इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गरे गोजीमा राख्ने ईसीजीको विकास

  २०७६ साउन १५ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गोजीमा राख्ने ईसीजीको विकास गरेका छन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा यति सस्तोमा यो उपकरण बनाउन सफल भएका छन् । सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुने जनाइएको छ ।

जसको लागत नेपाली दुईदेखि तीनहजार रूपैयाँसम्म पर्ने उनीहरुले बताएका छन् । यो उपकरणमा अहिलेलाई मुटुको इसीजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने जनाइएको छ । साथै, यसले मुटुको धड्कनको गति देखाउने आदि सुबिधा पनि यसमा छन् । तर छिट्टै त्यसमा आवश्यक सुधार गर्दै ब्लुतूथ तथा वाईफाईका माध्यमले अन्य बिद्धुतीय साधनसँग जोडिने विद्यार्थीले बताएका छन् । यसले मुटुका बिरामीको यथास्थितिकाबारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए ।

विद्यार्थी चूडामणि भटराईले यो साधन ब्याट्रीबाट एक साता भन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजिमा बोकेर हिड्न सक्ने जनाए । विशेष गरी उक्त उपकरणलाई गाऊँगाऊँका स्वास्थ्य संस्थामा बिरामीजाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले जनाए । यसको सफल परीक्षणपछि ईएमजी, ईईजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए ।

उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलव तथा सजिलै मर्मतसंभार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहनेछ । टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले युरोपबाट सोही विषयमा अनुसन्धान गरी फर्किएका आफ्ना सहप्राध्यापक सचिन श्रेष्ठको सहयोगका लागि विशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरणहरु बनाउन सकिने बताए ।

बेलाबेलामा हुने ईनजिनीयरिङ्ग प्रदर्शनीको खाँचो औँल्याउँदै उनले नेपाल इन्जिनियरिङ्ग कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए । गएको साउन ५ गते आइतबार नेपाल इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो । करिब दुईसय बढी सहभागीहरुले उक्त उपकरण प्रयोग गरी ईसीजी परीक्षण गरेको दावी उनीहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.