एक वर्षमै थपिए ७ हजार ७ सय कम्पनी, उद्यमतर्फ बढ्दो युवा आकर्षण

  २०७६ साउन २७ गते ८:३५     राजाराम न्यौपाने


काठमाडौं । कम्पनी दर्ता गरेर उद्यम गर्दै स्वरोजगार बन्नेको संख्या बढ्दै गएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आव २०७५/७६ मा २५ हजार ४ सय ६९ कम्पनी दर्ता भएका छन् । अघिल्लो आव २०७४/७५ मा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी १७ हजार ७ सय ३२ वटा मात्रै दर्ता भएका थिए । कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव भन्दा गत आवमा ७ हजार ७ सय ३७ वटा कम्पनी बढी दर्ता भएका छन् ।

गत आवमा १ अर्ब माथिका २ वटा मात्रै कम्पनी दर्ता भएका छन् । सरकारले दर्ता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको लगानी रहेने पिङ्गवा ज्वाइन्ट सेन्टर कम्पनी मात्रै १ अर्ब माथिका कम्पनी भएको कार्यालयले जनाएको छ । हालसम्म निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी कार्यालयमा दर्ता भएका छन् ।

कुन प्रदेशमा कति कम्पनी दर्ता ?
आव २०७५/७६ मा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा दर्ता भएका छन् । प्रदेश नम्बर ३ मा निजी १५ हजार ९८३, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने ४५० र विदेशी ४७ वटा कम्पनी दर्ता भएका हुन् ।

त्यसैगरी प्रदेश नम्बर १ मा निजी २ हजार ६४, सार्वजनिक २ र मुनाफा वितरण नगर्ने २७ वटा कम्पनी दर्ता भएका छन् । विदेशी लगानीका कम्पनी सो प्रदेशमा दर्ता भएका छैनन् । प्रदेश नम्बर २ मा निजी १ हजार ८३८, सार्वजनिक ३६, मुनाफा वितरण नगर्ने २ र विदेशी १ वटा कम्पनी दर्ता भएका छन् ।

कर्णाली प्रदेशमा निजी १ हजार ६९७, सार्वजनिक ९ र मुनाफा वितरण नगर्ने १६ वटा कम्पनी दर्ता भएका छन् भने प्रदेश नम्बर ५ मा निजी २ हजार ९५, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने २२ वटा कम्पनी दर्ता भएका छन् । यता, सुदूरपश्चिम प्रदेशमा निजी ६०२, सार्वजनिक १ र मुनाफा वितरण नगर्ने ६ वटा कम्पनी दर्ता भएका कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार दाहालले युवाहरु कम्पनी खोलेर आफैँ रोजगर बनेका कारणले कम्पनी दर्तामा वृद्धि भएको बताए । उनले भने-देशमा नै केही गर्नु पर्छ भन्ने भावनाको विकास भएकाले पनि कम्पनी दर्ताको संख्या वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.