मकवानपुरगढीको विकास निर्माणमा प्रदेश ३ सरकारको पाँच करोड

  २०७६ भदौ १ गते १३:२९     विकासन्युज

हेटौंडा । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको विकास निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लागि प्रदेशसरकारले मकवानपुरगढी गाउँपालिकालाई रु पाँच करोड ३७ लाख उपलब्ध गराएको थियो ।

उक्त रकममध्ये ऋषेश्वर गुफा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माणमा रु एक करोड, शहीद रुद्र स्मृति उद्यान निर्माणमा रु ८० लाख, मकवानपुरगढी दरबार क्षेत्रमा गोलघर निर्माणमा रु ५० लाख, मकवानपुरगढी दरबार जाने बाटो निर्माणमा रु ३० लाख, दरबार जीर्णोद्वार तथा पुनःनिर्माणमा रु ४० लाख, पिप्ले–गढी मोटरबाटो निर्माणमा रु ५० लाख विनियोजन गरिएको थियो ।

यसैगरी, खानेपानी आयोजनामा रु ५० लाख, सामारी पुल–रानीशेरा पर्यटकीयमार्ग निर्माणमा रु ३० लाख, शहीद बासुदेवमार्ग निर्माणमा रु ५० लाख उपलब्ध गराइएको थियो ।

त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकाको पोषण सुधार तथा स्वास्थ्य संस्था सुशासन अभिवृद्धि, पूर्ण संस्थागत प्रवद्र्धन तथा प्रसूति केन्द्र निर्माण, स्वास्थ्य संस्था अभिवृद्धि र महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य कार्यक्रमा रु ११ लाख उपलब्ध गराइएकामा सबै पूर्वाधार सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् । एम्बुलेन्स एम्बुलेन्स खरिदका लागि रु १६ लाख छुट्याइएकामा एम्बुलेन्स भने खरिद हुन नसकेको उनको भनाइ थियो ।

कृषि उत्पादनमा फड्को मार्दै

मकवानपुरगढी गाउँपालिका व्यावसायिकरूपले आधुनिक कृषितर्फ उन्मुख हुन थालेपछि उत्पादनसमेत वृद्धि हुँदै गएको छ । कृषिबाटै समृद्ध हुने उद्देश्यले यसलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिएका छन् । प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्र सञ्चालनको तयारी गर्नाका साथै पशु आहाराका लागि दाना उद्योग सञ्चानको तयारी भइरहेको उनको भनाइ थियो ।

दूध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको यस गाउँपालिकामा सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध सङ्कलन हुने जनाइएको छ । यसबाट मासिक रु एक करोड ५५ लाख भित्रिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर परियारले जानकारी दिएका छन् ।

उक्त गाउँपालिकामा हाल ३० ठूला गाईपालन केन्द्र सञ्चालन हुँदै आएको छ । थोरै गाई तथा भैँसीपालन गर्ने किसान अत्याधिक रहेपनि उनीहरुको अभिलेख भने नगरिएको बताइएको छ । मालभोग जातको केरा अधिक उत्पादन हुने यस क्षेत्रमा आधुनिक खेती प्रणालीमार्फत दैनिक लाखौँको तरकारीसमेत बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । यसैगरी राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने अधिकृत परियारले बताएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.