बाढी पहिरोले क्षति भएका पुलको पुनर्निर्माण गर्न आधा अर्ब लाग्ने, ४५ वटा पुल क्षति

  २०७६ साउन २६ गते १७:४३     विकासन्युज

काठमाडौं । बाढी पहिरोले क्षति पुर्याएका पुलको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान सरकारले गरेको छ । विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले पुल पुनर्निर्माणमा सो बजेट आवश्यक रहेको बताएका हुन । उनका अनुसार देशभर बाढी तथा पहिरोका कारण ४५ वटा पुलमा क्षति पुगेको छ ।

महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरूको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने पनि उनले बताए । त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको उनको भनाइ छ । क्षतिग्रस्त सडक र पुलहरू तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

समितिले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका सडक तथा पुलहरूको जीर्णोद्धार तथा पुनर्निर्माणको काम कसले गर्ने भन्ने अन्योलता अन्त्य गर्न समितिले निर्देशन दिएकोे छ । बैठकमा सांसद प्रभु साहलगायतले संघ, प्रदेश र स्थानीय सरकारको हानथापका कारण वर्षाले क्षति पुर्याएका संरचना पुनर्निर्माणको काम अघि बढ्न नसकेको बताए ।

दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

क्षति भएका पुलहरुमा सडक डिभिजन खुर्कोट ५ पुल, सडक डिभिजन विराटनगरले ३, सडक डिभिजन जनकपुरले ५, सडक डिभिजन लहानले ६ पुल, उत्तरदक्षिण व्यापारिक मार्ग १ पुल, सडक डिभिजन हेटौडा ३ पुल, सडक डिभिजन नेपालगञ्ज ३ पुल, रहेका छन् । मध्यपहाडी लोकमार्ग आयोजना ३ पुल, सडक डिभिजन झापा ७ पुल, सडक डिभिजन दमौली १ पुल, सडक परिक्रमा मार्ग जनकपुर १ पुल, सडक डिभिजन चन्द्रनिगाहपुर १ पुल, हुलाकी राजमार्ग जनकपुर अन्तर्गत ७ वटा पुल रहेका छन् ।

ती पुलहरूको पुनर्निर्माणका लागि क्रमशः४७ लाख, १ करोड २५ लाख, २ करोड ९० लाख, १ करोड, ५० लाख, २ करोड १० लाख, ३ करोड, १ करोड २० लाख, २ करोड २५ लाख, १ करोड ३५ लाख, २ करोड ५० लाख, १४ लाख र २ करोड ५० लाख रुपैयाँ लागत लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.