लुम्बिनीकाे विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारको प्राथमिकतामा राख्छाैंः पर्यटनमन्त्री भट्टराई

२०७६ साउन २३ गते १५:१४ विकासन्युज

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उनले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिएकाले तिनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए ।

आगामी डिसेम्बरभित्रै अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम पूरा हुने जिकिर गर्दै मन्त्री भट्टराईले भने “जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ ।”

कुनै पनि बहानामा विमानस्थल निर्माणको काममा ढिलाइ हुन नहुने र विमानस्थललाई आवश्यक पर्ने निर्माण सामग्री स्थानीय तहले उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्ष शुरु हुनु अगावै विमानस्थलको काम पूरा हुनुपर्ने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिइएको मन्त्री भट्टराईले बताएका हुन् । उनले पर्यटकको सङ्ख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने जानकारी दिए ।

यसरी, विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनीयर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताएका थिए । “निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो । अहिले काम तीव्र रुपमा अगाडि बढेको छ”, उनले भने ।
धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनले बताए ।

पहिलोपटक रुपन्देही आएका मन्त्री भट्टराई उक्त विमानस्थल निरीक्षण गर्नुका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए ।
रासस