मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने वेभसाईट बारे छलफल

  २०७६ साउन २९ गते १७:२४     विकासन्युज


काठमाडौँ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर(एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्धारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु र पत्रकारहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) का अध्यक्ष तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने योजना बनाइरहेकाहरु तथा वैदेशिक रोजगारको क्रममा रहेकाहरुलाई मद्दत गर्ने उद्धेश्यले रिक्रुटमेण्ट एडभाइजर मार्फत काम गरिएको बताए ।

उनले छिट्टै पुग्ने भए एक्लै दौडिनु र सफलता प्राप्त गर्ने भएमा संगसँगै हिड्नु आवश्यक रहेको भन्दै ट्रेड युनियनहरुले सहकार्यमा विश्वास राख्ने बताए । उनले वैदेशिक रोजगार नेपालका लागि दीर्घकालीन नभई अल्पकालीन रोजगारीको उपाय मात्र भएको भन्दै यसलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ट्रेड यूनियनहरु, सरकार तथा गैरसरकारी संघसंस्थावीचमा मजबूत सहकार्यको खाँचो औंल्याए ।

अध्यक्ष श्रेष्ठले जिफन्टले सन् १९९३ देखि दक्षिण कोरियाबाट शुरु गरेको गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई संगठित गर्ने काम हाल बिस्तार भएर खाडीका अधिकांश मुलुकहरु, मलेशिया लगायतमा पुगेको बताए । श्रमिकलाई संगठित गरेर आन्दोलन गर्ने नभई सोही मुलुकमा कृयाशिल ट्रेड यूनियनको सदस्य बनाउँदै वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउनु जिफन्टको उद्देश्य रहेको उनको भनाई थियो ।

कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मणबहादुर बस्नेतले रोजगारीका लागि कामदार पठाउने मुलुकहरु एक नभएसम्म खाडीका मुलुकहरुलाई श्रमिकमैत्री कानून, नियम बनाउन बाध्य बनाउन नसकिने धारणा राखे । उनले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले अझ धेरै काम गर्न जरुरी रहेको बताए ।

महासचिव बस्नेतले नेपालमा ९ वटा ट्रेड यूनियनहरु श्रमको मुद्दामा एक रहेको भन्दै यसमा गैरसरकारी संघसंस्थाहरु पनि एकतावद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले एकापसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर कामदारको मुद्धामा सवैको सामुहिक आवाज एक हुनुपर्ने विचार प्रकट गरे ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल(एनएनएसएम) का अध्यक्ष कुल प्रसाद कार्कीले वैदेशिक रोजगारलाई मर्यादित र उपलव्धीमूलक बनाउन आफूहरुले पनि एकिकृत ढंगमा नै काम गरिरहेको प्रष्ट्याए । जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तथा श्रमिकका लागि उपलव्धीमूलक बनाउन महासंघले झण्डै तीन दशकदेखि काम गरिरहेको बताए ।

कार्यक्रममा एमआरए परियोजनाका नेपाल संयोजक सुनिल न्यौपानेले एमआरएको डिजिटल प्लेटफर्म, हालसम्म गरिएका कामहरु तथा आइपरेका समस्याहरुका बारेमा प्रस्तुती राखे । कार्यक्रमका सहभागिहरुले यसमा गर्नुपर्ने सुधार तथा अपनाउनु पर्ने सचेतनाका विषयमा सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.