खुट्टा एउटा मात्रै भए पनि सुन्दर नृत्य गर्ने सरिताको डाक्टरलाई प्रश्न, ‘म बाँच्दिन भन्नु भएको होइन ?’

  २०७६ साउन ३१ गते १३:३५     विकासन्युज

काठमाडौँ । फुलबुट्टे गुन्यु र रातो चोली । शिरमा रातो फूल अनि शिरबन्दी। हातमा बैशाखी र मुहारमा मीठो मुस्कान । एकजना महिलाको सहयोगमा उनी स्टेजको बीच भागमा आईपुगिन् । नेपथ्यमा गीत बज्यो ‘मै छोरी सुन्दरी, कसरी भरु पानी ।’

सँगै आएको सहयोगी बहिनीले उनको बैशाखी स्टेजबाट आँफैसँग लगिन् । अनि त्यहाँ जे देखियो, त्यसले सबैको मनलाई एउटा खुशीको अनुभूति गरायो ।

नेपाल क्यान्सर अस्पतालले केही दिन अघि आयोजना गरेको चाईल्ड र्याम्प शो कार्यक्रममा देखिएको दृश्य हो यो ।

संसारमा यति धेरै मानिसहरु छौं, जो आफ्नो खुट्टा राम्रो अवस्थामा हुँदाहुँदै पनि नाच्नलाई राम्रोसँग खुट्टा चलाउन जान्दैनौं । तर, ती बहिनीले यसरी नाचिन कि सायद कहिले पनि ननाचेको व्यक्तिलाई पनि नाँचौ नाँचौ भयो ।

एउटा खुट्टा नभएकी र भएको एउटा खुट्टा कै सहारामा कार्यक्रममा उपस्थित दर्शकहरुको मन लोभ्याउने ती व्यक्ति हुन् सरिता मगर । धादिङ जिल्ला घर भएकी १८ वर्षीय सरितालाई १० बर्षको हुँदा एक्कासी बायाँ खुट्टामा गाँठा आयो । उनको सम्झना अनुसार त्यो चैते दशैँको समय थियो। गाँठो आएपनि केही असजिलो भएको थिएन । तर पनि उनले आफ्नो आमासँग नजिकैको सानो अस्पतालमा गएर जाँच गराईन् । १ महिनासम्म कुरिन्, तर रिपोर्ट नै आएन । उनको बुवाआमालाई डर लाग्यो । त्यसैले उनीहरु समय मिलाएर जाँच गराउन काठमाडौं आईहाले ।

सबैभन्दा पहिला उनी कान्ति बाल अस्पताल आईन् । त्यहाँबाट उनलाई टिचिङ अस्पतालमा रिफर गरियो । अस्पतालले सरिताको खुट्टाको क्यान्सर भएको घोषणा गर्यो । सायद सरिता र उनका आमबुबाले यो कुरा सोचेकै थिएनन् । खुट्टामा क्यान्सर भएको थाहापाएपछि सरिताकी आमा रुइन्, आमसँगै सरिता पनि रोइन्, अस्पतालले सरिताको खुट्टा काट्नु भन्ने सल्लाह दियो, तर सरिताका आमाबुवालाई आफ्नो छोरीको खुट्टा त्यति सजिलै काट्न मन लागेन ।

त्यसैले उनीहरु पहिला औषधी उपचारबाट प्रयास गरौं भन्ने मनसाय लिएर भरतपुर अस्पताल पुगे । औषधी मार्फत उपचार गर्ने क्रममा अन्त्यमा सरिताले आफ्नो खुट्टा काट्नु पर्यो र २ बर्ष पछि १२ बर्षको उमेरमा धुलिखेल अस्पतालमा उनको खुट्टा काटियो ।

उपचारको क्रममा एकपटक उनी बाँच्छिन् भनेर परिवार र आफन्त सबैले आशा गुमाइसकेका थिए । डाक्टरले पनि अब उनी बाँच्छिन् भन्ने आशा नगर्नु भनेका थिए । सरिता भन्छिन्, ‘गाउँघरको सबैले यो त मर्छे भनेका थियो, तर आमाले मात्र हरेस खानु भएको थिएन ।’ तर आज उनी स्वस्थ छिन् र बाँचिरहेकी छिन् । सबैले उनलाई दोस्रो जन्म लिएको भन्छन् ।

उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको डाक्टरलाई सोध्छिन्-‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् ।

सरिताको बुवा आमा तरकारी खेती गर्छन् । उपचारको क्रममा उनीहरुको लाखौँ खर्च भयो । आमाबुवाले धेरैसँग सापटी लिएर उनको उपचार गराइ छाडे । उनका काका र मामाहरुले पनि उनको उपचारमा धेरै सहयोग गरेको उनी बताउँछिन् ।

उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको बेला डाक्टरलाई भेट्छिन् । डाक्टरलाई सोध्छिन् –‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् । सरितालाई पहिला पहिला मानिसहरुसँग बोल्न, घुलमिल हुन साह्रै गार्हो लाग्थ्यो, तर उनलाई अहिले कसैसँग पनि बोल्न डर लाग्दैन । उनले साथी पनि काठमाडौं आएर धेरै बनाईसकेकी छिन् । यस्तै उनी समय समयमा आफै नै भरतपुर अस्पतालमा फलोअपका जान्छिन् ।

सरिता अहिले चाबाहिलको होस्टलमा बस्छिन् । त्यहाँ उनी जस्ता धेरै बालबालिकाहरु छन् । चाबाहिलको सुप्रिम ईन्टरनेसनल स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी सरितालाई फिल्ममा खेल्ने ठूलो ईच्छा छ । उनले ८ बर्षको उमेरमा पहिलो पटक फिल्म ‘गोर्खा पल्टन’ हेरेकी थिईन् । त्यसपछी उनलाई फिल्म खेल्ने ठूलो ईच्छा जाग्यो । बाँया खुट्टा काट्ने बेला उनलाई आफ्नो सपनाको खुब माया लागेर आयो । उनलाई अब आफ्नो सपना त्याग्नु बाहेक बिकल्प देखेकी थिईनन्, तर अहिले उनलाई त्यस्तो लाग्दैन । त्यही सपनालाई पूरा गर्न अहिले सरिता नृत्यलाई आत्मासाथ गरेर अगाडि बढ्ने कोसिसमा छिन् । उनी एउटा खुट्टा कै सहारामा फिल्मी क्षेत्रमा आफ्नो पाइला राख्न चाहन्छिन् ।

सरिता बर्षमा एकपटक घर जान्छिन् । उनलाई सबैले माया गर्छन् । उनलाई सानासाना भाईबहिनीले जिस्काउने गर्छन्, तर बालबालिकाको बोलीले कत्ति पनि चित्त दुखाउँदिनन् । उनलाई आफ्नो खुट्टा काटिनु परेकोमा पनि केही दुःख छैन । उनी भन्छिन्, ‘मलाई कहिले अरु भन्दा कमजोर महसुस भएन किनभने म उनीहरु भन्दा चाँडो हिंड्न सक्छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.