गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीले इच्छा जनाउँदै क्यानलाई पठायो पत्र

  २०७६ साउन १४ गते १६:२८     सिबी अधिकारी

काठमाडौं । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेसनल एयरपोर्टले चासो देखाएको छ ।

विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पत्र पठाएको हो ।

जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि मन्त्रालय र प्राधिकरणलाई औपचारिक पत्र पठाएको प्राधिकरणले जनाएको छ । नेपालस्थित जर्मनी राजदूताबासमार्फत पर्यटन मन्त्रालय र प्राधिकरणलाई भैरहवा विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राससलाई जानकारी दिएका छन् ।

“गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि जर्मनले चासो दिएको छ, जर्मनी राजदूतले पर्यटन सचिवसँग छलफल गरिसकेका छन् । अन्य मुलुकबाट पनि प्रस्ताव आएका छन् । अब, छिट्टै जर्मनीकोतर्फबाट प्रस्ताव पेश हुन्छ”, उनले भने ।

म्युनिख विमानस्थलमा जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको छ । यो प्रस्तावप्रति मन्त्रालय र प्राधिकरण दुवै सकारात्मक देखिएको बताइन्छ । गौतमबुद्ध विमानस्थल सम्बन्धमा जर्मनीबाहेक अन्य मुलुकबाट औपचारिक प्रस्ताव नआएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, “कसलाई जिम्मा दिने भन्नेबारे सबै प्रक्रिया पूरा गरेर छिट्टै निर्णय हुन्छ ।”

गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानिर्देशक पोखरेलका अनुसार गौतमबुद्ध विमानस्थ सञ्चालनका लागि कुन देशको कस्तो कम्पनीलाई जिम्मेवारी दिने भन्ने सम्बन्धमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने गरी पर्यटन मन्त्रालयमा एक एकाइ गठन गरेर काम अघि बढाइनेछ ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्रलगायत मन्त्रालयको प्रतिनिधि रहनेछन् । त्यसले प्रस्ताव छलफल गर्ने मूल्याङ्कन गर्ने र सरकारलाई सिफारिश गर्ने गरी मन्त्रालयले छिट्टै एकाइ गठन गर्ने जनाइएको छ ।

जर्मनीसहित अन्य मुलुकबाट पनि विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको स्रोतले जनाएको छ । सोही प्रस्तावका आधारमा मन्त्रालयले छलफल अघि बढाएको छ । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको बताइएको छ ।

सञ्चालनमा ढिलाइ

आगामी डिसेम्बर महिनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने योजनाका साथ धमाधम निर्माण भइरहेको गौतमबुद्ध विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन केही ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण सम्पन्न भएको करीब तीन महिनापछि मात्रै व्यावसायिक रुपमा सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक पोखरेलले बताए ।

“उडान कार्यविधि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को सहमति प्रदानका लागि पहल गरिएको छ । भैरहवाबाट विमान प्रवेश बिन्दुका लागि आइकाओमा संयुक्तरुपमा निवेदन दिइएको छ । विमानस्थल सञ्चालनका लागि योग्य छ भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यो सबै पूरा गरेपछि मात्र सरकारले विमान सञ्चालनका लागि मिति निर्धारणको निर्णय गरेर परीक्षण उडान शुरु गर्छौं”, पाेखरेलले भने ।

हाल सो विमानस्थलको भौतिक प्रगति ७५ प्रतिशत छ । विमानस्थललाई जसरी पनि सहयोग गरेर चाँडो निर्माण सम्पन्न गर्नेगरी लागेको प्राधिकरणको भनाइ छ ।

विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि दुई साताअघि तेस्रोपटक समयावधि थपिएको थियो । आगामी पुस १६ गतेसम्म निर्माण सकिनेछ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने बताए ।

उनका अनुसार अहिले धावनमार्ग, ‘एप्रोन’, ‘ट्याक्सी वे’ को निर्माण भइसकेको छ । अब, भवनको ‘फिनिसिङ’ र ‘लाइटिङ’ को काम तीव्र गतिमा भइरहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ ।

सन् २०१७ को डिसेम्बर महिनामा निर्माण सक्ने लक्ष्यसहित सन् २०१४ को डिसेम्बर ३१ बाट गौतमबुद्ध विमानस्थल निर्माण शुरु गरिएको थियो । बीचमा दुईपटक समयावधि थपिसकिएको छ । विमानस्थलकोे लागत रु छ अर्ब २२ करोड ५१ लाख रहेको छ ।

पोखरा तीव्र गतिमा

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र गतिमा अघि बढेको प्राधिकरणले जनाएको छ । निर्धारित समय सन् २०२१ जुन अघिनै सञ्चालनमा ल्याउने गरी काम प्रभावकारी रुपमा अघि बढेको आयोजनाले जनाएको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनकै ढाँचामा पोखरा विमानस्थल सञ्चालन गरिनेछ ।

यस्तै, बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि आवश्यक प्रक्रिया अघि बढेको छ । प्राधिकरणसँगको सम्झौता अनुरुप नेपाली सेनाले चार किल्ला तोक्ने र तारबार गर्ने काम गरिरहेको छ । विवादमा रहेको रुख कटानका लागि अहिले वन मन्त्रालयलाई पत्राचार गरिएको छ । निजगढ प्राधिकरणको मुख्य प्राथमिकतामा छ । अहिले विमानस्थलमा पर्ने जग्गाको मुआब्जा वितरणको काम भइरहेको प्राधिकरणले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.