डाक्टरी पेशामा जागेश्वरका २७ वर्ष: ‘रु. ३१०० पहिलो तलब, २७ हजारको मेजर सर्जरी’

  २०७६ भदौ ३ गते १२:४५     डोमी शेर्पा

काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९ गते जन्मिएका गौतम ६ बर्षको उमेर देखी विद्यालय जान थालेका थिए । घरको जेठो छोरा जागेश्वरले कक्षा ३ सम्म घर नजिकैको विद्यालयमा पढे । उनले कक्षा ४ देखी १० सम्म चाँही पशुपती उच्च माध्यमिक विद्यालयमा पढे । उक्त विद्यालय उनको घरभन्दा १ घण्टा टाढा थियो ।

गौतम सानैदेखि निकै नै मिहिनेती थिए । उनको बुवा भारतमा काम गर्थे, त्यसैले उनको बाल्यकालको अधिकांश समय आमासँग बिताए । उनी आमालाई घरको काममा खुब सघाउँथे । बिहान स्कुल जानुभन्दा पहिला र साँझ घर आएपछि उनी घरको काममा आमालाई काममा सघाउँथे । अन्य बालबालिका बाहिर घाँसदाउरा गर्न जान्थे, तर उनी भने घरमै बसेर खाना बनाउने र सरसफाई गर्ने काम गर्थे ।

एसएलसी पास गरेपछी उनले पर्वतमै २ बर्ष विद्यालयमा पढाए । त्यसपछी उनी १८ बर्षको उमेरमा काठमाडौँमा पढ्न आए । उनका एकजना दाई काठमाडौंमा बस्थे । काठमाडौँमा उनी अनिरुद्र शर्मा दाईसँग बसेर पढेका हुन् ।

अंग्रेजी नजान्दाको त्यो दुःख
काठमाडौं आएर पढाई अघि बढाउँदै उनलाई शुरुमा धेरै नै सकस पर्यो । सरकारी विद्यालयमा पढेका जागेश्वरलाई अंग्रेजी नजान्दा अध्ययनलाई अघि बढाउन हम्मेहम्मे परेको थियो । पर्वतबाट पढेर आएका उनलाई आइएमा काठमाडौंको निजी विद्यालयका विद्यार्थी, दार्जेलिङ, देहरादुनबाट पढेर आएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न निकै नै गार्हो भयो।

कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । कुनैबेला उनलाई अब म पढ्न सक्दिन भन्ने पनि नलागेको होइन, तर पहिलो बर्षको परीक्षाको नतिजा उनको निकै राम्रो आयो । उनले सोचेको भन्दा धेरै राम्रो गरे । यसले उनलाई हौसला मिल्यो, आत्माबिश्वास पनि बढ्यो र केही गर्न सकिन्छ भन्ने भाव आयो र क्रमशः राम्रो गर्दै गए।

एमबीबीएस सपना
गौतम १५-१६ बर्षको हुने ताका उनकी आमा बिरामी भइरहन्थिन । आमालाई मुटुको समस्या थियो । उनी आमालाई अस्पताल लिएर जान्थे र अस्पताल जाँदा डाक्टर, नर्सहरुको रुखो बोली सुन्दा उनलाई नरमाइलो लाग्थ्यो । यस्तो व्यवहार उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनले त्यही समय आफु चाँही डाक्टर भएर बिरामीहरुलै राम्रो व्यवहार गर्छु भन्ने सोचे । उनी आफुलाई बिरामीको ठाउँमा राखेर कुरा गर्छु भन्ने सोच्थे । गौतम बिरामीलाई सम्मानसाथ र मायाले जाँच्नु पर्छ भन्ने सोच राख्छन् । दुईजनाबीच राम्रो सम्बन्ध भएमात्र उपचार पनि राम्रो हुने उनी बताउँछन् । उनी जहिले पनि मानिसहरुसँग कसरी नजिक रहेर सेवा दिउँ भन्ने सोच्थे । उनले यस बिषयमा धेरै सोचे र अन्त्यमा एमबीबीएस पढ्ने निधो गरे।

कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् ।

डाक्टर बन्न पाइयो भने मानिसहरुको अलिक बढी सेवा गर्न सकिँदो रहेछ भन्ने सोच आयो । उनी एरोनेटिकल ईन्जिनियरिङ्ग पनि पढ्ने तयारिमा थिए । तर, अन्त्यमा ईन्जिनियरिङ्गहरु भन्दा पनि डाक्टरी सेवाबाट बढी मानिसहरुको पहुँचमा पुग्न सकिने सोचले उनले एमबिबिएस पढ्ने प्लान गरे।

