै जिम्मेवार छन् है भन्ने धारणा उजागर गर्न सक्यौं । हामी निर्माण व्यवसायीहरु गाउँठाउँमा गएर निर्माण कार्य गर्छौँ । निर्माण कार्य भएपछि जीवन सहज हुन्छ । निर्माण उद्योग भित्रै हिजोका दिनमा अनेक बिकृति थियो । आज त्यस्ता गलत गर्नेलाई दुरुत्साहित गरेका छौं । त्यस्तो क्रियाकलाप हामीले हुन दिएका छैनौं र भविश्यमा पनि हुन नदिनको लागि हामीले खरिद नियमावली संशोधन हुनुपर्छ भनेर सरकारलाई सुझाव पनि दिएका छौं । हाम्रो व्यवसायलाई मर्यादित भएर अगाडि बढाउनको लागि हामी बढी नै संबेदनशील भएर अगाडि बढेका छौं ।

आयोजना निर्माणमा गलत गर्ने व्यवसायीहरुलाई तपाईँले दण्डित गरेका केही उदाहरणहरु भन्न सक्नुहुन्छ ?
हामीले कुनै पनि निर्माण कार्य निर्माण कम्पनीले इन्टेशनली ढिलाई गर्दैन, यदी गरेको छ भने त्यस्ता निर्माण कम्पनीलाई कुनै पनि हिसावले कार्वाही गर्दा हामी निर्माण व्यवसायी त्यसको विरुद्धमा आवाज उठाउँदैनौं ।

पछिल्लो समय सरकार र निर्माण व्यवसायीहरुको कतै तालमेल नमिलेको हो की भन्ने पनि सुनिन्छ । सरकारसँग सम्बन्ध सुधार्न र निर्माणको सुधारको लागि कस्ता योजनाहरु अघि सार्दै हुनुहुन्छ ?
सरकारसँग तालमेल नमिलेको भन्दा पनि हामी यो देशको नागरिक ,एक ब्यावसायिक समूह हो । यो देशलाई सम्बृद्ध बनाउन मूख्य भूमिका हामी निर्माण व्यवसायीको पनि हो । मुलुक सम्बृद्धीको दिशामा लैजान हामीले नै पहिला प्राथमिकता पाउँछौं । हामी सरकारलाई के अनुरोध गर्छौँ भने मुलुकमा विद्यमान सार्वजनिक खरिद ऐनका कारणलेसरकारले पनि आफुले चाहेको अनुसार मुलुकमा निर्माण कार्यहरु गराउन सकिरहेको छैन । हामी निर्माण उद्योगीले पनि खरिद ऐनको कारणले नै कामहरु पाइरहेका पनि छैनौं ।

नेपालमा निर्माण व्यवसायीहरुको संख्या उल्लेख्य छ । ती व्यवसायीहरुमा ठूला व्यवसायीलाई कामको चाप र साना व्यवसायीलाई काम नै नपाउने अवस्था छ । यसमा सन्तुलन हुन नसक्नुको कारण के हो ?
त्यसै अवस्थालाई लागु गर्न बिडिङ क्यापासिटी लागु गरिएको छ । अहिलेको प्रावधानमा के छ भने विगत दश वर्षमा गरेको औषत तीन वर्षको प्रमुख कारोवारको सात गुणासम्म काम लिन सक्ने छ भन्ने छ । यो भनेपछि एउटा कम्पनीले आफ्नो विगत दश वर्षको तीन औषत वर्षको बेस्ट कारोवारको सात गुणा कारोबारको काम लिन पाउँदैन । त्यति काम लिएपछि त्यो काम सम्पन्न नगरी अरु काम लिन पाउँदैन भनेपछि यो अब सन्तुलन हुन्छ । हिजोका दिनमा चाहिँ जति पनि काम लिन पाउने अवस्था थियो, त्यसमा चाँही केही बन्देज लागेको छ ।

