एक वर्षमा ९ सय ८८ किलोमिटर सडक कालोपत्रे, ७९ अर्ब ९३ करोड खर्च

  २०७६ साउन २७ गते १४:०९     सन्तोष रोकाया


काठमाडौँ । सडक विभागले गत आर्थिक वर्ष २०७५/०७६ मासडक निर्माण तथा मर्मतमा ७९ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । नयाँ सडक निर्माण, स्तरोन्नती, कालोपत्रे स्तरोन्नती, सडक मर्मत, ग्राभेल, आवधिक मर्मत र पुल निर्माण लगायतका शीर्षकमा विभागले करिब ७९ अर्ब ९३ करोड ९१ लाख ५२ हजार रुपैयाँ खर्च गरेको हो ।

सरकारले सडक विभागका लागि विनियोजन गरेको १ खर्ब ८ अर्ब ३० करोड ६९ लाख ९४ हजार रुपैयाँ बजेट मध्ये ७३.८१ प्रतिशत मात्रै खर्च भएको हो । गतवर्ष हालसम्मको सबैभन्दा बढी रकम खर्च भएको विभागले जनाएको छ ।

वैदेशिक अनुदानबाट ४ अर्ब १४ करोड ५३ लाख ४० हजार, वैदेशिक ऋणबाट २० अर्ब ७७ करोड ९० लाख ८२ हजार, नेपाल सरकारबाट ८३ अर्ब ३८ करोड २५ लाख ७२ हजार बजेट विनियोजन भएको थियो । उक्त रकम मध्ये क्रमशः ६६.४५, ३९.१९ र ८२.७९ प्रतिशत खर्च भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सडक विभागले ८१ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ खर्च गरेको थियो ।

९ सय ८८ किलोमिटर कालोपत्रे
आर्थिक वर्ष २०७५/०७६ मा देशभर ९ सय ८८ किलोमिटर सडक कालोपत्रे भएको छ । सडक विभाग अन्तर्गतका ४ सय ४० किलोमिटर नयाँ ट्रयाक निर्माण, १३ सय ६३ किलोमिटर सडकमा ग्राभेल गरिएको छ । विभागका अनुसार गत आवमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य रहेकोमा स्थानीय सडक पुल अन्तर्गत १ सय ३९ र रणनीतिक महत्वका सडकहरु अन्तर्गत १ सय ४ गरी २ सय ४३ पुलहरु निर्माण भएका छन् ।

विभागका अनुसार १ हजार किलोमिटर सडकको नियमित तथा १ हजार किमि पटके मर्मत सम्भार र ३ सय ३४ किमि आवधिक मर्मत कार्य सम्पन्न भएको विभागका सूचना अधिकारी अर्जुन सुवालले बताए । उनले विगतका वर्षभन्दा गत आर्थिक वर्षमा सडक र पुल बढी निर्माण भएको बताए । आर्थिक वर्ष २०७४÷०७५ मा ९ सय ४ किमि कालोपत्रे, ९ सय ७१ किमि नयाँ ट्रयाक र १३ किमि ग्राभेल भएको थियो ।

अघिल्ला वर्षहरुमा भन्दा बढी काम भएपनि लक्ष्य अनुसारको कालोपत्रे हुन नसकेको बताउँदै सुवालले निर्माण सामाग्रीको अभाव, मुआब्जा वितरण गर्ने क्रममा स्थानीयहरुबाट चलन चल्तीको दर रेट भन्दा बढी मुआब्जा माग गर्ने प्रचलन र विद्युत प्राधिकरणले समयमै पोल नसारिदिएका कारण काम ढिला हुन गएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.