जापानी कम्पनी हाज्माले पायो नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का

२०७६ साउन २६ गते १४:३३ विकासन्युज


काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्मालाई दिइएको छ । साउन २१ गते हाज्मालाई सम्झौता पत्र हस्तान्तरण गर्दै सुरुङमार्ग निर्माणको ठेक्का दिइएको हो । निर्माणको काम भने दुई महिना पछि मात्रै शुरू हुने जनाइएको छ । आयोजनाका लागि २२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । हाज्माले १६ अर्ब लागतमा सुरुङमार्ग बनाउने इच्छा व्यक्त गरेको नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

‘सम्झौताका लागि हामीले पत्र दिएका छौँ, यही अगष्ट महिनाभित्र सम्झौता भइसक्छ, सबै प्रकृया सकेर दशैपछि काम सुरु हुन्छ,’ आयोजना प्रमुख खरेलले भने कम्पनीले ठेक्का सम्झौता पाएको समयदेखि ४२ महिनाभित्र सुरुङमार्ग निर्माण गरिसक्नु पर्नेछ । सुरुङमार्ग निर्माणको लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । सुरुङ निर्माणलाई २ ठाउँबाट टनेल खन्न सुरु गरिने छ । पहिलो चरणमा धादिङको सिस्ने खोलाबाट सुरुङमार्गको टनेल खन्ने काम सुरु गरिने खरेलले बताए ।

नौविसेदेखि थानकोटसम्मको सडकखण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेको छ । उक्त सुरुङमार्ग निर्माणपछि ट्राफिक जाम न्यूनिकरणमा हुने जनाइएको छ ।

हाज्माले झण्डै साढे ३ वर्षभित्र सुरुङमार्ग निर्माण गर्नुपर्ने जानकारी दिइएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । सुरुङ निर्माणलाई २ ठाउँबाट टनेल खन्न सुरु गरिने छ । पहिलो चरणमा धादिङको सिस्ने खोलाबाट सुरुङमार्गको टनेल खन्ने काम सुरु गरिने खरेलले बताए ।

यस्तै अर्कोतर्फ चन्द्रागिरिको चुचेपासाबाट पनि टनेल खन्ने काम गरिने उनले जानकारी दिए । हाज्माले सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनुपर्नेछ ।

हाज्माले २.६८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म ५ सय ६५ मिटर पक्की सडक निर्माण गर्ने छ । सुरुङमार्ग भित्र सडकको चौडाई १० मिटरको हाराहारीमा हुनेछ । २ लेनमा बन्ने यो सडक साढे २.३५ किलोमिटर लामो हुने छ । हाज्माले सुरुङमार्ग प्रवेश गर्ने सडकमा ३ वटा पुल, २ अन्डरपास र १–१ वटा ओभर पास र फ्लाई ओभर बनाउने छ ।

साथै सुरुङमार्ग भित्र ट्रान्समिसन लाइन, ट्राफिक मनिटरिङ, कन्ट्रोल तथा मर्मत सम्भार कार्यालयलगायत संरचना बनाइने आयोजनाले जनाएको छ । यो सुरुङमार्ग बनाउन हाज्मा आफैंले आवस्यक प्राविधिक सामग्री जुटाएर काम गर्नुपर्ने छ ।

सुरुङमार्ग बनाउन ३ सय ७६ रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ । यसका लागि साढे ३ अर्ब रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ ।