वीर अस्पतालको सेवा विस्तार गर्ने योजना अन्योलमा, सहयोगी चीनको निश्कर्ष-‘ठाउँ उपयुक्त भएन’

  २०७६ साउन २८ गते ९:०९     डोमी शेर्पा

काठमाडौं । भक्तपुरमा वीर अस्पतालको सेवा विस्तार गर्ने सरकारको योजना अन्योलमा परेको छ । ६ बर्ष भित्र भक्तपुरमा वीर अस्पताल सेवालाई बिस्तार गर्ने योजना बनेको ३ बर्ष बितिसक्दा पनि सेवा विस्तार गर्ने या नगर्ने भन्नेमा अझै अन्योल रहेको छ ।

सरकारले अस्पताल निर्माणको लागि चीन सरकारको सहायता मागेको थियो । निर्माण गरिदिने भन्दै चीन सरकारले ३ महिना अघिमात्र दुवाकोटको स्थलगत भ्रमण गरेर प्रतिवेदन पेश गरेको छ । तर, सरकारबाट उक्त प्रतिवेदनको जवाफ नआएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यसअघि सरकारले निर्माण गर्ने कि वैदेशिक सहायता लिने भन्ने कुराको निर्णय हुन नसक्दा दुवाकोटमा अस्पताल बन्न नसकेको स्वास्थ्य सचिव डा. पुष्प चौधरीले बताएकी थिईन् ।

चीन सरकारले अध्ययन गरी पेश गरेको प्रतिवेदन अनुसार भक्तपुरको दुवाकोट अस्पताल बन्नको लागि उपयुक्त स्थान नभएको रिपोर्टिङ आएको चौधरीले बताईन् । अस्पतालसम्म पुग्ने आवश्यक बिकासका सबै पूर्वाधारहरु सरकारले बनाउने सहमति जनाएपछि मात्र काम सुरु हुने चीन सरकारले बताएको उनले जानकारी दिईन् ।

यसअघि चीन सरकारले अफ्रिकामा पनि ठूलो अस्पताल निर्माण गरेको, तर कर्मचारी व्यवस्थापन हुन नसक्दा अस्पताल ठप्प रहेको कारण चीन केही हच्किएको प्रवक्ता श्रेष्ठले बताए।

सरकारले अस्पताल विस्तारको लागि २०७३ सालदेखी रकम विनियोजन गर्दै आएको छ । दुवाकोटमा १ हजार शैयाको अस्पताल र अहिले वीर अस्पतालमा हुन नसकेको विशिष्टिकृत सेवा दुवाकोटबाट दिने लक्ष्य सरकारको छ ।

वीर अस्पताललाई अत्याधुनिक सेवा सुविधासहित विस्तार गर्ने निर्णय गरी सोहीअनुसार सरकारले भक्तपुरको ५ सय रोपनी जग्गा अस्पतालको नाममा पास गरेको थियो । तर, ६ बर्षभित्र निर्माण हुने भनिएको गुरुयोजनाको ३ बर्ष बितिसक्दा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार हुनसकेको छैन ।

गत आर्थिक बर्ष मात्र सरकारले अस्पतालको डीपीआर निर्माणको लागि १५ करोड रकम विनियोजन गरेको थियो । यो रकमको उपयोग हुन नसक्दा रकम फ्रिज भएको छ । यस्तै सरकारले यस आर्थिक बर्षमा अस्पताल सेवा विस्तारको लागि ४० करोड रकम विनियोजन गरेको छ । उक्त सुविधासम्पन्न अस्पतालको संरचना निर्माण गर्न ३५ अर्ब जस्तो लाग्ने अनुमान गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.