मुख्यमन्त्री पौडेलले किसानकै घरमा पुगेर भने-‘सहजरूपमा बिक्रीबितरणको वातावरण बनाउँछौँ’

  २०७६ भदौ १ गते १०:००     विकासन्युज


हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरकाका विभिन्न कृषि फर्महरुको अवलोकन गरेका छन् । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय किसानहरुसंग छलफल समेत गरे ।

छलफलका क्रममा मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । मुख्यमन्त्री पौडेलले किसानहरुका तमाम समस्याहरु समाधान गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।

अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी गाउँपालिकाले आधुनिक कृषि प्रणाली अवलम्वन गरेर समृद्धिको मार्ग लिएको धारणा राखे । गढीगाउँपालिका पशुपालनमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे ।

किसानहरुले लगाएको विभिन्न प्रजातिको घाँसहरु, गाईपालन केन्द्र, दुग्ध सङ्कलन केन्द्रहरु अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले गढी गाउँपालिका आफूले विगतमा देखेको र हाल सोचेको भन्दानिक्कै नै समृद्ध पाएको बताए ।

अवलोकनको क्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरगढी ३ मा रहेको दाहाल कृषि तथा पशु पालन फारम, सोही वडाको सुजल गाई फारम, देवीडाँडागाई फारम, मनकामना दुग्ध उत्पादक सहकारी संस्था तथा हेटौंडा ६ मा रहेको मञ्जुश्री आधुनिक फूल एवम् तरकारी खेतीमा पुगेका थिए ।

अवलोकनका क्रममा मुख्यमन्त्री समक्ष किसानहरुले आफूले भोग्दै आएका समस्याहरु सुनाएका थिए । मुख्यमन्त्री पौडेलले किसानहरुको उत्पादन सहजरूपमा बिक्रीबितरण गर्ने वातावरण प्रदेश सरकारले मिलाउने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.