घट्यो तरकारीको मूल्य, रु १४० को गोलभेँडा अब रु ७० मा

  २०७६ साउन २८ गते ८:५०     विकासन्युज


विराटनगर । बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महिना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए ।

अत्याधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्य वृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्य घटेको छ । स्थानीय रुपमै उत्पादन भएपछि बजारमा हरियो तरकारी सहज रुपमा उपलब्ध हुनुका साथै सस्तोमाका खरीद बिक्री भइरहेको व्यापारी बताउँछन् ।

विराटनगरस्थित गुद्री तरकारी बजारका व्यापारी बजरङ्ग गुप्ता अरु तरकारीको मूल्य घटेपनि आलु र प्याजको मूल्यमा कमी नआएको बताउँछन् । “पुरानो आलु भारतबाट आयात गर्दैआएका छौँ, नयाँ आलु स्थानीय उत्पादन हो”, उनले भने । अहिले बजारमा पुरानो आलु प्रतिकिलो रु ४० मा तथा नयाँ आलु प्रतिकिलो रु ६० मा खरीद बिक्री भइरहेको छ ।

यस्तै स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ७० मा बिक्री भइरहेको छ । एक महिना अघि बाढी आउँदा गोलभेँडाको मूल्य प्रतिकिलो रु १४० पुगेको थियो । अहिले भिन्डीको मूल्य रु १०० बाट घटेर रु ६० पुगेको छ । प्याजको मूल्य यथावत छ । अहिले प्याज प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ । गाजरको मूल्य प्रतिकिलो रु २०० बाट घटेर रु १५०, मूला प्रतिकिलो रु १५० बाट रु १२०, तिते करेला प्रतिकिलो रु १२० बाट रु ९०, घिरौला प्रतिकिलो रु ८० बाट रु ५० तथा लौकाको मूल्य प्रतिकिलो रु ५० बाट घटेर रु ३५ पुगेको छ ।

यस्तै बोडीको मूल्य प्रतिकिलो रु १२० बाट रु ८०, सिमी प्रतिकिलो रु १४० बाट रु १००, पर्वल प्रतिकिलो रु १२० बाट रु ८० र भन्टाको मूल्य प्रतिकिलो रु १०० बाट घटेर रु ७० भएको छ । मूल्य घटेपछि तरकारीको खरीद बिक्री बढेको व्यापारीहरु बताउँछन् । “लगभग सबै तरकारीको मूल्य घटेको छ, व्यापार ह्वात्तै बढेको छ”, तरकारी व्यापारी राम चौधरीले भने । बजारमा हरियो तरकरी सहजै आपूर्ति भइरहेको छ ।

मूल्य घटेपछि हरियो तरकारी दिनहुँ किन्ने गरेको स्थानीय उपभोक्ता रमा भण्डारीले बताए । “तरकारीको मूल्य घटेपछि राहत मिलेको छ, तरकारी किन्न कन्जुस्याइँ गर्नु परेको छैन”, उनले भने । यस्तै विराटनगरकी मेनुका साह एक महिना अघि पाउमा खरीद गर्ने गरेको तरकारी किलोका दरले किन्न थालेको बताउँछन् । चाडपर्व नजिकिँदा तरकारीको मूल्य घटेकामा उनले खुशी व्यक्त गरे । अर्की गृहणी रन्जु दाहाल भन्छिन्, “एक महिना अघि रु पाँच सयको तरकारी दुई दिन पनि पुग्दैनथ्यो, अहिले मूल्य घटेपछि घरखर्च चलाउन सजिलो भएको छ ।”

विराटनगरस्थित थोक तथा खुद्रा बजारमा बिक्रीका लागि राखिएको भिन्डी, गेनारी साग, फर्सीको मुन्टा, परवल, करेला, बोडीलगायत तरकारी मोरङको कदमाहा, नयाँ बजार, हरैचा, सुनसरीको देवानगञ्जलगायत ठाउँबाट ल्याउने गरिएको छ । मूला, गोलभेँडा, धनियाँ, रायो, स्कूस र काउली धनकुटाको हिले र सिधुवाबाट व्यापारीले खरीद गरेर ल्याउने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.