३ महिनामा ९० अर्बले बढ्यो लगानी प्रतिवद्धता, स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित

  २०७६ भदौ २ गते १८:०४     राजाराम न्यौपाने

काठमाडौं । एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि अघिल्लो वर्षको तुलनामा ९० अर्बले लगानी प्रतिवद्धतामा वृद्धि भएको छ । सेवा केन्द्र सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् ।

जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र शुरु भएको हो । २०७६ जेठ १ गतदेखि भदौको १ गतेसम्म १ खर्ब ७ अर्ब ५० करोड ८० लाखको लगानी प्रतिद्धता आएको छ भने २०७५ जेठ १ गतदेखि भदौको १ गतेसम्म १७ अर्ब ३३ करोड ७० लाखको लगानी प्रतिद्धता आएको थियो । सरकारले विदेशी तथा विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा उद्योगमा स्वदेशी तथा विदेशी लगानी वृद्धि हुँदै गएको हो ।

उद्योग विभागको तथ्याङ्क अनुसार एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि (२०७६ जेठ १ गतेदेखी भदौ १ गते सम्म) १ खर्ब ७ अर्ब ५० करोड ८० लाखको लगानीमा ८५ वटा उद्योग दर्ता गर्ने प्रतिबद्धता आएको छ । गतवर्ष (२०७५ जेठ १ गतेदेखी भदौ १ गते सम्म) १७ अर्ब ३३ करोड ७० लाखको लगानीमा ९९ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो ।

लगानीमा वृद्धि भएपनि उद्योगको संख्यामा भने कमि आएको छ । अघिल्लो वर्ष ९९ उद्योग दर्ता प्रतिवद्धता आएको थियो भने यो वर्ष ८५ वटा मात्रै उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष रोजगारी प्रतिवद्धतामा पनि कमि आएको छ । अघिल्लो वर्ष ६ हजार ६३५ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको थियो भने यो वर्ष ४ हजार ७२२ जनालाई मात्रै रोजगारी प्रतिवद्धता आएको छ ।

उद्योग विभागमा लगानीका विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । उर्जामूलक, पर्यटनमूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा दर्ता भएका विदेशी लगानीका उद्योगमा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका छन् । विभागमा दर्ता भएका विदेशी लगानीका ८५ उद्योगमध्ये उर्जामूलक क्षेत्रमा २५ वटा छन् । पर्यटनमूलक र उत्पादनमूलक उद्योग २०/२० वटा दर्ता भएका छन् । यसैगरी, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ६ वटा, सेवामूलकमा ९ वटा र कृषिजन्यमा ५ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख विनोदप्रकाश सिंहले सेवाकेन्द्र संचालनमा आएपछि उद्योग दर्ता सहज र सरल तरिकाले उद्योग दर्ता भएकाले लगानीमा वृद्धि भएकोे बताए । उनले प्रक्रिया र डकुमेन्ट पूरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको बताए । सबै काम एकै ठाउँबाट हुने भएकाले पनि उद्योग दर्तामा आकर्षण बढेको बताए ।

२०४९ साल देखी एकल विन्दु सेवाकेन्द्रको अवधारणा आएपनि जेठ १ गते देखि सञ्चालनमा आएको हो । उद्योगी उमेशलाल श्रेष्ठले पछिल्लो समयमा उद्योग क्षेत्रमा लगानी प्रतिवद्धता वृद्धि हुनुमा लगानी सम्मेलन र देशमा उद्योगको विकास नभै हुँदैन भन्ने भावको विकास भएकाले पनि उद्योग दर्ता वृद्धि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.