अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठीमा बैंक र बीमा क्षेत्रको अवस्थाबारे छलफल

  २०७६ साउन ३० गते १०:३९     विकासन्युज


काठमाडोँ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि.(बीएफआईएन)को प्रथम वार्षिकोत्सव बुधबार राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ ।

वार्षिकोत्सव कै अवसरमा संस्थाले होटलको रिजेन्सी हलमा अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी २०१९ सम्पन्न गरेको छ । उक्त अवसरमा बीएफआईएन र भारतका प्रतिष्ठित संस्थाहरु बिर्ला इन्स्टिच्यूट अफ म्यानेजमेन्ट तथा केयर एड्भाइजर रिसर्ज एण्ड ट्रेनिङ लिमिटेड(सीएआरटी) वीच आगामी दिनहरुमा मानव संसाधन विकास तथा क्षमता अभिवृद्घि सम्वन्धी संयुक्त कार्यक्रम गर्ने समझदारी पनि भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले वर्तमान परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम व्यवस्थापन अत्यन्त सान्दर्भिक र चुनौतिपूर्ण भएको तथा बीएफआईएनले अन्तर्राष्ट्रिय जोखिम व्यवस्थापन कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिए । केन्द्रीय बैंकले आवश्यक नीति नियम र निर्देशनहरु जारी गरेको र तिनलाई पालना गरेर तथा संस्थागत सुशासन कायम गरेर नै जोखिम व्यवस्थापन गर्न सकिन्छ–गभर्नर नेपालले भने ।

उक्त अवसरमा बीआईएमटीईसीएचका प्राध्यापक चंचल कु््शवाहा, सीएआरटीका सीईओ संजीतकुमार तथा एक्जिम बैंक इण्डियाका डीजीएम दीपक भाटियाले बीएफआईएनसँग मिलेर काम गर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुका करीव २५० जना प्रतिनिधिहरु सहभागी उक्त कार्यक्रममा जोखिम, वित्तीय क्षेत्रको आधुनिकिकरण र जोखिम व्यवस्थापन सम्वन्धी छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा गोष्ठीमा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी, यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे बिर्ला इन्स्टिच्यूट अफ म्यानेजमेन्ट टेक्नोलोजीका प्राध्यापक मनोकुमार पाण्डे र एक्जिम बैंकका सहायक महाप्रबन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रसंग सम्वन्धित जोखिमहरुबारे नेपाल इन्भेष्टमेण्ट बैंक लि.का नायव महाप्रवन्धक विजेन्द्र सुवाल र मेगा बैंक नेपाल लि.का नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा वीमा क्षेत्रसंग सम्वन्धित जोखिमहरुबारे नेपाल लाईफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आ-आफ्नोे धारणा राखेका थिए ।

सो कार्यक्रमलाई प्रमुख सुत्रधारका रुपमा बीएफआईएनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले संचालन गरेका थिए भने भारतबाट आएका बैंक तथा वित्तीय क्षेत्रका विज्ञ एस.श्रीधरले बैंक तथा वीमा क्षेत्रको जोखिमहरुबारे चर्चा गरेका थिए । केयर रेटिङ्गस् नेपाल लि.का प्रमुख कार्यकारी अधिकृत साजन गोयलले जोखिम र रेटिङ्ग बीचको अन्तरसम्वन्धवारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.