चट्याङ लागेर ६१ भेडा मरे, १० लाख बराबरको क्षति

  २०७६ भदौ १ गते १४:५१     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिएका छन् ।

सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करिब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.