श्रीमतीको सहयोग
महाराजगञ्ज टिचिङ अस्पतालमा ३ बर्ष हेल्थ एसिस्टेन्ट पढेपछी गौतमले २ बर्ष टिचिङ अस्पतालमै काम गरे । त्यसपछी उनले २४ बर्षमा एमबिबिएसको प्रवेश परीक्षा दिए जसमा उनले पूर्ण छात्रवृतिमा नाम निकाले । छात्रवृतिमा एमबीबिएस पढेका गौतमलाई कलेज शुल्कको त चिन्ता थिएन, तर उनलाई ५ बर्ष अध्ययनको क्रममा बस्ने, खाने, किताब किन्ने र पकेट खर्च व्यवस्थापन गर्न निकै गाह्रो थियो । तर, श्रीमतीको सहयोगले उनलाई धेरै सजिलो गराईदियो । एमबिबिएस पढ्दा पढ्दै काम गर्नु सम्भव थिएन । यो समयमा उनकी श्रीमतीले काम गरेर उनलाई अध्ययनमा सहयोग गरेकी थिईन् । उनी भन्छन्– ‘म श्रीमतीको सहयोग नभएको भए डाक्टर हुँदैन थे ।’

एमबिबिएस सकेपछी गौतमले ४ महिना कान्तीबाल अस्पतालमा काम गरे र त्यस लगत्तै एमडी पढनको लागि भर्ना भए । एसएलसी पछि २ बर्ष र एमबिबिएस अगाडि २ बर्ष खेर गएको समयलाई विचार गर्दै उनले एमबीबिएस सिद्धिने बित्तिकै एमडी परीक्षाको लागि तयारी गरेर पहिलो स्थानमा नाम निकाल्दै पढाई शुरु गरिहाले ।

प्रसुती गृह र एमडी
एमडीको लागि अमेरिका गएर पढ्ने तरखरमा थिए, तर नेपालमा महिलाहरु उपचार नपाएर अकालमा मरिरहेको खबरहरु धेरै आए । त्यसकारण उनले विदेश जाने मोह त्यागेर नेपालमै पढेर नेपालमै सेवा गर्नुपर्छ भन्ने सोच राखेर नेपालमै बस्ने निधो गरे ।

त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो ।

त्यस समयमा एमडी गर्न ५-६ वटा विकल्पहरु थिए, जसमा गौतमले स्त्री रोगलाई चुने । तीन बर्षको एमडी पढाईमा उनको ३ महिना टिचिङ अस्पतालमा पोस्टिङ् भएको थियो भने बाँकी २ बर्ष ९ महिना परोपकार प्रसुती गृहमै पोस्टिङ् भएको थियो। उनले त्यहीँ बसेर आफ्नो एमडी पूरा गरेका हुन् । उनले उत्कृष्ठ नतिजा ल्याए र एमडी उत्तीर्ण गर्दा स्वर्ण पदक सहित सम्मानित भए । उनले एमडी गर्दै गर्दै लोकसेवाको जाँच दिए र नाम पनि निकाले । पढाई अन्त्य भएसँगै उनले काठमाडौं बाहिर पोस्टिङ् मागे ।

एमडी सकिएपछी मात्र उनलाई डाक्टर भएको जस्तो लाग्यो । त्यससमयको उनको तलब ३ हजार १ सय थियो । उनले आफ्नो पहिलो तलब श्रीमतीलाई लगेर दिए किनभने उनी त्यो स्थानमा पुग्न सबैभन्दा ठूलो हात उनकै श्रीमतिको थियो । उनी दुईवटा कोठा भएको फ्ल्याट लिएर बस्थे, त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो ।

काठमाडौं बाहिरको पोस्टिङको क्रममा गौतमले सबैभन्दा लामो समय चितवनमा बिताए । चितवनमा उनले १५ बर्ष बिताए । त्यस्तै उनले राजविराज, भद्रपुर, सुर्खेत र अन्त्यमा गोरखामा १ बर्ष बिताएर काठमाडौं फर्के । उनी ११ औं तहमा पुगे र मन्त्रालय फिर्ता आए । स्वास्थ्य मन्त्रालयमा बसेर उनले १ बर्ष बिताए, त्यसलगत्तै प्र्सुती गृहमा आए र ५ बर्ष देखी प्रसुती गृह मै छन् ।

डाक्टर भएपछि सबैभन्दा गर्व लागेको क्षण
एमडी गर्ने क्रममा गौतम प्रसुती गृहमै इन्टर्नशिप गरिरहेका थिए । त्यससमयमा एकजना एचआईभी संक्रमित महिला अस्पतालमा डेलिभरीको लागि आएकी थिइन् । बिरामी अस्पतालको क्याबिन नम्बर ८ मा भर्ना भएकी थिईन् । त्यससमयमा एचआईभी लागेको महिलालाई कसैले पनि उपचार गर्न मान्दैनथे । तर डा. जागेश्वर गएर उक्त एचआईभी पोजिटिभ महिलाको डेलिभरी गराए । उनले डबल पन्जा लगाएर उक्त महिलाको डेलिभरी गरे । त्यो क्षण सम्झँदा उनलाई धेरै खुशी लाग्छ ।

