उदयपुरमा वर्षासँगै सडक अवरुद्ध हुँदा कुहियो करोडौँ मूल्यको आलु

  २०७६ साउन १६ गते १२:४२     विकासन्युज

गाईघाट । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु कुहिन थालेपछि आलु उत्पादक कृषकहरु मारमा पर्न थालेका छन् ।

जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा र यातायात सञ्चालन हुन नसक्दा यस क्षेत्रमा उत्पादन भएका आलुहरु अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको स्थानीय आलु उत्पादक कृषकहरुको गुनासो छ ।

माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरिद–बिक्री हुने गरेको आलु यस पटक सडक अवरुद्धका कारण एक महिनासम्म बिक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको हो ।

यस्तै, लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलुहरु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु बिक्रीबाट यस पटक किसानहरुले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था छ ।

जिल्लाको सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु असारको अन्तिम हप्ता आएको भीषण वर्षापछिको पहिरोले कतै सडक भत्किएको र कतै पहिराले सडकहरु पुरिएपछि पहाडी सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् ।

कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिनौँ दिनभन्दा बढी समय लाग्नेसमेत रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । अहिले रौतामाई लिम्चुङबुङ, माझखर्क इनामे क्षेत्रको सडक अवरुद्ध खुलाउन पहल शुरु भएको पनि लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राई बताएकी छिन् ।

तत्काल सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रौतामाई गाउँपालिकाले १५ लाख खर्च गर्ने तयारी गरेको पनि सो गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् ।

यस्तै, प्रदेश नं १ को सरकारका तर्फबाट सो तीनै क्षेत्रको पहाडी सडक सञ्चालन गर्न रु ५० लाख सहयोग गर्न लागिएको उदयपुरबाट प्रदेश नं १ का सांसद नारायण बुर्जा मगरले बताए । स्थानीय प्राविधिकहरुका अनुसार यस क्षेत्रको सडक अवरुद्ध हटाउन महिनाभन्दा बढी लाग्ने र दुई करोडसम्म रकम बिना सडक खुल्न नसक्ने सडकका प्राविधिकहरुले बताए ।

यसरी, समयमा सडक खुल्न नसक्दा अहिले जिल्लाको यी पहाडी क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरुको चरम अभावको समस्या देखापरेको छ भने कृषकहरुले उत्पादन गरेको आलुसमेत अन्यत्र पैठारी हुन नसक्दा उत्पादित आलुहरु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेको व्यापक गुनासो कृषकको रहेको छ ।

यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा रहेको छ भने यस क्षेत्रका ६० प्रतिशत कृषक आलु उत्पादनमा निर्भर हुँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.