निर्माण व्यवसायीको हकहितका लागि एउटा कोष पनि छ । त्यो कोषमा भएको पैसा उपयोग भएको छैन भन्ने पनि सुनिन्छ नि ? यो रकम के मा उपयोग हुन्छ ?
हिजोका दिनमा हामी आफैँले नै नेपाल सरकारलाई आग्रह गरेर निर्माण व्यवसायी कोष हामीले जम्मा गरेका छौं । त्यो चाहिँ बिलको दश पैसाका दरले त्यो कोष जम्मा हुन्छ । त्यो कोषबाट निर्माण उद्योगलाई अगाडि बढाउने क्रियाकलापहरुमा हामीले खर्च गर्छौं । नेपाल सरकारको सहसचिव त्यस कोषको अध्यक्ष रहन्छ । सबैले आ-आफ्नो हिसावले ब्याख्या गरेको होला, तर यो कोषको कारणले नेपाली उद्योगीहरुलाई प्रशिक्षण गर्ने काम, निर्माण उद्योगीलाई स्थापित गर्ने काममा यसले सहयोगको भूमिका निर्वाह गर्छ । त्यसले यसको खासै त्यस्तो दुरुपयोग भएको जस्तो मलाई लाग्दैन ।

निर्माण व्यवसायी व्यवसायिक छैनन् भन्ने पनि आरोप लागेको छ । व्यवसायिक बनाउन के गर्दै हुनुहुन्छ ?
सबैभन्दा त हामी निर्माण व्यवसायी मात्र होइन नेपालमा कुनै पनि क्षेत्रका पेशाकर्मीहरु व्यवसायिक छैनन् भन्ने आरोप छ । सम्पूर्ण निर्माण व्यवसायी व्यवसायिक छैनन् भन्ने होइन । धेरै हदसम्म हिजोका भन्दा आज निर्माण व्यवसायीहरु व्यवसायिक भइरहेका छन् । निर्माण व्यवसायलाई व्यवसायिक बनाउनका लागि नेपाल सरकार पनि व्यवसायिक हुनु पर्यो । नेपाल सरकारका निकायहरु नै व्यवसायिक नभएसम्म हामी एकातर्फी रुपमा मात्र व्यवसायिक हुन सक्दैन ।

निर्माण कम्पनीले गुणस्तरीय काम कहिले गरिदिने र आम उपभोक्ताले ढुक्क भएर उपभोग गर्ने दिन कहिले आउँछ ?
अहिले जति कामको गुणस्तरियताको कुरा आउँछ । त्यति गुणस्तरहीन काम निर्माण कम्पनीले गरेका हुँदैनन् । निर्माण उद्योगीले तोकिएको गुणस्तरमा निर्माण गर्ने हो । तर, समस्या कहाँनेर छ भने हामीले कुनै पनि आयोजना त्यसको विस्तृत अध्ययन बिना शुरु गर्छौँ । यो छैठौं संशोधनले यसलाई सम्बोधन गरेको छ । आयोजनाको उपलब्धता र आयोजनामा हुने उपलब्धिको हिसावले विस्तृत सर्वेक्षण गरेर मात्र आयोजना शुरु गर्नु पर्छ भन्ने छ । हिजो आयोजना के को लागि आवश्यकता छ र केका लागि बन्छन् भनेर बन्थे भने अबको दिनमा आयोजनामा के को आवश्यकता छ, त्यसको आधारमा आयोजना बन्छ भन्ने मलाई लाग्छ । निर्माण व्यवसायी पनि बदनामी बन्नु पर्ने अवस्था छ । आठौं संशोधनलाई सरकारले गम्भीरताका साथ लागु गर्ने हो भने यो सबै समस्या समाधान हुन्छ ।

निर्माण व्यवसाय क्षेत्रलाई व्यवसायिक र भरपर्दो संस्थाका रुपमा स्थापित गर्न तपाईँका आगामी योजनाहरु के छन् ?
सबैभन्दा पहिला त खरिद ऐन निर्माण उद्योगमैन्त्री बनाउने योजना छ । त्यसपछि सबै निर्माण व्यवसायीहरु जिम्मेवार भएर यो क्षेत्रलाई सकेसम्म कम अनैतिकता हुनेतर्फ डोर्याउन आवश्यक छ । अब निर्माण उद्योगमा मात्र होइन नेपाल नै भ्रष्टाचारको मामिलामा हामी सबैभन्दा भ्रष्ट मुलुकहरु मध्येमा पर्छौँ । त्यसलाई सकेसम्म कसरी न्युन गर्न सकिन्छ भन्ने कुरामा हामी गम्भीर भएर लागि रहेका छौं । म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न भन्ने नेपाल सरकारले लिएको नारालाई साकार गर्नेतर्फ हामी पनि लाग्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.