यस्तै एकपटक उनी चितवनमा काम गर्ने क्रममा एउटा महिला अस्पतालमा जचाँउन आईन् । उनले डाक्टरलाई आफ्नो रगत बगिरहने बताईन्, तर उनलाई जाँच्दा उनको रगत बगिरहने कारण देखिएन । गौतम छक्क परे । त्यसको १५ दिन पछी उक्त महिला आफ्नो श्रीमान्सँग फेरी आईन् । बल्ल श्रीमानले रहस्य खोले । महिला दुईवटा बच्चाकी आमा रहिछिन् र उनले परिवार नियोजन गरिसकेकी रहिछिन् । पहिलो श्रीमान्ले उनलाई घरबाट निकालिदिएका रहेछन् । उनले अर्को केटासँग विवाह गरिन्, तर अब बच्चा कसरी पाउने भन्ने कुराले दुविधामा पारेको रहेछ।

डा. गौतमको त्यो पहिलो परिवार नियोजन उल्टाउने अप्रेसन थियो र उनी सफल पनि भए । यसअघि उनले डा. भोली रिजाललाई २०० भन्दा बढी यस्ता अप्रेसनमा साथ दिएका थिए र त्यही क्रममा उनले उक्त विधि जानेका थिए । त्यसको एक बर्षमा उक्त महिलाले छोरा जन्माईन् र अर्को २ बर्ष पछी अर्को छोरी पनि पाईन् । त्यसरी घरबाट निकालेको महिलालाई नयाँ जिन्दगीमा साथ दिन पाउँदा आफुलाई निकै नै खुशी महसुस भएको उनी बताउँछन् ।

२७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् ।

त्यसपछी उनले परिवार नियोजन उल्टाउने विधिको मार्फत ५०० जनाको अप्रेसन गरेर बच्चा पाउन सक्ने बर्ना । यसमा उनलाई निकै नै गर्व लाग्ने गरेको बताउँछन् ।

सबैभन्दा दुःख लाग्दो क्षण
चितवनमै हुँदाको समयमा गौतमले १४–१५ बर्षको हुँदा देखी नै एक बालिकाको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछि उनको बिहे भयो र उनले छोरी पाईन् । त्यसबेला पनि उनले नै उनको नर्मल डेलिभरी गरिदिएका थिए । दोस्रो पटक पनि उनको गर्भ रहेको अवस्थामा उनी गौतमको मै जाँच्न आइन् । ४० हप्ता पुगिसकेको थियो । उनले बेथा लगाए । वार्डमा ८ वटा बेड थिए । उनी ६ नम्बरको बेडमा थिईन् । बिस्तारै सबैलाई हेर्दै गए । उनको पाठेघरको मुख ६ सेन्टिमिटर खुलेको रहेछ । केही समयमा उनको डेलिभरी हुने कुरा सुनाए। बिरामी जाँच्दै ८ औं बेडमा पुगे तर ती महिला बेहोस् भईन् ।

उनको पाठेघरमा भएको पानी रगतको नशामा गएर फोक्सोमा गएछ । कयौं प्रयास गरे, तर ती महिलालाई बचाउ सकेनन् । उनका परिवारसँग गौतमको राम्रो चिनजान थियो । उनका परिवारले अरुले आएर निहुँ खोजे, हामी हाम्रो छोरीको लास लैजान्छौं, हाम्रो छोरी त मरेर गई, तर तपाईँलाई पनि समस्या हुन्छ भन्दै उनीहरुले छोरीको लासलाई लगेर गए । यस घटनाले उनलाई अझै पिरोल्छ ।

२७ हजारको मेजर सर्जरी
२७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसमध्ये करीब ६०० जनाको ल्याप्रोसकोपीको मार्फत गरे । पाठेघर खस्ने समस्याको २५ सय भन्दा बढीको अप्रेसन गरे । उनी लेप्रोस्कोपीको माध्यमबाट नेपालमा सबैभन्दा बढी उपचार गर्ने डाक्टर मध्ये एक हुन् ।

अवकाश पछी……
गौतमको परोपकारमा अवकाश हुन अझै ३ बर्ष बाँकी छ। अवकाश पछि पनि डाक्टरी पेशालाई निरन्तरता दिएर अन्य कुनै अस्पतालमा काम गर्ने सोच छ । आफ्नो पेशालाई निरन्तरता दिदैँ उनलाई आफ्नो जीवनकथा लेख्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.