उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट

  २०७६ साउन १७ गते १६:५६     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले आज शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपति भवनमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको थियो ।

उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिएका छन् ।

नेपालले राजनीतिक स्थायित्व हासिल गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनले मोरक्कोलाई लगानीका लागि आग्रह गरेका थिए । नेपाल र मोरक्कोको औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको छ ।

भेटमा राजदूत मल्लिकीले नेपाल मोरक्कोको असल मित्रराष्ट्र भएको बताउँदै कृषिलगायत विविध क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले नेपालको कृषि क्षेत्र मोरक्कोको प्राथमिकतामा रहेको जानकारी दिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.