उखु किसान र चिनी उद्योगीका आ-आफ्नै समस्या, ‘उत्पादन घट्दो, उद्योग संख्या बढ्दो’

  २०७६ साउन २८ गते ११:४०      सुनिता पुडासैनी


काठमाडौं । उखु खेती गर्ने कृषक र त्यही उखुबाट चिनी उत्पादन गर्ने उद्योगीहरु दुबै समस्यामा रहेको बताउँछन् । कृषकका समस्या फरक खालका छन् भने उद्योगीहरु भिन्न खाले उल्झन व्यहोरिरहेको उल्लेख गर्छन् ।

यी दुबै पक्षका फरक फरक समस्याले गर्दा एकातिर उखु खेती गर्ने कृषकको संख्या र उत्पादन घट्दो छ भने उखुबाट हुने चिनी उत्पादन पनि प्रत्येक वर्ष खस्कदै गरेको छ । यसले समग्र देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ ।

घट्दैछन् उखु किसान
प्रत्येक वर्ष उखु खेती गर्ने किसान घट्दै गएका छन् । नेपाल उखु उत्पादक महासंघका प्रमुख कपिलमुनी मैनालीका अनुसार उखु खेती गर्ने १ लाख किसानको संख्या हाल घटेर ७५ हजार पुगेको छ । उखु खेती गर्ने किसान घटेसँगै हाल ८० हजार हेक्टरमा मात्र उखु खेती हुने गरेको छ ।

उखु नगदे बाली हो, किसानले उत्पादन गरेको उखु चिनी मिललाई दिन्छन् । तर, चिनी मिलले उखु किसानलाई समयमै भुक्तानी दिंदैन, आफूले गरेको उत्पादनको पैसा दिन वर्षौँ कुर्नु पर्छ । कहिले पैसा पाइन्छ केही ठेगान हुँदैन, तसर्थ किसानहरु बिस्तरै घट्दो क्रममा छन्–अध्यक्ष मैनालीले भने ।

७५ हजार किसानहरुले गतवर्ष ११ अर्बको उखु बिक्री गर्दा ६५ प्रतिशत मात्र भुक्तानी पाए र बाँकी ३५ प्रतिशत रकम अझैसम्म पनि नपाएको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले बताए ।

किसानले उखु बिक्री गरेको ३० दिनदेखि ४५ दिनभित्र चिनी उद्योगबाट रकम भुक्तानी पाउनु पर्ने बारे किसान र उद्योगीहरुबीच साझा सहमति बनेपनि कार्यान्वयन हुन नसकेको प्रमुख मैनालीले बताउँछन् । उद्योगीबाट समयमै रकम भुक्तानी दिलाउन र राज्यले दिने अनुदान रकमलाई किसान सामु पुर्याउन सरल माध्यम खोज्नु पर्ने उखु किसानहरुले माग गर्दै आएका छन् ।

यता, उखु कृषकलाई आर्थिक वर्ष २०७४/७५ मा ९२ करोड अनुदान उपलब्ध गराएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए । अनुदान रकम प्राप्त गर्न समस्या परेको गुनासो आएको बताउँदै नीति नियमहरु संशोधन गरी किसानको खातामा अनुदान रकम पठाउने प्रवक्ता सुवेदीले जानकारी दिए ।

यस्ता छन् चिनी उद्योगीका समस्या
अघिल्ला वर्षहरुमा सरकारले भारतबाट चिनी आयात गरेसँगै नेपालमा उत्पादन हुने चिनीको बिक्री नभएको हुँदा समस्या पर्ने गरेको र उखु किसानहरुलाई भुक्तानी दिन नसकेको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । उनले भने–‘गत आर्थिक वर्षमा १ लाख ८२ हजार मेट्रिकटन चिनी बिक्री भएको र अझै ८५ हजार मेट्रिक टन बिक्री नहुँदा चिनी उद्योगीहरु समस्यामा छन् ।’

सरकारले उखुको मूल्य तोक्ने र बैंकहरुले चर्काे ब्याज लगाउँदा उद्योगी समस्यामा परेको उनको भनाई छ । पछिल्लो समय सरकार ठीकै बाटोमा हिडेको र चिनी निर्यातमा परिणात्मक बन्देज लगाउँदा सकारात्मक प्रभाव परिरहेको उद्योगी अग्रवालले बताए ।

उखु उत्पादनको अवस्था
उखु किसान घटेसँग उखु उत्पादन पनि घट्दै गएको तथ्याङ्कले देखाउँछ । आव २०६८/६९ सालमा २ लाख २५ हजार टन उखु उत्पादन भएको थियो भने आव २०७३/७४ मा घटेर १ लाख ९० हजार टन उखु उत्पादन भएको थियो । अघिल्लो आव २०७४/७५ मा अझै घटेर १ लाख ७७ हजार टन चिनी उत्पादन भएको थियो भने गतवर्ष १ लाख ६० हजारमात्रै उत्पादन भयो । यसरी हेर्दा वर्षेनि उखु उत्पादन घट्दो क्रममा देखिन्छ ।

उखु उत्पादन घट्दो, उद्योग संख्या बढ्दो
एकातिर उखु किसान घटेका छन्, खेती हुने क्षेत्र घटेको छ, चिनी उत्पादन पनि घट्दो क्रममा छ । तर, चिनी उद्योगको संख्या भने बढ्दै गरेको छ । केही वर्ष अघिसम्म नौ वटा चिनी उद्योग थिए भने हाल उद्योग संख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.