गाडी एसेम्बल गर्न दर्ता भएका २३ मध्ये १५ कम्पनी विदेशी, उत्पादन कहिले गर्छन् टुङ्गो छैन

  २०७६ साउन २४ गते १२:४२     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय नेपालमा गाडी एसेम्बल गर्ने कम्पनी दर्ताको लहर चलेको छ । उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन् । यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर, उद्योग विभागमा दर्ता भएका ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन ।

गाडी एसेम्बल गर्ने १२ अर्ब ६२ करोड ५५ लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ४४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएको उद्योगहरु मध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले लगानी गर्ने भएको छ । सो उद्योगको कूल पूँजी १ अर्ब ३२ करोड रहेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहेको छ भने दर्ता भएका मध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

गत वर्षमात्रै १२ वटा नयाँ एसेम्बल गर्ने उद्योग थपिएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएपनि यीमध्ये अधिकांश कम्पनीले काम भने थालेका छैनन् । गत वर्ष कोरियन कम्पनीले नेपालमा एसेम्बल प्लान्ट खोल्ने भएपछि अन्य लगानीकर्ताहरु पनि आकर्षित भएका हुन् ।

नेपालमा हाल एउटा मात्रै गोल्छा अर्गनाइजेशन अन्तरगतको कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छ । उसले ‘बजाज’ ब्रान्डका केही सेगमेन्टका बाइकहरु नेपालमै एसेम्बल गर्छ । हुलासले नेपालमै कार उत्पादनको लागि प्रयास गरिरहेको छ ।

नेपालमा २०६५ सालमा सबैभन्दा पहिले होङ्फा मोटरसाइकल कम्पनी दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ । त्यसपछि पनि लगातार विभिन्न कम्पनीहरु ‘एसेम्बल प्लान्ट’ खोल्नकै लागि दर्ता भए ।

नेपालमा गाडी एसेम्बल गर्ने २३ वटा उद्योग मध्ये ५ वटा उद्योगहरुको लगानी विभागको तथ्याङ्कमा उल्लेख छैन । यी उद्योगले उद्योगहरुले १ हजार ९६८ जनालाई रोजगारी दिने उल्लेख गरेको छन् ।

विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले गाडी एसेम्बल गर्ने उद्योग स्थापनामा विदेशीको आर्कषण हुनुमा यो क्षेत्रको लगानी नेपालमा शुरुवाती अवस्थामा रहेका हुन सक्ने बताए । उनले भने-‘विदेशीहरुसँग प्रविधिको राम्रो अनुभव, ज्ञान भएकाले पनि नेपालमा गाडी एसेम्बल गर्ने उद्योगमा आकर्षण बढेको हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.