पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ‘लक्ष्यभन्दा ६ महिना अगावै सकिन्छ काम’

  २०७६ साउन ३१ गते १०:०८     विकासन्युज


काठमाडौँ । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य रफ्तारमा भइरहेको छ । हालसम्म विमानस्थलको भौतिक प्रगति ४२ प्रतिशत भएको छ । विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन, ट्याक्सी पार्किङ, नाला लगायतका संरचनाहरु निर्माणको काम सम्पन्न भएको भइसकेको छ ।

आर्थिक वर्ष २०७८/०७९ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको र चालु आर्थिक वर्षमा ७० प्रतिशत भन्दा बढी काम सकिने गरी काम भइरहेको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए । अहिले विमानस्थल निर्माण कार्यमा ४ सय ५० जना खटिइरहेका छन् ।

करिब २२ सय करोड लगानीमा निर्माण हुने विमानस्थलको हालसम्म ६ सय करोड वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा आयोजनाका लागि ६ सय ३० करोड विनियोजन गरिएको थियो, जसको ६९ प्रतिशत अथवा ४ सय ३५ करोड बजेट खर्च भएको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपाल सरकारको स्रोतबाट ५० करोड छुट्याएको थियो, त्यसको ८५ प्रतिशत अथवा ४२ करोड वित्तीय प्रगति नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्नेछ । चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले सन् २०१४ मे मा विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।

अन्तराष्ट्रिय उडड्यन संस्था(आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७ सय ५७ एयरबस वा सो सरहका जहाज आवतजावत गर्न सक्ने प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए ।

पौड्यालले हाल आयोजना कार्यान्वयनमा आउटर पेरिफेरी रोडको लागि अधिग्रहणमा परेको जग्गामा सुकुम्वासीलाई हटाउन, आयोजना सञ्चालनमा आवश्यक फ्युल फाम र डेडिकेटेड फिडर लाईनको ब्यबस्था हुन समय लाग्ने लगायतका समस्याहरु रहेको बताए । उनले स्थानीय वडा कार्यालयसँग समन्वय गरी सुकुम्वासी व्यवस्थापनको लागि पहल गरिएको र फ्युल फामको लागि नेपाल आयल निगमलाई हाल १४ रोपनी जग्गामा कार्य गर्न पत्राचार गरेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले केही दिन अघि मात्रै विमानस्थलको अनुगमन गरेका थिए । अनुगमनपछि विमानस्थलको काम सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् ।

पोखरा विमानस्थलको कार्य तीव्र गतिमा भइरहेको छ, उनले भने-‘सन् २०२१ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य रहेको छ, यदि अहिलेकै अवस्थामा काम निरन्तर भयो भने हामी लक्ष्य भन्दा ६ महिना अगाडि नै काम सम्पन्न गरी सक्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.