माटाका भाँडा बनाउने पेशा सङ्कटमा, जोगाउने प्रयासमा उपमहानगरले छुट्यायो २० लाख

२०७६ साउन ३१ गते १५:०८ रीता लामा

घोराही । दाङमा थारु कुमाल समुदायले परापूर्व कालदेखि अपनाउँदै आएको माटाका भाँडाकुँडा बनाउने पेशा सङ्कटमा परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ पर्सेनी र गढवा गाउँपालिकाका विभिन्न स्थानमा कुमाल समुदायको बसोवास छ र माटोको भाँडा बनाउने उनीहरुको पुर्ख्यौली पेशा हो ।

सरकारले कुमाल समुदायको यो पेशाको जगेर्ना गर्न तुलसीपुरको पर्सेनीमा माटाका सामग्री बनाउने आधुनिक मेसिन दिएको छ । सरकारले मेसिन दिएको एक वर्ष भन्दा बढी भयो तर पनि उक्त मेसिन सञ्चालनमा आउन सकेको छैन ।

नयाँ पुस्ताले यो पेशातर्फ चासो नदिँदा र पुराना पुस्तालाई यस्ता मेसिन चलाउने जानकारी नहुँदा मेसिन सञ्चालनमा नआएको त्यहाँका स्थानीयवासीहरु बताउँछन् । उनीहरुका अनुसार गरिबी निवारण कोषले एक वर्ष अघि करिब ६ लाख मूल्य बराबरको माटाको भाँडा बनाउने आधुनिक मेसिनहरु उपलब्ध गराएको हो । माटाका भाँडा बनाउन सजिलो र छिटो होस् भनी कोषले एक वर्ष अघि मेसिन उपलब्ध गराएको थियो ।

स्थानीयवासी प्रेम कुमालका अनुसार गाउँमा कसैले पनि मेसिन प्रयोग गर्न नजाने पछि मेसिन थन्किएको हो । उनले भने – “एकपटक चिया कप, प्लेट, घैँटा बनाएका थियौँ । तापक्रम नमिलेर सबै खेर गए । मेसिन जडान त भयो तर, अलि राम्रोसँग चलाउने शीप पनि पाएको भए सहज हुने थियो ।” गाउँवासीलाई सरकारले माटो पेल्ने मेसिन, स–साना भाँडा बनाउने र ठूला भाँडा पोल्ने मेसिनहरु दिएको उनले जानकारी दिएका छन् ।

वर्षौंदेखि माटाका भाँडा बनाएर जीवन बिताइआएका तुलसीपुरका ६२ वर्षीय गोपाल कुमाल भने आवश्यक माटो नहुँदा भाँडा बनाउन समस्या भएको बताउँछन् । “भाँडा बनाउने उपयुक्त माटो छैन, हामीलाई माटोको व्यवस्था कसले गरिदने रु” उनले भने – “हामीहरुको आफ्नो जग्गा पनि छैन । अरुको जग्गामा माटो निकाल्नै दिँदैनन् ।”

आफूहरुको पेशालाई ध्यानमा राखेर स्थानीय सरकारले माटोको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । यस्तै, नयाँ युवा पुस्तालाई शीप प्रदान गरी यो पेशा संरक्षण गर्न सबै पक्षबाट सहयोग भए राम्रो हुने उनले बताए ।

यो परम्परागत पेशाबाट आयआर्जन नहुने भए पछि पछिल्लो पुस्ता यो पेशातिर नलागेर अन्य पेशा गर्दै आएको कुमाल समुदायका अगुवाहरु बताउँछन् । डुरुवाका ७२ वर्षीय दिलबहादुर कुमालका अनुसार आफूले सानैदेखि गर्दैआएको पेशालाई आफ्ना छोराछोरीहरुले हिजोआज गर्न मानेका छैनन् ।

माटाका भाँडा बनाउन नमान्ने छोराछोरीले आफूलाई पनि पटक पटक नगर्न आग्रह गरेको उनी बताउँछन् । उनले भने – “छोराछोरीले यो शीप सिक्नै मान्दैनन, बरु उल्टै मलाई यस्तो काम गर्नुहँुदैन भनेर हकार्छन् ।”

