तल्लो चमेलिया विद्युत् आयोजना निर्माणको पहल, प्रदेश सरकारले देखायो सक्रियता

  २०७६ साउन २४ गते ८:३६     विकासन्युज


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाको तल्लो चमेलिया जलविद्युत् आयोजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पहल थालेको छ ।

यसका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग आयोजनाको निर्माण गरी सञ्चालन र व्यवस्थापनका लागि सहमति माग्ने निर्णय गरिसकेको छ । केही वर्ष अघि निर्माण सम्पन्न चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन भइरहेको ३० मेगावाटको विद्युत् शक्ति राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

सो विद्युत् आयोजनाको केही तलको भागमा तल्लो चमेलिया विद्युत् आयोजनाको निर्माणको पहल प्रदेश सरकारले गरेको हो । सुदूरपश्चिम प्रदेशमा चमेलियासहित दुई वटा जल विद्युत् आयोजनाबाट हाल ३८ दशमलव ५ मेगावट विद्युत् उत्पादन भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इञ्जिनीयर लोजाङदेण्डुप शेर्पाले बताए ।

प्रदेशमा निर्माणाधीन अवस्थामा रहेका आठ वटा जल विद्युत् आयोजनाबाट १०६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । बैतडीको सूर्नयागाड, डोटी र कैलालीको सीमा नदी ठूलीगाड, दार्चुलाको नौ गाड तथा दह खोलामा गरी चार वटा जल विद्युत् आयोजनाका लागि गएको आर्थिक वर्षमा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।

पूर्वसम्भाव्यता अध्ययनले दह खोलामा दुई मेगावाट, नौ गाडमा छ दशमलव ९७ मेगावाट, र सूर्यनागाड तथा ठूली गाडमा पाँच मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्न सकिने देखाएको इञ्जिनीयर शेर्पाले बताए । सौर्य लगायतका ऊर्जाका लागि डोटी र डडेलधुरा जिल्ला र जल विद्युत् आयोजनाका लागि बझाङ र दार्चुला जिल्ला निकै सम्भावना भएको जिल्लाका रुपमा देखिएको अध्ययनले देखाएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति कार्यक्रममा तीन मेगावाटभन्दा बढी क्षमताका चार वटा विद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी त्यसका आधारमा उपयुक्त आयोजनाको निर्माण शुरु गरिने उल्लेख छ ।

यसका लागि प्रदेश सरकारले चालू आव रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै सम्भाव्यता अध्ययनको आधारमा सार्वजनिक निजी साझेदारीमा मझौलास्तरको प्रदेश गौरवको जलविद्युत् आयोजना निर्माण गर्नका लागि चालू आवमा रु १० करोड विनियोजन गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.