परिश्रमी शामर्थ ढुंगानाः ‘तरकारी सप्लायर्सदेखि कृषि फर्मको सञ्चालकसम्म’

  २०७६ साउन ३१ गते १६:१७     सुनिता पुडासैनी


काठमाडौं । काठमाडौंको कालिमाटी स्थित फलफूल तथा तरकारी बजार भित्र धेरै मानिसहरु व्यस्त देखिन्छन् । कोही तरकारी किन्नमा त कोही बिक्री गर्नमा व्यस्त हुन्छन् । त्यही व्यस्त मानिसहरुको भीडमा भेटिन्छन् शामर्थ ढुंगाना ।

उनी मिहेनती छन्, त्यही मिहेनतले उनलाई सफलताको बाटोमा अग्रसर गराएको छ ।वि‍.स. २०६० सालदेखि कालिमाटीमा ढुंगाना फुड्स एण्ड भेजिटेबल सप्लायर्स मार्फत तरकारी बिक्री वितरणका काम गर्दै आएका उनी अहिले तरकारी फर्म नै सञ्चालन गरेका छन् । पहिला अरुसँग तरकारी किनेर बेच्ने शामर्थ अहिले आफ्नै फर्ममा उत्पादित तरकारी बिक्री वितरण गर्छन् ।

लगानी र उत्पादनकाे अवस्था
तरकारी सप्लायर्सको काम शुरु गरेको १४ वर्षपछि अर्थात विसं २०७४ साल शामर्थ सहित ५ जनाको लगानीमा कृषि फर्म सञ्चालन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २३ मधुपुरीमा २० विघा क्षेत्रमा कृषि फर्म चलाइएको छ । उक्त फर्ममा ५ जनालाई प्रतिव्यक्ति १० लाखको दरले लगानी गरेका छन् । ५० लाखको लगानीमा सञ्चालित कृषि फर्मको नाम ढुंगाना एग्रिकल्चर प्रोडक्ट प्रा लि राखिएको छ । उक्त फर्म सञ्चालनको नेतृत्वदायी भूमिका पनि उनै शामर्थले गर्दै आएका छन् ।

कृषि उत्पादनको वितरण मात्र गरेर भन्दा आफैँले उत्पादन गरेर बिक्री गरेमा व्यवसायिक उन्नति गर्न सकिने सोचका साथ कृषि फर्म सञ्चालन गरेको उनी बताउँछन् । उनी सहितको समूहले सञ्चालन गरेको उक्त कृषि फर्मबाट अहिले दैनिक ४ टन तरकारी बिक्री वितरण हुँदै आएको छ । उक्त कृषि फर्ममा फर्सी, काउली, बन्दा, मुला, लौका, गोलभेडा, सिमी, बोडी, करेला, काँक्रो, खुर्सानी, भ्यान्टा जस्ता तरकारी खेती हुँदै आएको छ । दैनिक ४० देखि ५० जना कामदारले उक्त कृषि फर्ममा काम गर्दै आएका छन् । सो फर्मबाट प्रति महिना न्युनतम ५ लाखदेखि २० लाखसम्म आम्दानी गर्दै आएको शामर्थ बताउँछन् ।

बजारको अवस्था र चुनौती
चितवन स्थित फर्मबाट उत्पादित तरकारी कालिमाटी तरकारी तथा फलफुल बजारमा नै ल्याएर बिक्री वितरण गर्ने गरिएको छ । कहिलेकाँही नारायणगढ, पोखरा, नुवाकोट, धादिङसम्म पनि लैजाने गरिएको छ ।

शामर्थ भन्छन्–‘जुन ठाउँबाट माग आयो, त्यही ठाउँमा लगेर बिक्री गर्छौँ ।’ सरकारी स्तरबाट नै किसानले उत्पादन गरेको तरकारीको मूल्य निर्धारण तथा कृषियोग्य जमिन छुट्याउनु पर्ने उनको उनको तर्क छ । समय-समयमा मल, विऊ, औषधी नपाइने समस्याले किसानहरु समस्यामा पर्ने गरेको उनी बताउँछन् ।

के छन् आगामी योजना
प्रदेश सरकारसँग सहकार्य गरी आफ्नो तरकारी व्यवसायलाई सातवटा प्रदेशमा नै पुर्याउने लक्ष्यका साथ अगाडि बढिरहेको शामर्थले बताए । केही समयपछि पशुपालन क्षेत्र तर्फ पनि लाग्ने योजना छ । युवापुस्ताहरुले घरजग्गामा पैसा लगानी गर्ने तर उत्पादनशील क्षेत्रमा लगानी नभएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । वि.स २०४३ साल भदौ ४ गते धादिङ जिल्लाको खाल्टे भन्ने गाँउमा जन्मिएका हुन् शामर्थ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.