अरु हाइड्रोपावरको तुलनामा सिंगटी हाइड्रोपावर कम लागतमा बनायौं: गणेश कार्की

  २०७६ साउन २६ गते १२:२५     विकासन्युज


कलेज पढ्दैदेखि व्यवसायिक यात्रा शुरु गर्नु भएका गणेश कार्की पश्मिना, गार्मेन्ट हुँदै अहिले हाइड्रो व्यवसायमा हुनुहुन्छ । कमाउदै-गुमाउदै-कमाउदै उहाँको व्यवसायकि यात्रा अगाडि बढेको छ । व्यवसायिक जीवनमा उहाँलाई विश्वास गर्नेको संख्या पनि थपिदैछ । यतिसम्म कि ‘पछिल्लो समय कुनै जलविद्युत परियोजना समस्यामा पर्यो भने त्यसका लगानीकर्ताले तैले हेरिदिनु पर्यो, समालिदिनु पर्यो भनेर साथीहरुले भन्नहुन्छ’ विकास वहसमा कार्कीले भन्नुभयो । राष्ट्रिय गोजुर्यो कराँते संघका अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघ नेपालको कार्यसमिति सदस्य समेत रहनु भएका कार्की सिंगटी खोला हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, क्रिम हाइडेल, बैधिक हाइड्रो इन्भेष्टमेन्ट, बेनी हाइड्रो पावर लगायत जलविद्युत परियोजनामा संलग्न हुनुहुन्छ । सन् २००५ बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाइड्रो व्यवसायमा लाग्नु भएका कार्की अहिले सिंगटीखोला आयोजनाको कार्यकारी निर्देशक भएर काम गरिरहनु भएको छ । २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजना दोलखाको सिंगटीमा निर्माणाधिन छ । प्रस्तुत छ यस परियोजनाको निर्माण अवस्था र समग्र जलविद्युत क्षेत्रको विकासका चुनौतिबारे केन्द्रीत भई आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीसँग गरिएको विकास बहस यस पटक ।

तपाई सिंगटी खोला जलविद्युत आयोजना निर्माणको अवस्था कस्तो छ ?
आयोजना निर्माण कार्य सकिन लागेको छ । यतिबेला निर्माण सम्पन्न भईसक्थ्यो । यस पटक वर्षा चाँढै शुरु भयो । चैत बैशाखदेखि नै पानी परेकोले केही समस्या भयो । भदौसम्ममा आयोजनाको सबै काम सकिन्छ ।

ट्रान्समिसन लाईन निर्माणको अवस्था कस्तो छ ?
हाम्रो आयोजनाबाट सवस्टेशन सय मिटर भित्र जोड्ने छ । त्यहाँको ट्रान्समिसन लाइन धेरै अगाडी बनि सक्नुपर्ने हो । तर त्यो आयोजनामा निर्माणको जिम्मा भारतीय कन्ट्याक्टरले लिएको थियो । त्यसले समयमै काम नगरिदिएका कारण त्यो ढिला हुन गयो । अहिले त्यहाँ नेपाली सब–कन्ट्याक्टर लिएर काम गरि रहेका छन् । ट्रान्समिसन लाइन पनि असारभित्र नै बनि सक्छ भन्ने कुरा थियो त्यो अहिलेसम्म बन्न सकेको छैन । त्यो काम दुई महिनामा सक्छौं भन्ने कुरा भइरहेको छ । त्यो काम दुई महिना भित्र सकियो भने हामीलाई त्यति समस्या हुँदैन तर बनेन भने चाहिँ समस्या पर्ला जस्तो भइरहेको छ ।

ट्रान्समिसन लाईन समयमा बनेन भने त्यसले आयोजनाको आम्दानीमा पनि कति असर पर्छ ?
धेरै ठूलो असर पर्छ । हाम्रो प्रोजेक्ट त अझ के छ भने डिओडी सँग टेण्डरिङमा लिएको हो । यो प्रोजेक्टमा अरुभन्दा छुट्टै खालका सर्तहरु छन् । यदि हामीले समयमै आयोजना सम्पन्न गर्न सकेनौं भने सरकारलाई २८ प्रतिशत जरिवाना तिर्नुपर्छ । नेपाल विद्युत प्राधिकरणले पनि हामीलाई समयमै ट्रान्समिसन लाइन दिएन भने पनि उसले ४५ प्रतिशत हामीलाई जरिवाना तिर्नुपर्छ । ४५ प्रतिशत जरिवाना तिर्नु भन्ने सर्त भएकोले प्राधिकरण आफैले पनि ट्रान्समिसन लाई निर्माणमा प्राथमिकता दिएको छ । प्राधिकरणमा प्रबन्ध निर्देशक कुलमान घिसिङ आफैले पनि यस टान्समिसन लाईन निर्माणको अनुगमन गरिरहनुभएको छ । लोडसेडिङ भइरहेको बेला, भारतबाट बिजुली खरिद गरी राखेको अवस्थामा आफैले बनाउनु पर्ने ट्रान्समिसन लाइन नबनाएर दण्डजरिवाना तिर्नु पर्ने अवस्था आयो भने प्राधिकरणको लागि पनि नराम्रो अवस्था हुन्छ ।

