गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७४ प्रतिशत, पाँच महिनामा सम्पन्न हुनेमा आशंका

  २०७६ भदौ २ गते १९:०७     सन्तोष रोकाया


काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ७४ प्रतिशत भौतिक प्रगति भएको छ । सन् २०१९ डिसेम्वर सम्म निर्माण कार्य पूरा गर्ने लक्ष्यका निर्माण कार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले सिभिल र इलेक्ट्रो मेकानिकल गरी ८० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको जानकारी दिए । अधिकारीले ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग, १ हजार ९ सय मिटर लम्बाई र २३ मिटर चौडाईको ट्याक्सी वे, अन्तराष्ट्रिय तर्फ ४ वटा र आन्तरिकतर्फ २ वटा पार्किङ निर्माण सम्पन्न भएको बताएका छन् ।

‘समग्र रुपमा काम सकिएको छ’ उनले भने–‘छाना छाउने, कार पार्किङ, प्रवेशद्वारहरु निर्माण गर्न बाँकी छ, यदि विदेशबाट आयात गर्नु पर्ने उपकरणहरु समयमै आयो भने लिएको लक्ष्यमै हामी काम सम्पन्न गर्छौं ।’ पहिले केही प्राविधिक कारणले काम ढिला हुन गएको स्विकार्दै उनले शुरुका तीन वर्षमा एक तिहाई भन्दा कम काम भएको कारणले पनि समयमै कम हुन नसकेको बताए । सरकारले उल्लेख्य रुपमा बजेट विनियोजन गरेपनि केही प्राविधिक र उपकरणहरुको आयात ढिला हुँदा काम समयमै सम्पन्न गर्न चुनौती भएको बताए ।

तीन पटक म्याद थप
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माणको लागि तीन पटक म्याद थप गरिएको छ । तीन पटक म्याद थप गर्दा पनि निर्माण कार्य समयमै सम्मन्न हुने कुरामा आशंका थपिएको छ ।  निर्माणका लागि उपकरणहरु विदेशबाट आयात गर्नु पर्ने कारणले पनि निर्माण कार्य समय मै सकिन्छ वा सकिदैन भन्ने कुरामा आयोजना कार्यालय नै अन्यौलमा छ । आयोजना प्रमुख अधिकारी भन्छन्–‘विमानस्थल निर्माण कार्यमा बाहिरबाट आयात गर्नु पर्ने उपकरण आउँछ की आउँदैन यही आशंका छ ।’

भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रो पटक थप गरिएको हो । टर्मिनल भवनको फाइनल फिनिसिङ तथा टावर तथा अन्य पूर्वाधारको काम बाँकी रहने भएपछि जुलाईसम्म समय पाएको कम्पनीले सन् २०१९ को डिसेम्बरसम्मको समय पाएको हो ।

नेभिगेशन, कम्युनिकेशन तथा अन्य उपकरण जडानको काम अझै केही महिना लाग्ने र त्यो काम नभई कतिपय भौतिक पूर्वाधारको काम पनि नहुने भएकोले कम्पनीलाई समय थप गरिएको अधिकारीले बताए । यसअघि असारमै काम सम्पन्न गरी भदौबाट उडान शुरु गर्ने घोषणा गरेपनि थुप्रै काम बाँकी रहेकोले म्याद थप गरिएको हो । वि.स २०७१ सालबाट निर्माण शुरु भएको उक्त आयोजनाको काम २०७४ सालमा नै सक्नु पर्ने थियो ।

हालसम्म ३ अर्ब ६२ करोड खर्च
विमानस्थल निर्माणमा हालसम्म ३ अर्ब ६२ करोड रुपैयाँ अर्थात ५३ प्रतिशत वित्तीय प्रगति भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ६ अर्ब ८२ करोड बजेट लागत लाग्ने अनुमान गरिएको विमानस्थलमा हालसम्म उक्त परिमाणमा रकम खर्च भएको हो । शुरुका तीन वर्ष निर्माण कार्यमा त्यति प्रगति गर्न नसकेको बताउने आयोजनाले गत आर्थिक वर्ष २०७५/०७६ मा भने तीन वर्षकै जति प्रगति एक वर्षमै गरेर देखाएको छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६० करोड अर्थात ३६ प्रतिशत वित्तीय प्रगति भएको छ । गत आर्थिक वर्षको को कुल २ अर्ब ५ करोड बजेटमा विमानस्थलको निर्माणमा उक्त रकम खर्च भएको हो । गत वर्ष मात्रै भौतिक प्रगति २६ प्रतिशत भएको जनाएको छ । एसियाली विकास बैंकको ऋण तथा सहायतामा निर्माणधीन उक्त आयोजनाका लागि नेपाल सरकार र बैंकबीच सन् २०१० मे मा ऋण सम्झौता भएको थियो ।

के भन्छन् पर्यटन मन्त्री भट्टराई ?
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य डिसेम्बरमै सम्पन्न गराउन आफु लागि परेको बताउँछन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो विमानस्थलको काम समयमै सम्पन्न गराउनका लागि समय समयमा निर्माण कम्पनीसँग बसेर छलफल पनि गर्ने गरेको मन्त्री भट्टराई बताउँछन् ।

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ’ उनले भने, ‘त्यसमा हामी कुनै पनि कम्प्रमाइज गर्दैनौं, नेपाल सरकारबाट दिनु पर्ने दायित्वबाट पनि हामी कुनै कम्प्रमाईज गर्दैनौं, आजसम्मको काम हेर्दा समयमै सम्पन्न गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।’

विमानस्थल बनिसकेपछि त्यसको सञ्चालन, हयाण्डलिङको काम कसले गर्छ भन्ने कुराको आन्तरिक तयारीमा रहेको उनी बताउँछन् । विमानस्थललाई सञ्चालन गर्न जर्मनको युनिक कम्पनीले चासो देखाएको छ । उनीहरुसँग छलफल पनि भइसकेको उनले बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले हाल सम्मको समष्टिगत प्रगतिको विवरणमा उल्लेख गरे बमोजिम समस्याहरुमा मुख्य निर्माण कम्पनी र सहायक कम्पनीबीचको विवाद, ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका निमार्ण सामाग्री उपलब्ध गराउने क्रममा समय÷समयमा विभिन्न कठिनाईहरु आइपरेको, नेपाल विद्युत् प्राधिकरणबाट अटुट विद्युत् प्रवाह डेडिकेटेड फिडर लाइन प्राप्त गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.