१२ वाणिज्य बैंकले कमाए पौने २६ अर्ब नाफा, अघिल्लो आव भन्दा १३.४३ प्रतिशतले बढी

  २०७६ साउन २२ गते १६:४०     विकासन्युज

काठमाडौं । गएको आर्थिक वर्षमा १२ वटा वाणिज्य बैंकले २५ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेका छन् । बैैंकहरूले गएको आवमा गरेको नाफा अघिल्लो आव २०७४/७५ को भन्दा १३.४३ प्रतिशतले बढी हो ।

बैंकहरूले अघिल्लो आवमा २२ अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएका थिए । साउन २२ गतेसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरूमा दुई वटा सरकारी स्वामित्व बैंक र अन्य १० वटा निजी बैंक रहेका छन् ।

यो अवधिमा सरकारी स्वामित्वको निजी बैंक कृषि विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा चार अर्ब ३५ करोड नाफा कमाएको हो । बैंकले अघिल्लो आवमा तीन अर्ब ६५ करोड नाफा कमाएको थियो । त्यसरी नै निजी बैंकतर्फ अहिलेसम्म बढी नाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंकले दुई अर्ब ७९ करोड नाफा गरेर दोस्रो धेरै नाफा कमाउने बैंकको सूचीमा परेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमध्ये नेपाल बैंक सरकारी बैंकको दोस्रो सूचीमा र समग्र बैंकको चौथो स्थानमा परेका छ । बैंकले गएको आवमा दुई अर्ब ६१ करोड नाफा गरेको छ ।

सिद्धार्थ र एसबीआई बैंकले बराबर नाफा गरेका छन् । दुबै बैंकले गएको आवमा दुई अर्ब ३० करोड नाफा गरेका हुन् । अघिल्लो आवमा सिद्धार्थ बैंकले एक अर्ब ९० करोड नाफा गरेको थियो । एक वर्षमा बैंकले ४० करोडले नाफा बढाएको छ । एसबीआईले भने गएको आवमा कमाएको नाफा अघिल्लो आवको भन्दा जम्मा २८ करोडले मात्र बढी हो ।

बैंकहरूको चुक्ता पुँजी बढेसँगै व्यवसायमा गरेको कर्जा प्रभाव वृद्धिका कारण नाफा बढेको हो । मुलुकमा स्थायी सरकार स्थापना भएपछि बैंकबाट कर्जा लिएर भौतिक पूर्वाधार निर्माण लगायत व्यापार व्यवसाय गर्नेको संख्या पनि थपिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.