नेपाल बैंकलाई सीईओ पाउनै कठिनः विज्ञापन भएको १६ दिनमा २ मात्रै आवेदन, अब के हुन्छ ?

  २०७६ साउन ३१ गते १८:५३     विकासन्युज

काठमाडौं । निजी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रिक्त हुने केही महिना अगाडिदेखि नै पदका लागि दौडधूप र लविङ शुरु हुन्छ । सरकारी स्वामित्व रहेको नेपाल बैंकमा भने यस्तो देखिएन । देशकै जेठो बैंकले सीईओ नपाएपछि साउन १५ गते विज्ञापन नै गर्यो । तर, विज्ञापन पछिको यो १६ दिनमा पनि दुई मात्रै आवेदन परेको छ ।

नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले अझै मंगलबार (भदौ ३ गते) सम्म आवेदन दिने समय भएको बताए । ‘अझै समय छ, आवेदन आउन सक्छ, हामीले आवेदनमा निवेदकको व्यक्तिगत विवरण सहित व्यवसायिक योजना समेत माग गरेका छौं,’ उनले भने -‘अझै तीन दिन समय छ ।’ आवेदन थपिनेमा म आशावादी छु ।’ नेपाल बैंकमा सीईओ बन्नेले मासिक ३ लाख पारिश्रमिक र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाउने छन् ।

आवेदन खोलेर हेर्न मिल्दैन, बोर्डले खोल्ने हो, भण्डारीले प्रतिउत्तर दिए, बुधबारमात्रै थाहा हुन्छ ।’ नेपाल बैंक लिमिटेडमा विगत ५ महिनादेखि सिईओ पद रिक्त छ । २०७५ चैत ११ मा बैंकका सिईओ देवेन्द्रप्रताप शाहको चार वर्षे कार्यावधि सकिएको हो । प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पद खाली रहँदा पनि कसैले चासो नदेखाएपछि पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

उक्त बैंकमा सीईओ बनेर काम गर्न चाहने योग्य व्यक्तिलाई भने राष्ट्र बैंकको निर्देशिकाले बार लगाएको छ । सनराइज बैंकबाट सीईओको कार्यावधि सकिएर बसेका रत्नराज ब्रजाचार्यले नेपाल बैंकको उक्त पद सम्हाल्ने आशय व्यक्त गरेपनि राष्ट्र बैंकको कुलिन पिरेडले उनलाई छेकेको हो । राष्ट्र बैंकले एउटा बैंकमा व्यस्थापकीय जिम्मेवारी बोकेको मान्छे ६ महिनासम्म अर्को बैंकमा गएर सोही जिम्मेवार सम्हाल्न नपाउने व्यवस्था गरेको छ ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीले आएका आवेदनमा छलफल गरी आवश्यकता अनुसार आवेदन नपर्नु अर्थात थोरै पर्नुको कारण खोजी पुनरावोकल गर्ने बताए । आवेदन दिने समयावधि सकिएपछि परेका आवेदन र व्यवसायिक योजनामाथि छलफल गर्छौँ,’ अध्यक्ष अधिकारीले भने- ‘आवेदनमा चित्त बुझाउन नसके विकल्प समेत खोज्नु पर्ने हुन्छ ।’

ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ शास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.