हेटौँडामा १०० उद्योग, बहुराष्ट्रिय उद्योगले पनि निर्यात गर्दैनन् आफ्ना उत्पादन

  २०७६ साउन २० गते ८:५९     विकासन्युज

हेटौँडा । औद्योगिक नगरका रुपमा विकास भएको हेटौँडा उपमहानगरपालिकामा १०० भन्दा बढी उद्योग सञ्चालनमा रहे पनि उत्पादित वस्तुको निर्यात भने घट्दो क्रममा रहेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार हेटौँडा औद्योगिक क्षेत्रबाट उत्पादित वस्तुको भारत तथा तेस्रो मुलुकमा हुने निर्यात व्यापार विगत १० वर्षको तुलनामा हाल ७७ प्रतिशतले कमी आएको हो ।

गत आर्थिक वर्ष २०७५/७६ मा हेटौँडाका चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निर्यात गरेको पाइएको छ । दशकअघिसम्म वार्षिकरुपमा करोडौँको सामान निकासी गर्ने बहुर्राष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इञ्जिनीयरिङ जस्ता उद्योग बन्द भइसकेका छन् ।

त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योग पनि केही वर्षअघिदेखि अस्तित्वमा नभएका कारण वस्तु निर्यात हुन नसकेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए । नेपालबाट लाखौँको साबुन भारत निकासी गर्ने महाशक्ति सोप लामो समय बन्द भई करीब छ महीनाअघिदेखि पुनः उत्पादन थाले पनि भारत तथा तेस्रो मुलुकमा निर्यात भने गर्न नसकेको अध्यक्ष अर्यालले बताए ।

त्यस्तै युनिलिभर नेपाल, एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि पाँच वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।

दश वर्षअघि आव २०६५/६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकामा आव ०७५/७६ सम्म आइपुग्दा चार वटामा खुम्चिन पुगेको छ । आव २०६५/६६ मा जिल्लाबाट एक अर्ब रु २७ करोड १५ लाख ६५ हजारको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएकामा ०७५/७६ सम्म आइपुग्दा रु २८ करोड ३४ लाख ७६ हजारमा झरेको मकवानपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ ।

दशकअघि मकवानपुरका क्रसरजन्य सामग्री निकासीबाट पनि निर्यात व्यापारमा टेवा पुगेको थियो । सरकारले क्रसरजन्य उत्पादन भारतलगायत तेस्रो मुलुकमा निकासी गर्न बन्द गरेसँगै निर्यात व्यापारमा भारी गिरावट आएको देखिन्छ । दशकअघि मकवानपुरबाट करीब एक दर्जनभन्दा बढी उद्योगले करोडौँको क्रसरजन्य उत्पादन भारत निकासी गर्दै आएका थिए ।

मकवानपुरबाट गत वर्ष जम्मा चार वटा उद्योगले मात्र भारतमा आफ्ना उत्पादन निकासी गरेको मकवानपुर उद्योग सङ्घले जनाएको छ । बोतलको बिर्को उत्पादन गर्दै आएको सिएसआइ नेपाल प्रालिले सबैभन्दा बढी रु २५ करोड १५ लाख २२ हजारको उत्पादन भारत निकासी गरेको छ । विद्युतीय ट्रान्सफरमरको उत्पादन गर्ने नेपाल इकरात इञ्जिनीयरिङले रु तीन करोड सात लाख ४४ हजारको ट्रान्सफरमर भारत निकासी गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

मकवानपुरमा एक वर्षअघि मात्र सञ्चालनमा आएको टेन माइक्रोन्स नेपाल प्रालिले पनि ११ लाख ७० हजारको सामग्री निकासी गरेको छ भने एमएम पोलिमर्सले रु ३८ हजारको सामान मात्र भारत पठाएको देखिन्छ । आव २०७३/७४ मा झण्डै ३१ करोडको पोलिथिन र फाइबरका भाँडा बनाउने केमिकल उत्पादन गरी निकासी गरेको प्रोजियोकेम प्रालिले गत वर्ष भने कुनै उत्पादन भारत पठाएन ।

भारतीय ठूला उद्योगसँग प्रतिष्पर्धा गर्न नसकेकै कारण भारतमा नेपालको औद्योगिक उत्पादनको निकासी घटेको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष अर्यालको भनाइ छ । कच्चा पदार्थ आयात गर्दा र उत्पादित सामान निकासी गर्दा लाग्ने करमा सरकारले विचार नपुर्याउँदा त्यसको असर निर्यात व्यापारमा परेको उहाँको तर्क छ ।

सरकारले नीति राम्रो बनाउन नसक्दा मकवानपुरको मात्र हैन, देशकै निर्यात व्यापारमा ह्रास आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । उद्योग वस्तु उत्पादनभन्दा पनि ट्रेडिङ व्यवसायतिर आकर्षित भएको बताउँदै उनले हेटौँडा औद्योगिक क्षेत्रको समग्र उत्पादन घट्दो क्रममा रहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.