यस आयोजनाको जम्मा लगानी कति हो ?
समग्रमा लगभग ४ अर्ब ७५ करोड सम्मको हुन्छ । यसको प्रति मेगावाट लगभग १९ करोड भन्दा कमै छ । हामीले सोचे जति खर्च पनि नहुने देखिरहेका छौं । आजको बजार मूल्यमा प्रतिमेगावाट १९ करोडभन्दा कम हुनु भनेको यसको लागत सस्तो हो ।

हुन त अहिले केही हाइड्रो कम्पनीको सेयरको अंकित मूल्य भन्दा बजार मूल्य कम छ । तिनले अरु जलविद्युत आयोजनाहरुको सेयर निष्काशनलाई पनि प्रभावित पारेका छन् ।

तपाईको आयोजनाको उर्जा खरिद सम्झौता दर कति हो ?
उर्जा खरिद सम्झौता दर त सबैको एउटै छ वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसा । यसको चाहिँ विशेष सर्त भनेको समयमा सरकारले ट्रान्समिसन लाइन बनाउँछु भन्ने ग्यारेन्टी गरेको छ । भएन भने कम्पनीलाई सरकारले ४५ प्रतिशत जरिवाना तिर्नुपर्छ ।

यो आयोजनाबाट हिउँदमा कति उत्पादन गर्न सकिन्छ ?
त्यति कम त हुदैन । पानीको प्रवाह थोरै भएको अवस्थामा पनि जम्माको १५-२० प्रतिशत विद्युत कम हुन्छ होला ।

सिंगटीखोला जलविद्युत आयोजनामा कुन बैंकले लगानी गरेको छ ?
यसमा सिभिल बैंकले नेतृत्व गरेको छ । यसमा झण्डै नौ वटा बैंकले लगानी गरेका छन् । अनुमानित लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर लगानी हुन्छ । ४ अर्ब ७५ करोडको ७० प्रतिशत बैंकहरुले लगानी गर्छन् । त्यसको ३० प्रतिशत इक्विटी छ । त्यो ३० प्रतिशतको पनि २० प्रतिशत सर्वसाधारणको, १० प्रतिशत स्थानीय बासिन्दाको सेयर हुन्छ । प्रमोटरको ७० प्रतिशत सेयर हुन्छ । हामी असोजको पहिलो हप्तातिर स्थानीय वासिन्दालाई १० प्रतिशत सेयर निष्काशन गछौं । सार्वसाधारणका लागि हामीले १ अर्ब ४५ करोडको सेयर निष्काशन गर्छौ । त्यसमध्ये करिब ४३ करोडको सेयर स्थानीयका लागि र बाँकी सर्वसाधारणको निष्काशन हुन्छ ।

दोलखामा माथिल्लो तामाकोशी लगायत धेरै परियोजनाहरु बनिरहेका छन् र स्थानीयलाई सेयर निष्काशन गरिरहेको छन् । स्थानीय मानिसमा सेयरप्रतिको आकर्षण कस्तो छ र मानिसहरुले पैसा कसरी जुटाईरहेका छन् ?
मानिसहरु बाहिर गएर कमाएका छन् । रेमिट्यान्स ल्याएका छन् । स्थानीय मानिसले चाहेजति सेयर किन्न पाएका हुँदैनन् । सिंगटीको सेयर लिन अहिले नै पैसा लिइदिनु पर्यो भनेर मानिसहरु हामीकहाँ आईरहेका छन् । आईपीओ खुला हुँदा धेरै पर्दैन । अहिले नै पैसा लिईदिनु भन्नेहरु धेरै छन् । तर त्यसरी हामीले पैसा लिन मिल्दैन ।

