एघार निर्माण कम्पनी परे कारबाहीमा, दुई करोड बढी हर्जाना असुल

  २०७६ साउन २० गते ११:१४     विकासन्युज

भीमदत्तनगर । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ ।

गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष्मीदत्त जोशीले जानकारी दिएका छन् । “सम्झौतामै समयमा काम नसक्ने निर्माण पक्षलाई पूर्व निर्धारित क्षतिपूर्ति उल्लेख हुन्छ ।” सूचना अधिकृत जोशीले भने, “कारवाहीमा परेका अधिकांश निर्माण व्यवसायी सुदूरपश्चिमकै छन् ।” उनले ११ निर्माण कम्पनीबाट हर्जानास्वरुप रु दुई करोड ११ लाख ६६ हजार असुल गरिएको बताए ।

“सचेत गराउनेदेखि पटक÷पटक ताकेदा गर्दासम्म कामबारे आनाकानी गर्ने कम्पनीबाट हर्जाना लिइन्छ ।” जोशीले भने, “समयमा काम सक्नेलाई पुरस्कृत पनि गरिन्छ ।”

त्यसैगरी, गत वर्ष कैलाली र कञ्चनपुरमा साना र ठूला गरी ५४ वटा पुल निर्माणाधीन अवस्थामा रहेको जोशीको भनाइ छ । गत वर्ष ५४ मध्ये नौ वटा पुल निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

“११ वटा पुल निर्माणको अन्तिम चरणमा छन् ।” जोशीले भने, “कैलालीको चिसापानीदेखि गड्डाचौकीसम्म पूर्व पश्चिम राजमार्ग मर्मतको कामसमेत भएको छ ।” यहाँको दोदा नदी, ओदाल क्षेत्रमा निर्माण हुनुपर्ने केही पुल भने अलपत्र अवस्थामा छन् ।

यसरी, कैलाली र कञ्चनपुरमा सडक कार्यालयले तराई, मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत २४ वटा सडक निर्माणाधीन अवस्थामा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.