सनराइज बैंकका अध्यक्ष दुगडलाई पदबाट हटाउन चलखेल शुरु, मंगलबार नै राष्ट्र बैंक पुर्याए नागरिकता

  २०७६ साउन २२ गते १०:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालकहरु आफ्ना स्वार्थ बोकेर सलबलाउन थालेका छन् ।

मंगलबार दुगड बैंङ्लोर उडेकै दिन असन्तुष्टहरुले उनी विरुद्ध राष्ट्र बैंकमा चुक्ली लगाउन भ्याएका छन् । नियमन विभाग प्रमुख तथा कार्यकारी निर्देशन देवकुमार ढकालको भाइवरमा दुगडको नागरिकताको फोटोकपी पठाएका छन् ।

यसरी भाइवर गर्ने व्यक्ति को हुन् भन्ने कुरा स्रोतले खुलाउन मानेन् । तर, दुगडलाई अध्यक्षबाट बिदा गर्दा आफू अध्यक्ष बन्न सकिन्छ भन्ने आकांक्षीहरुको पहलमा यस्तो भएको अनुमान गरिएको छ ।

नागरिकता अनुसार २०७६ जेठमा दुगडको उमेर ७४ वर्ष पूरा भएको जनाउँदै अब उनी पदमा बस्न पाउँछन् कि पाउँदैनन् भनेर प्रश्न  समेत गरिएको स्रोतले बतायो ।

मोतिलाल दुगडले २०२१ फागुन १३ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट नगरिकता लिएको देखिन्छ । नागरिकता लिँदा उनको उमेर १९ वर्ष ८ महिना भएको जनाईएको छ । सोही आधारमा उनी दुई महिनाअघि नै ७४ वर्ष पूरा भएका छन् ।

गत सोमबार राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार ७४ वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक पदमा वहाल रहन सक्ने छैन । बैंकको सञ्चालक पदमा वहाल रहन नसक्ने व्यक्ति अध्यक्ष पदमा पनि रहन नसक्ने केन्द्रीय बैंकका अधिकारीहरु बताउँछन् ।

मोतिलाल दुगड यस बैंकको प्रमुख लगानीकर्ता हुन् । उनी बैंक स्थापनादेखि सञ्चालक छन् भने दुई कार्यकाल अध्यक्ष भएका छन् । उमेर हदका कारण बैंक छोड्नु परेपनि उनले इच्छाएको व्यक्तिलार्इ सञ्चालक बनाउन सक्ने बताइएको छ ।

जानकारहरुका अनुसार दुगड बैंकका अरु प्रमोटरभन्दा केही उदार छन् । बैंकभित्र आएका फरक मतलाई सकेसम्म समेटेर अगाडि बढ्ने उनको कार्यशैलीलाई धेरैले रुचाउने गरेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.