सामूहिक तरकारी खेती गर्दै बेराेजगार युवाहरू

  २०७६ साउन १७ गते १६:०१     विकासन्युज

पाल्पा । सामूहिक तरकारीखेतीमा जिल्लाका बेरोजगार युवाले रोजगारी पाउन थालेका छन् । तानसेन नगरपालिका–७, प्रभाषमा सामूहिक तरकारीखेतीमा १३ युवाले रोजगारी पाएका हुन् । उनीहरूले जनही मासिक रु नौ हजार पारिश्रमिक पाउँछन् ।

सामूहिक तरकारी खेतीका लागि केही युवाले ४० रोपनी जग्गा भाडामा लिएबापत वार्षिक रु ८० हजार जग्गाधनीलाई तिर्नेगरी व्यावसायिक तरकारी उत्पादनमा जुटेका हुन् । विसं २०७५ माघ महिनादेखि सञ्चालित सामूहिक तरकारीखेती यस क्षेत्रकै नमूना व्यवसायका रुपमा परिचित छ ।

तानसेनस्थित तरकारी जोन सञ्चालन समितिका नौ युुवाको सक्रियतामा प्रभाषमा बाँझो जमिनमा व्यावसायिक तरकारी उत्पादन गर्दै आइएको उक्त समितिका सहसंयोजक ठाकुरध्वज कार्कीले बताए । बाँझो २० रोपनी जमिनमा दुई टमाटरका बिरुवा, पाँच रोपनीमा काँक्रो तथा सिमी र पाँच रोपनी जग्गामा करेला उत्पादन गरी वार्षिक रु चार लाख, ८५ हजार ९०४ को कारोवार गर्न सफल भएको उनको भनाइ थियो ।

पहिलो वर्ष व्यावसायिक तरकारी खेती गर्दा अनुभवको अभावका साथै असिनापानीले बाली नोक्सानी गर्दा सोचेजस्तो उत्पादन हुन सकेको थिएन । लामो खडेरी, सिँचाइको अभाव र उत्पादनका लागि पूर्वाधार निर्माणले व्यावसायिक तरकारीखेतीका लागि चुनौती थपिएको उनीहरूको भनाइ थियो ।
तरकारी खेतीमा नवीनतम प्रविधिको प्रयोग, थोपा सिँचाइ र मल्ङ्गि टनेलमा उत्पादित तरकारी पर्यावरणीय सन्तुलनमा आधारित छ । विषादीको प्रयोग कम, जैविक विषादी तथा पासोको प्रयोग गरी किरा नियन्त्रण गर्दा यहाँ उत्पादित तरकारीको बजार माग राम्रो रहेको व्यवस्थापक धु्रवराज भण्डारीको भनाइ थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइको रू सात लाखको सहयोगमा शुरु भएको सामूहिक तरकारीखेतीबाट रु १५ लाख ४२ हजार २९० बराबरको कारोबार हुँदै आएको छ ।

उक्त एकाइले जिल्लाको ७६० हेक्टर जमिनमा तरकारी बाली उत्पादनका लागि सहयोग पुर्याउँदै आएको छ । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकामा यो परिचयोजना सञ्चालित छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.