सिंगटी अन्य चार पाँच प्रोजेक्ट भन्दा पनि राम्रो छ । शुरुमा स्थानीयले विश्वास गरेका थिएनन् । ६ किलोमिटर टनेल थियो । ६ किलोमिटर खनेर बनाउँदा लागत प्रतिमेगावाट ३०-३५ करोड पुग्छ कि भन्ने शंका पनि थियो । अहिले आयोजना त बन्यो । अब बत्ती बल्दैछ ।
केही दिनअघि हामीले संस्थापकको तर्फबाट हाल्नुपर्ने सेयरको अन्तिम किस्ता रकम मागेका थियौं । सबैले पुरै पैसा हालिसके । झण्डै ५ सय जना त स्थानीय प्रवद्र्धक सेयरधनी नै छन् । हामीले स्थानीयबाट धेरै राम्रो सहयोग पनि पाईरहेका छौं ।

सिंगटीको सेयरमा किन लगानी गर्ने ? यसमा लगानी गरेर के फाइदा छ ?
हुन त अहिले केही हाइड्रो कम्पनीको सेयरको अंकित मूल्य भन्दा बजार मूल्य कम छ । तिनले अरु जलविद्युत आयोजनाहरुको सेयर निष्काशनलाई पनि प्रभावित पारेका छन् । जुन कम्पनीको सेयर मूल्य बजारमा १०० भन्दा तल छ उनीहरुको आफ्नै कारण छन् । कुनैमा ट्रान्समिसन लाइन बन्न सकेको छैन । कुनैको ट्रान्समिसन लाईन भएर पनि उत्पादित सबै विद्युत प्रवाह भएको छैन । त्यो अवस्थामा आम्दानी त भएन ।

सिंगटीका कुरा गर्दा, बजारमा अहिले जतिवटा प्रोजेक्ट छन् तिनीहरु भन्दा सिंगटी जलविद्युत आयोजना राम्रो छ । यस कम्पनीले सेयरधनीलाई राम्रो लाभांश दिन सक्छ । यो त सरकारले टेण्डर गरेर राम्रो छ भनेको प्रोजेक्टहरु मध्येको एक हो । अब लगानीकर्ता पनि जान्ने बुझ्ने भईसके । हाइड्रो पावरको सेयर आयो भन्ने वितिकै अघिल्लै दिन देखि लाइन लागेर पैसा तिर्ने अवस्था छैन । वास्तममा लगानीकर्ताले कतिमा प्रोजेक्ट बन्यो, त्यो पनि हेर्नुहुन्छ । प्रोमोटरहरु कस्ता छन्, त्यो पनि हेर्नुहुन्छ । थप्रै कुराहरु मूल्याङ्कन गरेर काम गर्ने गर्छन् । हामीले सोचेभन्दा बढि आवेदन आउँछ भन्ने खालको अहिलेको वातावरणले देखाइरहेको छ ।

अहिले धेरै कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम छ । शेयर माग खासै छैन । हाइड्रो पावरले निस्काशन गरे जति अर्थात सबै सेयर बिक्री नहुने अवस्था किन आयो ?
हुन त अहिले सेयर बजार राष्ट्रिय स्तरमै पुरै खस्किएको छ । त्यो पनि एउटा कारण हो । अर्को कुरा लगानीकर्ताले उनीहरुको मूल्य पनि हेर्छन् । कसैले पनि हाइड्रो पावर भनेर पैसा हाल्दैनन् । म पनि नहाल्नुहोस् भन्छु । पहिला प्रोजेक्टको अवस्था, लागत, प्रमोटर, सबैलाई हेर्नुपर्यो नि । लगानी कति सुरक्षित हुन्छ ? कति प्रतिफल दिन्छ ? जसले ऋण तिर्नै बीस वर्ष लाग्छ भने त्यसले प्रतिफल दिदैन भन्ने बुझ्नु प¥यो । अहिले सानो–सानो प्रोजेक्ट एकदम मारमा परेका छन् । कोहि भूकम्पमा परे । हुँदा हुँदा प्रति मेगावाट मूल्य २५ करोड पुगेको छ । अब त्यसले त प्रतिफल दिदै दिदैन । सावा पनि उठ्दैन ।

सिंगटीको ऋण भुक्तानी अवधि कति वर्षको हो ?
हामीले सामान्यतः बाह्र वर्षको राखेका छौं । अहिले सरकारले सात वर्ष कर छुट भनेको छ । ताकी ऋणको समय टाढा भयो भने शुरु देखि नै प्रोमोटरहरुले र पब्लिकहरुले पैसा केहि न केहि पाउँछन् । त्यसको करको पैसा तिर्नु पदैन भन्ने खालको छ । हाइड्रोपावरको जति सुरक्षित केहि पनि होइन । बनि सकेपछि यो सुरक्षित छ । हामीले उत्पादन गरिसकेपछि विद्युत प्राधिकरणले किन्छ । यसमा त्यस्तो समस्या नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.