अहिले गाउँमा कुनै पनि युवा यो पेशा गर्न राजी छैनन् । अहिले त्यहाँ गाउँभरिका १८ जनाले मात्र माटाका सामग्रीहरु बनाउन जानेको भए पनि पछिल्लो समयमा नौ जनाले काम गर्न छाडेको उनले बताए । यसरी काम छोड्दै गए एक दिन यो पेशा नै बिलाउने उनको चिन्ता छ ।

हिजोआज बजारमा सबैजसो सामान प्लाष्टिकमा पाइन्छ । दूध, तेल, पानीदेखि हरेक प्रकारका सामान प्लाष्टिकमा पोको पारेर बजारमा पठाइन्छ । त्यति मात्रै होइन घरमा प्रयोग गरिने गाग्री, कचौरा, थाल जस्ता अधिकाँश सामान सबै प्लाष्टिकको पाइन्छ ।

पछिल्लो समय बजारमा आएको प्लाष्टिकका सामग्रीहरुले माटाका सामग्रीहरुको ठाउँ लिएको तुलसीपुर पर्सेनीकी शान्ति कुमालले बताएका छन् । सरकारले बजारमा पाइने प्लाष्टिक सामानलाई भित्रिन रोक्नुपर्ने उनले बताए ।

यता दाङ देउखुरीको गढवा गाउँपालिकाले भने त्यहाँका स्थानीयवासीलाई आधुनिक भट्टीमा भाँडा बनाउने शीप सिकाउँदै आएको छ । अहिले गढवा गाउँपालिका वडा नं ३ खैराका कुमाल समुदायका कुल ५४ घरधुरीमध्ये २५ घर व्यावसायिक रुपमै माटाका भाँडा बनाउने काममा संलग्न रहेका छन् ।

स्थानीयवासी चुन्नुराम थारुका अनुसार परम्परागत ढङ्गले तयार गरेका भट्टीमा माटाका भाँडाहरु बनाउँदा दाउरा, पराल, माटो, समय र मेहनत निकै धेरै लाग्छ तर, आधुनिक भट्टीमा बनाउँदा जम्मा दुई भारी दाउरामा ३०० भन्दा बढी गमलाहरु तयार गर्न सकिन्छ ।

पछिल्लो समय माटाका भाँडा बनाउने पेशा लोप हुँदै जान थालेको भन्दै गढवा गाउँपालिकाले यो पेशालाई प्रर्वद्धन गर्न थालेको छ । गढवामा कुमाल समुदायको घर–घरमा माटाका भाँडा बनाउने प्रविधिको संरक्षणसँगसँगै आधुनिक ढङ्गले सामान बनाउने शीप विकास गर्न थालेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

गढवा गाउँपालिकाको वडा नं १ को पत्रिंगा, बनघुस्री, वडा नं ३ को खैरा, वडा नं ६ को कुमाल गाउँ गरी चार गाउँहरुमा माटाका भाँडा बनाउने आधुनिक मेसिन वितरण गरिएको छ ।

थारु तथा कुमाल समुदायले आयआर्जन लागि अपनाउँदै आएको माटाका भाँडा बनाउने परम्परागत पेशामा नयाँ पुस्ताले खासै चासो नदिएका कारण गाउँपालिकाले यो अभियान थालेको अध्यक्ष यादव बताउँछन् । उनले भने – ‘यस वर्ष गढवा गाउँपालिका वडा नं ३ ले १४ लाख, सहकर्मी समाजको ३ लाख र स्थानीयवासीको २ लाख बराबरको श्रमदानबाट खैरा गाउँमा माटाका भाँडा पोल्ने आधुनिक भट्टी निर्माण गरिएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातिको यो पेशा संरक्षणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्टाएर काम गर्ने योजना बनाएको कार्यापालिका सदस्य दीपक कुमालले बताए । रासस